महाबौद्धबाट कलंकी सर्दै होलसेल व्यवसायी, सटरभाडामा सहुलियत र ढुवानी सुविधाको आकर्षण

बिजमाण्डू
२०७९ मंसिर १८ गते १२:२३ | Dec 4, 2022
महाबौद्धबाट कलंकी सर्दै होलसेल व्यवसायी, सटरभाडामा सहुलियत र ढुवानी सुविधाको आकर्षण

काठमाडौं। तीन दसकदेखि महाबौद्ध, गुच्चा टोलमा सिरक-डसना, ब्लांकेट लगायतको होलसेल व्यापार गर्दै आएकी प्रजिता श्रेष्ठ कलंकी सरेकी छन्।

Tata
GBIME
Nepal Life

कोरोना महामारीपछि पुनः जनजीवन सामान्य हुन थालेयता महाबौद्ध छाड्ने उनी एक्ली होइनन्। महाबौद्धका गल्लीभित्र जहाँ-जहाँ नयाँ व्यापारी र पहिले एउटै पसलले ओगटेका सटरहरुमा छुट्टाछुट्टै साना व्यापारी देखिन्छन्, त्यहाँ बुझ्नुपर्छ- पुराना व्यापारीले कारोबार गर्ने थलो सारेका हुन्।

थोक व्यापारीहरु कलंकी सरिरहेका छन्। सस्तो सटर, पानी, बत्ती र ढुवानी सुविधा भएकाले व्यवसायीलाई नयाँ ठाउँले आकर्षित गरिरहेको छ।
झण्डै दुई वर्ष जनजीवन प्रभावित बनाएको कोरोनाले व्यापार-व्यवसाय शिथिल पारेको थियो। विस्तारै सहज अवस्था सुरु हुँदा एकातिर चिनियाँ सामानको आयातमा समस्या आइरह्यो, अर्कातिर घरभेटीहरुले भाडा बढाए।

'हामीले महाबौद्ध रहरले छाडेका हौइनौं, व्यापार घट्यो, भाडाले टिक्नै गाह्रो भएको थियो,' प्रजिता भन्छिन्, 'गुच्चा टोलका होलसेलमध्ये ठूलो पसल हाम्रो नै थियो।  दिनको ५० भारीसम्म पनि प्याक गर्थ्यौँ।  कमाई हुन्थ्यो तर महिनाको अन्तमा सबै घरबेटीलाई बुझाउनुपर्ने। चर्को भाडाले नै गाह्रो बनाएको थियो।’

पीएनपी शप चलाउँदै आएकी प्रजिताले व्यवसाय थाल्दा मासिक भाडा ५० हजार थियो, हरेक दुई/दुई वर्ष भाडा बढ्दै जाँदा उनी मासिक ३ लाख ५० हजारसम्म बुझाउनुपर्ने अवस्थामा पुगेकी थिइन। प्रजिताले आफ्नो व्यवसाय अहिले कलंकी खसीबजारस्थित नेसनल बिजनेस ट्रेड सेन्टर (एनबीटीसी, होलसेल कम्प्लेक्स) मा सारेकी छन्।

महँगो भाडादर तथा अव्यवस्थित बजारको समस्याबाट दिक्क भएर महाबौद्ध छाड्ने धेरै छन्। 'मैले एनबीटीसीमा दुईवटा सटर लिएकी छु।  जति हुन्छ आफ्नै हुन्छ भनेर हामी यहाँ आएका हौं,' प्रजिताले भनिन्,  'त्यहाँ समानहरू धेरै हराउँने गर्थ्यो।  काउन्टरको क्यास नै पनि कति हराएको छ।  झन् बाटो तथा यातायात त के कुरा गर्नु।  यहाँ हरेक कुराको सुविधा छ, व्यवस्थित पनि छ, यातायातदेखि पार्किङ सबै छ, सेक्युरिटी छ।'

राजधानीमा लामो समयदेखि रेडिमेडका होलसेल व्यवसायमा रहेकाहरु महाबौद्ध छोड्दै एनबीटीसी पुगेका छन्। महाबौद्ध र न्युरोड उत्तरको रञ्जना ट्रेड सेन्टर क्षेत्र लागि पुरानो बजारमा फेन्सी, कस्मेटिक्स, इलेक्ट्रोनिक्स र खाद्यान्न लगायतका सामानको थोक कारोबार गर्नेहरु विस्तारै एनबीटीसीमा सरेका छन्।  

महाबौद्ध छाड्दै कलंकी रोज्दै  

महाबौद्ध छाड्नुको कारण भाडादरमा वृद्धि मात्रै होइन, सधैं भीड हुने उक्त क्षेत्रमा बाटाहरू धेरै साँघुरा छन्। ढुवानीका साधन लैजान सकिँदैन। मान्छेहरू आवतजावत गर्न समेत धेरै गाह्रो छ, सामानहरू मान्छेले नै बोकेर ल्याउने-लैजाने गर्नैपर्छ। मोटरसाइकल लिएर पस्नेले पनि सहज पार्किङ पाउँदैनन्।

सानो एरियामा अग्ला-अग्ला घरहरू छन्। ती घरहरूमा गोदामहरू चाहिँ ५/६ तल्ला माथि-माथि छन्।  एउटा समानको पोका तलबाट माथि पुर्याउँदा र ट्रान्सपोर्ट अफिससम्म लैजाँदा निकै खर्च लाग्ने गरेको व्यापारीहरू गुनासो गर्छन्। 

कुनै संकट आए भाग्ने खुला ठाउँ छैन। तैपनि पुरानो व्यापारिक थलो भएकाले भाडा अचाक्ली महँगो छ।  शोरुमको भाडा, गोदामको भाडा, कर्मचारी तलब, बत्ति-पानी, भरिया आदि गरेर महिनाको तीनदेखि चार लाख रुपैयाँ खर्च मात्रै आउने थोक व्यापारीहरू सुनाउँछन्। 

महाबौद्धका होलसेल व्यवसायीहरूको यही समस्यालाई मध्यनजर गर्दै होलसेल मार्केट सर्न पर्छ, भोलिको पिढीले कोर एरियाभित्र काम गरेर खान गाह्रो हुन्छ भनेर १० वर्षअघि एनबीटीसीको निर्माण सुरू भएको सञ्चालक समिति सदस्य चिरन्जीवी पौडेल बताउँछन्।

'त्यहाँबाट सर्ने मतलब हामीले एउटा सुरुवात गर्यौ भने जति पनि खाली ठाउँ छन् त्यहाँ पनि अरू भवनहरू बन्लान्, भएका भवनहरूमा पनि पसलहरू सुरु होलान् र थोक मार्केट नै यहाँ (कलंकी)सरेर आउँला भन्ने सोचाइका साथ सुरु भएको थियो,' उनले भने।

उनका अनुसार २०६९ तिर महाबौद्ध, रन्जना गल्ली क्षेत्र गरेर १० हजार हाराहारी होलसेल पसलहरू थिए। ' त्यसको १०  प्रतिशत भए पनि कलंकी ल्याउन सक्छौं भनेर भवनको अवधारणा ल्यायौं,' उनले सुनाए।

थोक बिक्रेता आकर्षित गर्ने प्रोजेक्ट
चिरन्जीवीका अनुसार एनबीटीसी  होलसेल कम्प्लेक्स क्राउड फण्डिङमा आधारित प्रोजेक्ट हो।  करिब २३ रोपनी जग्गामा बनेको भवनमा झण्डै  एक हजारवटा सटर छन्।  जसमध्ये ७५ प्रतिशत पसलहरू पनि डेकोरेसनसहित तयार भइसकेका छन्। हाल यहाँ ३०० भन्दा बढी पसलहरू खुलिसकेका छन्।  यहाँ पसल खोल्नेहरु धेरैजसो महाबौद्ध छाडेका थोक व्यसायीहरु नै छन्।

लत्ता-कपडा, जुत्ता चप्पल, झोला छाता, कस्मेटिक, थान कपडा, बेल्ट पर्स लगायतका सामानका थोक बिक्रेताहरु विस्तारै एनबीटीसीमा आइरहेका छन्।

यद्यपि सुरुवाती परियोजना डिजाइन अनुसार भवनको निर्माण सम्पन्न हुन केही ढिला भयो। निर्माण थालेको साढे चार वर्षमा पुरा गर्ने लक्ष्य थियो।  तर भूकम्प, नाकाबन्दी र बेला-बेलामा निर्माण सामाग्री बेलामा नपाएर लम्बिन पुग्यो।

हाइवेबाट इन्ट्री हुने ठाउँलाई जिरो लेभल भनियो छ, त्यसभन्दा तल माइनस वन र माइनस टु छ। जिरोबाट माथि प्लस वन र प्लस टु गरेर पाँच शपिङ फ्लोरहरू छन्। माइनस ३ मा पार्किङ एरिया छ। अहिले भवन पूर्ण रुपले तयार भइसकेको छ।  

यहाँको भाडादर हाल १२० देखि २०० रुपैयाँ  स्क्वायर फीटसम्ममा छ।  दुई वर्षका लागि भाडादरमा ७० प्रतिशत छुट दिइएको छ। बिजुलीको पनि १५ रुपैयाँ पर युनिट लिरहेको,  सरसफाई र सुरक्षाको लागि हिसाब सेवा शुल्क भनेर १ हजार रुपैयाँ लिने गरेको उनी बताउँछन्।

यो ठाउँ ठ्याक्कै कलंकीको  ५०० मिटरको दुरीमा छ।  बल्खु, फास्ट ट्रयाक र हेटौंडा आवतजावत गर्ने मेन पोइन्ट पनि नजिकै छ।  साथै रिङरोड़सँग पनि जोडिएको छ। थोक व्यवसायीलाई सामानहरू भित्र्याउन सहज छ।  भवनमा २४/२५ ओटा  लिफ्ट, एलिभेटर छन्। सबैतिर निगरानीका लागि सीसीटीभी जडान गरिएका छन्। सुरक्षागार्डहरू छन्। सरसफाई गर्न १२ जना क्लिनर छन्। पार्किङको पनि राम्रो सुविधा भएको व्यापारीहरू बताउँछन्।

यिनै सुविधा देखेर प्रजिताजस्ता पुराना व्यवसायीहरू मात्रै तानिएका छैनन्, नयाँ व्यवसायीहरूले पनि पसल थाल्ने आँट गरेका छन्।  नयाँमध्येकी  संजिता अघिकारीले एक वर्ष अघि मात्रै इस्लाइली किड्स फिल्ड नामको बच्चाहरूको लागि खेलौनाको पसल खोलेकी छन्।  
'महाबौद्धमा जाने त हामीले सोच्दा पनि सोचेनौं।  एक त त्यहाँ ठाउँ पाउने अवस्था नै छैन।  अर्को  त महँगो भाडा।  सुरुवातमा नै त्यत्रो लगानी गर्न सक्ने अवस्था छैन,' उनले भनिन्,  'यहाँ भाडामा ७० प्रतिशत छुट छ।  भाडा, बिजुली सबै गरेर १० हजार जति खर्च हुन्छ।  सुविधा छ।'

चिरन्जीवी सुनाउँछन्, ‘यहाँ सबै खालको भेराइटी नभइसकेकाले चाहिँ रिटेल व्यवसायीहरू कम नै आइरहेको अवस्था छ। अर्थिक मन्दीले ठूलो असर गरेको छ।  अहिले मालसामान नै व्यवसायीहरूसँग कम छ, नेपालीहरूको  खरिद गर्ने क्षमता पनि घटेको छ। हामी जहाँबाट आयौं त्यो ठाउँमा पहिलाको जस्तो खासै व्यापार भएको हामीले देख्दैनौँ।'

मन्दी हटेको अवस्थामा तथा नेपाली व्यवसायीहरूले चिनको लागि सहजरुपमा आवतजावत गर्न सकेको अवस्थामा यो भवन चल्न केही गाह्रो नहुने उनको विश्वास छ।

प्रजिताजस्तै महाबौद्ध चट्क्कै छाडेर आएकी अर्की व्यवसायी हुन् दिक्षा अर्याल। ‘जसको बिजनेस च्यानल अलि ठूलो छ उसले यहीँबाट महिनाको २-३ कन्टेनर नै व्यापार पनि गरिरहेको छ। साथै होलसेल अहिलेलाई त्यति नचले पनि रिटेल चलिरहेको छ,' उनी भन्छिन्, ' थोकमा पनि आफ्नै पुराना ग्राहकहरू आउनु हुन्छ।  कोभिड र आर्थिक मन्दीले केही असर गरेको छ  तर होलसेल मार्केटको भविष्य नै यही हो।'

होलसेल तथा रिटेल बजारलाई कोर एरियाबाट सार्ने सोचका साथ नै एनबीटीसी निर्माण गर्ने मिलाल्याण्ड डेभलपमेन्ट प्रालिले कलंकी चोकमा नै पाँच तल्लाको ४ सय ३९ सटर भएको कलंकी ट्रेड सेन्टर नामक भवन बनाउँदै छ।  जसमध्ये ८० प्रतिशत सटरहरूको बुकिङ भइसकेको बजार व्यवस्थापक सृजना महर्जन बताउँछिन्।

'न्युरोड एरियातिरकै व्यापारीहरूले नै बुकिङ गर्नु भएको हो। बाहिरका ग्राहकले न्युरोडसम्म पुग्न नपर्ने गरी भवन बन्दैछ,' उनले भनिन्, 'यातायातको हिसाबले पनि सजिलो हुने भयो।' भवनमा पाँच वटा पसल संचालनमा आएका छन्। 

त्यस्तै एनबीटीसीबाट नजिकै अर्को होलसेल कम्प्लेक्स आदर ट्रेड सेन्टर 'अन्डर कन्स्ट्रक्सन प्रोजेक्ट' छ।  दिक्षा भन्छिन्, ‘भवनहरू बन्दै छन्, व्यवसायीहरू यता आउने क्रम पनि जारी छ।  सबै किसिमको भेराइटी यहाँ पाउनेबित्तिकै राम्ररी बजार चल्छ।  होलसेल मार्केट पूर्णतः यहाँ सर्न केही समय पक्कै पनि लाग्ने छ।'