विद्युत प्राधिकरणले तीन महिनामा साढे आठ अर्ब नाफा कमायो, झन्डै ३३ अर्ब रुपैयाँ आम्दानी

बिजमाण्डू
२०७९ मंसिर १५ गते १३:४१ | Dec 1, 2022
विद्युत प्राधिकरणले तीन महिनामा साढे आठ अर्ब नाफा कमायो, झन्डै ३३ अर्ब रुपैयाँ आम्दानी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ। यो कर अघिको नाफा हो। सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ। 

Tata
GBIME

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण,आन्तरिक रुपमा तथा भारतर्फको  विद्युत निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको बताए। उनले खर्च नियन्त्रणलाई विशेष ध्यान दिँदा गर्दा उल्लेख्य नाफा कमाउन सफल भएको बताए। 

स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ। सो अवधिमा प्राधिकरणले निजी क्षेत्रबाट मात्रै १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको बताएको छ। 

देशभित्र खपत गरी बचत भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरेर असोजसम्ममा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको हो।२०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ। नाफा आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ र ७७/७८ मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो। गत आवमा भने नाफा ह्वात्तै बढेर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो।

कार्यकारी निर्देशक घिसिङका अनुसार नाफालाई विद्युत खपत बढाउन उपयोग गरिएको उल्लेख गरे। 'उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च भएको छ,' घिसिङले भने। 

उनका अनुसार आगामी दिनमा विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि ४/५ वर्षभित्रमा ३/४ खर्ब रुपैयाँ लगानीको आवश्यकता छ।

नेपाल सरकारसँग सीमित स्रोत हुँदा प्राधिकरणले पर्याप्त बजेट पाउन सकेको छैन। त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका घिसिङको भनाइ हो।