
काठमाडौं। भृकुटीमण्डपमा विद्युतीय गाडीको प्रदर्शनी मेला 'इभी नेपाल एक्स्पो' शुक्रबारदेखि हुने भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनामा विद्युतीय गाडीको प्रदर्शनी हुन लागेको हो।
कोभिड-१९ को महामारीका कारणले प्रदर्शनीमा दुई वर्षदेखि ढिलाइ भएको थियो। २०२० मा हुनुपर्ने प्रदर्शनी अब मंसिर १६, १७ र १८ मा तय गरिएको हो।
आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हुनेछ। उक्त प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी हुने आयोजक टिमले जनाएको छ।
एसडी एक्स्पो मिडिया प्रमुख आयोजक एस्पोको सह-आयोजक भने इन्डियन इक्जिविसन सर्भिसेस छ। प्रदर्शनीलाई अटो नेपाल, पावर टक, कार रिप, नेपाल अटो ट्रेडर र इभी ड्राइभ द फ्युचरले सहकार्य गरेका छन्।
आयोजकका अनुसार यो कार्यक्रमको उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढंगले व्यापार सञ्चालनमा टेवा पुर्याउनु हो। यसका साथै, यो अवसरले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने आयोजक टिमले जनाएको छ।
प्रदर्शनीमा विशेषगरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिने छ।
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने आयोजक टिमले विश्वास लिएको छ।