मर्जरको सिनर्जीले इन्डस्ट्रिको टप टायर बन्दै शाइन रेसुंगा, स्थिर र गुणस्तरीय व्यापार वृद्धि

बिजमाण्डू
२०७९ मंसिर १० गते १४:४४ | Nov 26, 2022
मर्जरको सिनर्जीले इन्डस्ट्रिको टप टायर बन्दै शाइन रेसुंगा, स्थिर र गुणस्तरीय व्यापार वृद्धि

काठमाडौं। स्थापनाकालदेखि नै निरन्तर स्थिर व्यापार वृद्धि पछ्याएको रेसुंगा डेभलपमेन्ट बैंकसँगको मर्जरपछि उत्पन्न भएको सिनर्जीले शाइन रेसुंगा डेभलपमेन्ट बैंक वित्तीय क्षेत्रको टप टायर खेलाडीहरुको गणनामा आउँछ।

Tata
GBIME
Nepal Life

गुणस्तरीय व्यवसायमा विशेष ध्यान दिने गरेको यो बैंकका वित्तीय सूचकांक पनि सन्तोषजनक र उत्साहप्रद छन्।

यो पटक बैंकको पहिलो त्रैमासको प्रदर्शनी नै उत्साहप्रद रह्यो। तरलता संकटले राष्ट्रिय स्तरका विकास बैंकलाई नाफा बढाउन हम्मेहम्मे हुँदा तीन महिनामै शाइन रेसुंगा बैंकले झन्डै २१ करोड रुपैयाँ खुद नाफा कमायो। जुन तुलनात्मक हिसाबमा इन्डष्ट्रिको दोस्रो सर्वाधिक नाफा हो। 

इन्डष्ट्री लिडर मुक्त्तिनाथ बैंकको नाफा खुम्चिँदा समेत शाइनले नाफा ४२ प्रतिशत भन्दा धेरैले बढायो। विकास बैंकहरुले असोजसम्म संकलन गरेको एकीकृत नाफाको १८.३९ प्रतिशत बैंक एक्लैले कमाएको छ। पछिल्लो पाँच आर्थिक वर्षहरुलाई हेर्दा बैंकले १४.६२ प्रतिशतले प्रत्येक वर्ष नाफा बढाउने गरेको छ।

पुँजी र निक्षेपमा सोही वर्गका बाँकी खेलाडीहरुभन्दा पछाडि रहे पनि बैंकलाई स्रोत सदुपयोग गर्न राम्ररी आउँछ। मुख्यतया बैंकले गुणस्तरीय लगानीलाई प्राथमिकतामा राख्ने गरेको छ। जसको सोझै असर जोखिम व्यवस्थापनलाई छुट्याउने रकममा पर्छ। खराब कर्जाको सन्तुलन बनाइराख्न सक्ने हुँदा नाफालाई टेवा पुगेको हो।

लगातार व्यवसाय वृद्धिमा केन्द्रित र रेसुंगासँगको मर्जरले बैंकको क्रेडिट पोर्टफोलियो पनि दरिलो बनेको छ। विकास बैंकहरुको कुल कर्जा परिचालनमा शाइनको साढे ९ प्रतिशत योगदान छ। कुल निक्षेपमा ९ प्रतिशतभन्दा बढीको हिस्सा देखिन्छ। 

वार्षिक रुपमा २३.२६ प्रतिशतले बैंकको कर्जा विस्तार हुने गरेको छ। सो अवधिमा २४.५५ प्रतिशतको वार्षिक वृद्धि दर निक्षेप संकलनमा छ। बैंकको ब्याज आम्दानी पनि यहि दरमा बढ्ने गर्छ। वार्षिक रुपमा २०.२४ प्रतिशतका दरले कम्पनीको ब्याज आम्दानी बढ्ने गरेको पछिल्लो पाँच वर्षको तथ्यांकले देखाउँछ।

विशेषगरी तरलता संकटले गर्दा बढेको निक्षेपको लागतले कर्जाको ब्याजदरलाई माथि धकेलेको छ। प्रिमियम र स्प्रेड जस्ता मार्जिन पनि वृद्धि हुँदा बैंकको ब्याज आम्दानी तीन महिनामै ५० करोड रुपैयाँ नाधेको हो। बैंकको खुद फी कमिसनको आम्दानी भने ९ प्रतिशतका दरले बढेको छ।

तर, आम्दानीको वृद्धि दरलाई खर्चको आकारले उछिन्ने गरेको छ। बैंकको सञ्चालन र कर्मचारी खर्च दुवैले आम्दानीको दरलाई सानो देखाउँछ। बर्सेनि २४ प्रतिशतले कर्मचारीको तलब भत्ता र सेवा सुविधा बढ्ने गरेका छन्। त्यहीँ सञ्चालन खर्च २३.१४ प्रतिशतले बढेको छ।

गुणस्तरीय कर्जाको अनुपातलाई कायम राख्ने बैंकको क्षमता पछिल्लो समय केही कमजोर हुँदै पनि गएको छ। खराब कर्जा बढ्दा बैंकको प्रोभिजनिङ रकम ह्‍वात्तै बढेको देखिन्छ। पछिल्लो पाँच वर्षको अवधिमा ३६.६२ प्रतिशतका दरले प्रोभिजनिङ बढ्दै गएको छ। आकासिएको निष्क्रिय कर्जाको अनुपातले पनि बैंकको कर्जा गुणस्तर खुम्चिँदै गएको देखाउँछ।