प्रतिस्पर्धी दरमा पीपीए खोलेसँगै सोलारका आयोजना अध्ययनका लागि धमाधम लाइसेन्स बाँडिदै

बिजमाण्डू
२०७९ कात्तिक २ गते १७:३७ | Oct 19, 2022
प्रतिस्पर्धी दरमा पीपीए खोलेसँगै सोलारका आयोजना अध्ययनका लागि धमाधम लाइसेन्स बाँडिदै

काठमाडौं। सौर्य ऊर्जा (सोलार) बाट उत्पादित विद्युत प्रतिस्पर्धी दरमा खरिद बिक्री गर्ने निर्णय भएसँगै अध्ययनका लागि प्रवर्द्धकहरुले धमाधम लाइसेन्स पाउन थालेका छन्।

Tata
GBIME

चालु वर्षमा २२० मेगावाट क्षमताका ८ वटा आयोजनाले अध्ययनका लागि सर्वे लाइसेन्सको अनुमति पाएका छन्। २०० मेगावाटको ६ वटा आयोजना हाइभ नेपाल प्रालि एक्लैले अध्ययनको लाइसेन्स लिएको छ। साउनमा ८ वटै आयोजनाले अनुमति पाएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको संयोजकत्वमा माघ १० गते बसेको विद्युत प्राधिकरणको बोर्ड बैठकले सोलार आयोजनाको प्रतिस्पर्धाबाट विद्युत खरिद बिक्री सम्झौता निर्णय गरेको छ। उक्त निर्णयसँगै सोलार आयोजनाको पीपीएका लागि बाटो खुलेको छ। निर्णयपछि सरकारी तथा निजी क्षेत्रले आयोजनाहरु अघि बढाउन थालेका छन्।

प्राधिकरण बोर्ड बैठकले सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी दर र कारोबार प्रक्रिया पारदर्शी बनाउने भन्दै प्रतिस्पर्धाबाट पीपीए गर्ने निर्णय गरेको हो। पीपीएका लागि ५ रुपैयाँ ९४ पैसा बेस रेट तोकिएको छ। अर्थात प्राधिकरणले सौर्य ऊर्जाबाट उत्पादित विद्युत ५ रुपैयाँ ९४ पैसाभन्दा बढीमा किन्ने छैन।

प्राधिकरणमा ११३९१ मेगावाट क्षमताका आयोजनाहरुले पीपीएका लागि आवेदन दिएका छन्। जसमा ३.२३ प्रतिशत (३६७.९३ मेगावाट) हिस्सा सोलारमा आधारित आयोजनाको छ। माइक्रो हाइड्रोको ०.०१ प्रतिशत, जलाशययुक्त जलविद्युत आयोजनाको ७.२७ प्रतिशत, अर्ध जलाशययुक्त ४७.३८ प्रतिशत र नदी प्रवाहमा आधारित ४२.१० प्रतिशत हिस्सा छ।

पीपीए खुलेसँगै (सोलार) आयोजनाको व्यवसायिक उत्पादनका लागि निजी तथा सरकारी कम्पनीहरुले लगानी बढाउन थालेका छन्। विद्युत विकास विभागका अधिकारीहरुका अनुसार प्रविधिको विकासले सस्तो दरमा विद्युत उत्पादन हुन थालेपछि लगानी बढाउन थालेका हुन्।

धेरै प्रवर्द्धक कम्पनीहरु अहिले सोलारका आयोजनाहरुको अध्ययन, निर्माण लगायतको लाइसेन्स बारे बुझ्न जाने र आवेदन दिने क्रम बढेको छ।
विद्युत विकास विभागका एक इन्जिनियरका अनुसार भारतका विभिन्न कम्पनीले समेत सोलारका आयोजनाहरुमा लगानी गर्न चाहेको छ। पछिल्लो समय नेपाल भारतबीच सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा समेत भारतीय पक्षले नेपालले सोलारका आयोजनाहरुमा लगानी बढाउनुपर्ने भन्दै आफूहरु समेत लगानीका लागि इच्छुक रहेको बताएका थिए।

'उनीहरुसँग प्रविधि छ। सोलारका आयोजनाहरुका लागि चाहिने इक्विपमेन्टमा ठूलो लगानी गरेको छ,' ती इन्जिनियरले भने,'सोही कारणले उसले लगानी गर्न खोजेको छ। यही आयोजना भन्ने निश्चित भएको छैन। तर छिट्टै उनीहरु लगानीका लागि आउन चाहेका छन्।'

प्राधिकरणका अनुसार अहिलेसम्म २१ वटा सोलारका आयोजनासँग ११० मेगावाटको पीपीए भएको छ। यसमध्ये ६ वटा आयोजना निर्माण सम्पन्न भएर २९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएको छ।

अहिलेसम्म ४३ वटा आयोजनाले अध्ययनका लागि सर्वे लाइसेन्स लिएका छन्। जसको कुल क्षमता १२३९.६९ मेगावाट हुन्छ। अहिलेसम्म २१ वटा आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्। जसको कुल क्षमता १३३.५६ मेगावाट छ। सर्वेका लागि १२ वटा (१२२.९ मेगावाट) ले आवेदन दिएर स्वीकृति पर्खेर बसेका छन्।

सोलार आयोजनाका सर्वे लाइसेन्स कहिले, कसलाई, कति क्षमताको ?

क्रस

आयोजना

क्षमता (मेगावाट)

प्रवर्द्धक कम्पनी

लाइसेन्स जारी मिति

कृष्णपुर सोलार पीभी आयोजना

१०

ग्रीन भिलेज भेन्चर्स प्रालि

२०७९/०४/०८

सुरुगां युटीलिजी स्केल ग्रीड टाइड सोलार आयोजना

१०

टाइम सोलार इनर्जी प्रालि

२०७९/०४/०८

गोदावरी अत्तरीया सोलार विद्युत आयोजना

४०

हाइभ नेपाल प्रालि

२०७९/०४/०९

पहलमान सोलार विद्युत आयोजना

३०

हाइभ नेपाल प्रालि

२०७९/०४/०९

भुरीगाउँ सोलार पीभी आयोजना

४०

हाइभ नेपाल प्रालि

२०७९/०४/०९

नेपालगंज सोलार पीभी आयोजना

२५

हाइभ नेपाल प्रालि

२०७९/०४/१८

कोहलपुर सोलार पीभी आयोजना

४०

हाइभ नेपाल प्रालि

२०७९/०४/१९

गुलरिया सोलार पीभी आयोजना

२५

हाइभ नेपाल प्रालि

२०७९/०४/२३