भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख रुपैयाँभन्दा बढीको चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा

बिजमाण्डू
२०७९ कात्तिक २ गते १५:४४ | Oct 19, 2022
भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख रुपैयाँभन्दा बढीको चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा

बुटवल। सशस्त्र प्रहरी बल नवलपरासीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ३३ लाख बढीको चिनीसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले बुधबार बिहान दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो।

Tata
GBIME

ट्रकमा चिनी बोकेर लैजादै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो। प्रतापपुर गाउँपालिका २ बाट ना ६ ख २१९७ नम्बरको ट्रकमा रहेको ४२० बोरा र रामग्राम नगरपालिका-५ स्थित परासी-भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ नम्बरको ट्रकमा रहेको ४२० बोरा गरी कुल ८ सय ४० बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ हेड क्वाटर नवलपरासीका सूचना अधिकारी डीएसपी केशवराज थापाले जानकारी दिए।

कुल ४२ हजार किलो चिनीको मूल्य करिब ३३ लाख ६० हजार रहेको छ। अवैध कारोबारमा संलग्न ट्रक र चिनीको कुल मूल्य ९० लाख कायम गरिएको डीएसपी थापाले बताए।

बरामद चिनी र ट्रकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो पटक जिल्लाका सीमा नाकाबाट अवैधरुपमा चिनी र कपडाको तस्करी बढेपछि सशस्त्र प्रहरीले पैदल र सवारी साधनको गस्ती बढाएर नियन्त्रणको प्रयास गर्दै आएको छ।