१० वर्षअघि नेपालमा इभीको इकोसिस्टम तयार पार्ने महिन्द्रा, एक्सयूभी ४०० इभी लिएर ‘कमब्याक’

शुक्र गिरी
२०८१ असार १५ गते १८:१५ | Jun 29, 2024
१० वर्षअघि नेपालमा इभीको इकोसिस्टम तयार पार्ने महिन्द्रा, एक्सयूभी ४०० इभी लिएर ‘कमब्याक’

काठमाडौं। नेपालमा १० वर्षअगाडि विद्युतीय गाडीको इकोसिस्टम तयार पार्ने महिन्द्राले अल इलेक्ट्रिक एक्सयूभी ४०० इभीका साथ नेपाली इभी बजारमा ‘कमब्याक’ गरेको छ। महिन्द्रा गाडीको आधिकारि बिक्रेता अग्नि समूहले शनिबार उक्त गाडी नेपाली मार्केटमा लन्च गरेको हो।

Tata
GBIME

सन् २०१३ मा अग्नि समूहले इभी बिक्री गर्न थालेको थियो। रेभा र महिन्द्रा मर्ज भएपछि उत्पादन भएको इटूओ प्लस इभी काठमाडौंका सडकमा अझै पनि कुदिरहेको देखिन्छ। त्यो बेला काठमाडौं उपत्यका धुँवाधुलोले आक्रान्त बनेको भन्दै प्रदूषणरहित सवारीसाधनको परिकल्पना गरिएको थियो।

१४ घन्टाभन्दा बढी लोडसेडिङ व्यहोरेका बेला स्वदेशको इन्धन प्रयोगको बहस निरर्थक हुन्थ्यो। त्यही भएर अग्नि समूहको अग्नि इनर्जीले प्रदूषणरहित सवारीसाधनमा रुपमा उक्त गाडीको ब्रान्डिङ गरेको थियो।

४ वटा ढोका भएको इटूओ प्लसले तयार पारेको इभी प्लेटफर्ममा अहिले विभिन्‍न ब्रान्डका विद्युतीय गाडी चलिरहेका छन्। कम्पनीले यसरी नेपालमा इभीलाई स्थापित गरेको थियो। कम्पनीले त्यतिबेला नै ६०० युनिटभन्दा धेरै इभी बिक्री गर्न सफल भएको थियो।

आफैँले सेट गरेको इभीको बजारबाट केही समय हराएको महिन्द्राले पुनः १० वर्षपछि कमब्याक गरेको छ। अहिले अन्य ब्रान्डहरूको बीचमा महिन्द्राले एक्सयूभी ४०० लाई नेपाली बजारमा उतारेको हो।

कम्पनीले यसबीचमा इभीका लागि नेपालमा बजार कसरी विस्तार गर्ने र इभी ग्राहकलाई सहज वातावरण कसरी तयार पार्ने भन्‍नेमा काम गरिरहेको थियो। ठूला स्थापित ब्रान्डहरूले जहिले पनि आफू बजारमा जानुअगाडि गाडी बिक्री गरेपछि आवश्यक पर्ने सम्पूर्ण इकोसिस्टम तयार पार्ने गर्छन्। महिन्द्राले पनि त्यस्तै गरेको छ।

कम्पनीले उपत्यका बाहिरका लागि आवश्यक पर्ने सर्भिस सेन्टर र चार्जिङ स्टेसन कुरिनटारमा निर्माण गरेको छ। उक्त सेन्टरमा हिमालयन जाभाको आउटलेट पनि खोलिएको छ। गाडी सर्भिस गर्दा वा चार्ज गर्दा लाग्ने समयमा ग्राहकले चियाकफीको आनन्द लिन सक्नेछन्।

यस्तै, उपत्यका भित्रका लागि कुपन्डोलमा पनि यसको पुरानो सर्भिस सेन्टर रहेको छ। त्यही सर्भिस सेन्टरबाट महिन्द्राको अहिले प्रायः सबै इभी सर्भिस तथा मर्मत गर्ने काम भइरहेको छ।

कम्पनीले अहिले नेपालभरी विभिन्‍न रुपमा जनशक्ति तयार पारेको छ। महिन्द्राले जसरी इटूओको बजारलाई विस्तार गरेको थियो त्योभन्दा राम्रो र नयाँ योजनासहित विद्युतीय सवारी बिक्री र बिक्री पछिको सर्भिसलाई प्राथमिकतामा राख्ने कम्पनीले जनाएको छ।

कम्पनीले एक्सयूभी ४०० को शनिबार ४ वटा डेलिभरी पनि गरेको छ। यो गाडी ४ वटा कलरमा उपलब्ध छ। यसको बिक्री मूल्य ५२ लाख ५० हजार रुपैयाँ तय गरिएको छ।

भारतमा निर्मित महिन्द्राको अहिले नेपालमा ल्याइएको उक्त गाडी एक्सयूभी ४०० ईएल प्रो भेरियन्ट हो। जसको मोटर पावर ११० किलोवाट क्षमताको छ। कम्पनीले यसको ४० युनिट गाडी नेपाल ल्याएको छ।

नेपालभरी २० हजार किलोमिटर रोड टेस्ट गरेपछि नेपाली बजारमा यो गाडी बिक्री सुरु गरिएको हो।

यो गाडी ०-१०० किलोमिटर प्रति घण्टा पार गर्न ८.२ सेकेन्ड मात्रै लाग्छ। यसमा भएको ११० किलोवाट मोटरले १५० पीएस पावर दिन्छ।

यसमा भएको ३९.९ किलोवाट आवरको ब्याट्रीले एक पटकको फुल चार्जमा ४५६ किलोमिटर रेन्ज दिन्छ। रियल रोड टेस्ट रेन्ज भने ३५० किलोमिटर रहेको छ।