प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्न क्यानको निर्देशन, सुरक्षाबारे अध्ययन गर्ने

बिजमाण्डू
२०७९ असोज ३० गते १५:०२ | Oct 16, 2022
प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्न क्यानको निर्देशन, सुरक्षाबारे अध्ययन गर्ने

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले देशैभर संचालित प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ। अर्को सूचना जारी नहोउन्जेल साहसिक खेल मानिने प्याराग्लाइडिङ देशैभर बन्द गराउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

Tata
GBIME

हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई सुरक्षित र थप व्यवस्थपित बनाउनका लागि तत्कालका लागि मुलुकभर संचालित प्याराग्लाइडिङ उद्योग बन्द गराउने निर्णय गरिएको प्रवक्ता निरौलाले जानकारी दिए।

पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएका कारण यो निर्देशन दिइएको हो। 

आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो।

आइतबार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए।

ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ खेल भइरहेको समयमा अचानक खसेको थियो। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो।

आज भएको  दुर्घटनाका कारण प्याराग्लाइडिङ कम्पनीले दिँदै आएको सेवा नै बन्द गर्न लगाउनु न्यायोचित नभएको हवाई खेलकुद संस्थाका अध्यक्ष सुनील भट्टराईले बताए।

यो खेल भोलि संचालन गर्ने/नगर्ने विषयमा यतिखेर छलफल भइरहेको उनले जानकारी दिए। सोमबार संस्थाले यो सँग सम्बन्धित सबै सेवा बन्द गर्ने योजना रहेको उनले बताए।

उनका अनुसार यो खेलका लागि क्यानले ११ वटा जिल्लामा व्यावसायिक उडानका लागि इजाजत दिएको छ भने कास्की जिल्लाभर ६० वटा कम्पनीले यो उडान सेवा दिँदै आएका छन्।