यसपालिको दसैंमा आयात प्रतिबन्ध र तरलता अभावको मारमा अटो बजार, शोरुम भिजिट गर्ने नै भएनन

शुक्र गिरी
२०७९ असोज २३ गते १७:०६ | Oct 9, 2022
यसपालिको दसैंमा आयात प्रतिबन्ध र तरलता अभावको मारमा अटो बजार, शोरुम भिजिट गर्ने नै भएनन

काठमाडौं। दसैं-तिहार सवारी बजारका लागि बिक्रीको समय हो। धेरै बिक्री हुने भएकै कारण बिक्रेता कम्पनीले नयाँ नयाँ मोडल त झिकाउँछन् नै, शोरुमको सजावट झिलीमिली पार्छन् र ग्राहक आकर्षित गर्ने होडमा गाडीपिच्छे आकर्षक अफर ल्याउँछन्। यो दृष्टिले यसपटकको दसैं सुखद रहेन। दसैंपछि पनि सोरुममा चहलपहल छैन।

Tata
GBIME

विदेशी मुद्रा सञ्चितिमा परेको चाप घटाउने भन्दै सरकारले सवारी आयातमा बन्देज लगाएको छ। बैंक-वित्तीय संस्थाले सवारी खरिदमा कर्जा दिन उदारता देखाएका छैनन्। नयाँ नयाँ मोडल भित्र्याउन नपाएपछि धेरैजसो कम्पनीले खरिदमा छुट र उपहारका आकर्षक अफर ल्याएनन्। निकै कमले अफर सार्वजनिक गरे, त्यसमा पनि उनीहरुको ध्यान पेट्रोल-डिजल इन्जिन गाडीको साटो इलेक्ट्रिकमा रह्यो।

यस पालिको दसैंमा नेपालको अटोमोबाइल बजार आयात प्रतिबन्ध र तरलता अभावको मारमा परेको छ। व्यवसायीहरुका अनुसार यो दसैंमा हालसम्मकै कम व्यापार भएको छ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अनुसार समग्रमा यस पालिको दसैंमा सवारी साधनको व्यापार ७० प्रतिशतभन्दा कम भएको छ। यस्तै अघिल्ला वर्षहरुको तुलनामा २५ प्रतिशत मानिसहरुले मात्र शोरुम भिजिट गरेका नाडाले जनाएको छ। यो दसैंमा पनि अटो व्यवसायीहरुले अन्य वर्षको दसैंमा जस्तै चाडबाडलाई लक्षित गरी विभिन्न अफर तथा योजनाहरु ल्याएका थिए।

नाडाका अनुसार यो दसैंमा ५०० वटा पनि गाडीहरु बिक्री हुन सकेन। अघिल्लो वर्ष ४ हजारदेखि ५ हजारको हाराहारीमा समग्र सवारीसाधन बिक्री हुने गरेको थियो। हरेक कम्पनीको १० देखि १५ वटा मात्र गाडी बिक्री भएको उनीहरु बताउँछन्।

लकडाउनले थलिएको अटो बजार बिस्तारै तंग्रिने तरर्खरमा थियो। तर ग्राहकलाई दिन नयाँ मोडलका गाडीहरु भने यस पालिको दसैंमा बजारमा त्यति देखिएन। चीनबाट आउने विद्युतीय गाडीहरु समेत कोभिडका कारण भएको लकडाउनले बाटो मै अड्किएका थिए। यस्तै इन्धन इन्जिन  प्यासेन्जर गाडीमा पनि सरकारले असोज २८ गतेसम्मको लागि आयात प्रतिबन्ध लगाएको छ। सरकारले सवारी आयातमा प्रतिबन्ध लगाएको पनि ६ महिना भइसकेको छ।

यसैबीच गाडी उत्पादक कम्पनीहरुले नयाँ-नयाँ मोडलका गाडीहरु सार्वजनिक गरेका छन्। तर नेपालका बिक्रेताहरुले भने बजारमा भित्र्याउन पाएका छैनन्। यसले गर्दा पनि ग्राहकहरुले यसपालीको दसैंमा आफूले चाहेअनुसारका गाडीहरु खरिद गर्न नपाएको अटो व्यवसायीहरु बताउँछन्।

अघिल्ला दसैंहरुमा एक महिना अगाडिदेखि नै अटो व्यवसायीलाई गाडी, मोटरसाइकल र स्कुटर बिक्री गर्न भ्याइनभ्याइ हुने गर्दथ्यो। ग्राहक पनि दसैंमा छुट र उपहार पाइने भएपछि दसैंमा धेरैले सवारीसाधन किन्ने गर्दथे। सवारी बिक्रेताहरुको देशैभरका सोरुम ग्राहकको भीडले भरिएका हुन्थे।

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सीइओ राजनबाबु श्रेष्ठ भन्छन् 'यसपालिको दसैं नेपाली अटोमोबाइल बजारका लागि अविस्मरणीयरुपमा सुखद रहेन।' हालसम्मकै कम व्यापार भएको उनले बताए। यो दसैंमा कमर्सियल तथा प्यासेन्जर दुवैको व्यापार मुस्किलले २५ प्रतिशतको हाराहारीमा भएको उनको भनाइ छ। 

'हामीले यस्तो समय व्यापार गरेदेखि सामना गर्न परेको थिएन। यो हाम्रो लागि हालसम्मकै संकटग्रस्त समय हो,' उनले बिजमाण्डूसँग भने, 'हामीले मुस्किलले यो दसैंमा २५ प्रतिशत मात्र गाडी बिक्री गर्न सकेका छौं। त्यसमा पनि विद्युतीय गाडीको बिक्रीले सहयोग पुगेको हो। इन्धन सवारीको भने ठप्प जस्तै छ।'

श्रेष्ठका अनुसार बैंकले ऋण ठप्प पारेका कारण पनि गाडीहरुको बिक्री प्रभावित भएको छ। 'ग्राहकहरुको माग भए पनि बैंकले दिने ऋणमा नै आएर रोकिन्छ,' उनले भने, 'यस्तै समस्याले गर्दा यसपालि गाडीहरुको व्यापार धेरै कम भएको छ।'

वर्षभरीमा अटो व्यवसायीहरुले १९ हजार जस्तो सवारीसाधन बिक्री गर्ने गर्दछन्। भदौदेखि कातिकसम्म तीन महिनाको अवधिमा यसको करिब ५० प्रतिशत कारोबार हुने गरेको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन्। यसपालि दसैंमा भने त्यस्तो नभएको उनको भनाइ छ।

'चाडपर्वले अटो बजारको कारोबार बढाउने गरेको थियो,' उनले बिजमाण्डूसँग भने, 'तर विगतका वर्षको तुलनामा यसपालि व्यापार धेरै कम भएको छ। चाडबाडले माहोल बनाए पनि त्यसपछिको व्यापार भने राम्रो हुन सकेन। ग्राहकहरु शोरुम भिजिट समेत गर्न छाडेका छन्।'

दसैंको मुखमा नाडा अटो शो हुन्थ्यो। वर्ष दिनभर हुने कारोबारमध्ये ३० प्रतिशत त्यही बेला हुन्थ्यो। यो पटक सरकारले गरेको आयात प्रतिबन्धका कारण तेस्रो पटक पनि उक्त अटो शो हुन सकेन। अघिल्ला दुई वर्षहरुमा भने कोरोना महामारीका कारण रोकिएको थियो।

राष्ट्र बैंकको निर्देशनअनुसार सवारी कर्जा लिँदा गाडीको बजार मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकले ऋण दिन पाउने व्यवस्था थियो। तर पछिल्लो समय तरलता अभावका कारण बैंकहरुले गाडी खरिद गर्न ऋण उपलब्ध गराएका छैनन्। साथै बैंकहरुले क्रेडिट लिमिटमा प्रतिबन्ध लाग्नु भन्दा पहिले नै खोलिएका एलसीको समेत पैसा दिन नमानेका अटो व्यवसायीहरुको भनाइ छ।

'तरलता अभाव र आयात प्रतिबन्धले गर्दा व्यवसायीले अर्डर गरेअनुसारका सावारीसाधन ल्याउन सकेनन्,' थापाले भने, 'त्यस्तै विद्युतीय सवारीमा बढाइएको भन्सार शुल्कले गाडीको मूल्य धेरै बढ्ने भन्दै ती पनि ल्याउन बन्द गरियो। इभी एक्स्पोले दसैंको माहोल केही बनाए पनि व्यापार भने राम्रो हुन सकेन।'

थापाका अनुसार यसपालि गाडी स्टकमा भएकाहरुको समेत बिक्री भएन। यस्तै कमर्सियल भेहिकलमा समेत सोचे जस्तो व्यापार हुन नसकेको थापा बताउँछन्। 'नयाँ गाडी बुकिङ गर्ने र भएका गाडी खरिद गर्ने दुवै ग्राहक यसपालि ३० प्रतिशत पनि भएनन,' उनले भने।

हाल सबैभन्दा बढी कियाको गाडीहरु स्टकमा छन्। आयात प्रतिबन्ध अगाडी नै ७०० वटा गाडीका लागि एलसी खोलेकाले अहिले बिक्रेतासँग तिनै लट स्टकमा छन्। यसैगरी टोयोटा, हुन्डाई, टाटाको गाडीहरु धेरै स्टकमा छन्।

हुन्डाई र टाटाले विद्युतीयमा धेरै केन्द्रित भएर सवारीसाधन बिक्री गरिरहेका छन्। यसले गर्दा यी कम्पनीहरुको बुकिङ धेरै भएकाले सप्लाइमा समस्या देखिएको छ। टाटाले साउन, भदौ र असोजमा मात्रै ४०० भन्दा धेरै विद्युतीय गाडी बिक्री गरेको कम्पनीले जनाएको छ। टाटाले ७० प्रतिशत बजार इभी बिक्री गरेर ओगटेको छ।

टोयोटाको भने यसपालि दसैंमा अघिल्लो वर्षको तुलनामा थोरै मात्र व्यापार कम भएको आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले जनाएको छ। कम्पनीका अनुसार टोयोटाका गाडीहरु कूटनीतिक नियोगहरुका लागि ड्युटी फ्रीमा धेरै माग हुने भएकाले अरुको भन्दा बिक्री धेरै नघटेको हो। यसको गाडीहरु अन्तर्राष्ट्रिय नियोग तथा दूतावासहरुले प्रयोग गर्ने गर्दछन्। यसका लागि ड्युटी फ्री (भन्सार शुल्क छुट) सुविधा छ। 

चाडबाडमा पनि गाडी बिक्री नबढ्दा व्यवसायीहरुलाई छटपटी छ। उनीहरुको संस्था नाडाले सोमबार सवारीको आयात रोकिरहँदा राज्यले यो क्षेत्रबाट प्राप्त गर्ने राजस्व घट्ने र त्यसबाट पर्ने असरलाई बुझ्न सरकारलाई आग्रह गरेको थियो। विदेशी मुद्रा सञ्चितिमा नेपाली अटोमोबाइल बजारले पार्ने चाप अन्य वस्तुका तुलनामा धेरै नभएको दाबी नाडाको छ। 

आर्थिक वर्ष २०७६/७७ मा २ लाख ४५ हजार २ सय २२ सवारीसाधान आयात भएका थिए भने आव २०७७/७८ मा ४ लाख ७८ हजार ७२ वटा भित्रिए। यसैगरी गत वर्ष ३ लाखको हाराहारीमा ५९ अर्ब बराबरको सावारीसाधान आयात भएका छन्। यस्तै यसबाट सरकारले ७७ अर्ब रुपैयाँ सरकारले भन्सार शुल्क उठाएको छ। आयात रोकिदा राज्यलाई अटोमोबाइल क्षेत्रबाट प्राप्त हुने राजश्वमा पनि सोझै असर परिरहेको छ।