साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट १४ दिनमा बिक्री गर्‍यो एक करोड ३५ लाखको खाद्यान्न

बिजमाण्डू
२०७९ असोज १६ गते १५:१४ | Oct 2, 2022
साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट १४ दिनमा बिक्री गर्‍यो एक करोड ३५ लाखको खाद्यान्न

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट एक करोड रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ। 

Tata
GBIME

कम्पनीले असोज एक गतेदेखि १४ गतेसम्म सुपथ मूल्य पसल संचालन गरेको थियो। सो अवधिमा कम्पनीले एक करोड ३५ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको कम्पनीका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। कम्पनीको कालीमाटी आउटलेटमा मात्र ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको उनले जानकारी दिए। 

उनका अनुसार कालीमाटी आउटलेटमा दैनिक एक सय २० जनाको हाराहारीमा ग्राहक खाद्यान्न खरिदका लागि आएका छन्। उक्त आउटलेटमा दैनिक ४ लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री भएको थियो। गत वर्ष कम्पनीको उक्त आउलेटबाट दैनिक साढे चार लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। 

'यो वर्ष उपभोक्ताले सहुलियत पसलमा चिनी खरिद गर्न नपाउने भएपछि ग्राहको संख्या कम भएको हो। गत वर्ष साल्ट ट्रेडिङमा मात्र दैनिक ३ सयसम्म ग्राहक खाद्यान्न खरिद गर्न आउने गरेका थिए। अहिले कम्पनीको आउटलेटहरुमा चिनी छैन। यसले गर्दा ग्राहकको संख्या आधा घटेको छ,' प्रधानले भने।    

बाहिरी बजारको भन्दा सस्तो मूल्यमा चिनी किन्न मात्र ग्राहक आउने गरेका थिए। हाल साल्ट ट्रेडिङमा चिनीको स्टक नभएपछि ग्राहक कम भएको हो। चिनी नभएपनि कम्पनीको अन्य खाद्यान्नको बिक्री राम्रो भएको उनले बताए।

साथै, दैनिक तीनवटा मोबाइल भ्यानले खाद्यान्न बिक्रीको घुम्ति सेवा दिँदै आएको कम्पनीले जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले  ७ वटा आउलेटबाट खाद्यान्न बिक्री गरेको थियो। सुपथ मूल्य पसलमा नुन, चिनी, चामल, चिउरा, सूर्यमुखी र तोरीको तेलमा छुट दिएर बिक्री गरिरहेको छ।