जीबीआइएमा उडान विस्तार गर्न जजिरा एयरवेजलाई क्यानको स्वीकृति, अब सातामा सातै उडान

बिजमाण्डू
२०७९ भदौ २१ गते १६:३३ | Sep 6, 2022
जीबीआइएमा उडान विस्तार गर्न जजिरा एयरवेजलाई क्यानको स्वीकृति, अब सातामा सातै उडान

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआइए) मा नियमित उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजलाई उडान संख्या विस्तारका लागि स्विकृति दिएको छ।

Tata
GBIME

जेठ दुई गतेबाट साताको तीनवटा उडान गर्दै आएको जजिरालाई प्राधिकरणले सेप्टेम्बर १६ देखि अक्टोबर २९ तारिखसम्म लागू हुने गरी साताको सातवटा उडान भर्न स्विकृति दिएको हो।

विमानस्थलबाट उडान गर्ने यात्रुले कोभिड मार्गनिर्देशिका अनुसार खोप प्रमाणपत्र अथवा कोभिड नेगेटिभ प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने प्रावधान  छ।

जजिराले यो विमानस्थलबाट आउजाउ गर्ने यात्रुलाई त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थल (टीआइए) को भन्दा २० प्रतिशत सस्तो भाडादरमा सेवा दिँदै आएको छ। दुई वर्षअघि टिआइएमार्फत सेवा सुरु गरेर जजिराको जीएसए सोसाइटी ट्राभल हो।

सञ्चालनमा आएको तीन महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार यात्रुले उडान अवतरण सेवा लिएका छन्। हाल जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको छ। यो विमानस्थलमा दसैंका लागि एयर अरेबिया र फ्लाइ दुबाईले चार्टर उडानको तयारी गरेको जनाइएको छ।

विमानस्थलका अनुसार तीन महिनायता यो विमानस्थलमा पाँच हजार तीन सय ४५ यात्रु अवतरण भएका छन् भने ६ हजार एक सय २० यात्रुले उडान सेवा लिएका छन्। यो विमानस्थलमा कतार, अमेरिका, सिंगापुर लगायत देशमा सञ्चालित कम्पनीले चासो देखाएर अनौपचारिक कुराकानी बढाउँदै आएको प्राधिकरणले जनाएको छ।

यो विमानस्थलबाट ६० प्रतिशत यात्रु तराई क्षेत्रबाट वैदेशिक रोजगारका लागि जाँदै आएका छन्। आउँदो अक्टोबरदेखि हंगेरी बेस रहेको विज एयरले पनि यो विमानस्थलमा साताको तीनवटा उडान गर्ने योजना बनाएको छ।

पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएसँगै जजिराले साताको सातवटा उडान गर्ने तयारीमा छ।