विराटनगर आईसीपीसम्म कार्गो रेल तत्काल चलाउन भारतको जोड, टीओआर पूरा नगरी किन गर्दैछ हतारो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ साउन ९ गते ०७:०५ | Jul 25, 2022
विराटनगर आईसीपीसम्म कार्गो रेल तत्काल चलाउन भारतको जोड, टीओआर पूरा नगरी किन गर्दैछ हतारो

विराटनगर। द्विपक्षीय सन्दर्भ सर्तहरू (टीओआर अर्थात् टर्म्स् अफ रिफरेन्स) पूरा नगर्दै भारतीय पक्ष बथनाहा (भारत) देखि नेपालको आईसीपी (विराटनगर) सम्मको रेलमार्ग नेपाललाई हस्तान्तरण गर्न हतारिएको छ ।

Tata
GBIME

आईसीपीसम्मको रेलमार्ग निरीक्षणका विराटनगर आइपुगेका भारतीय रेलवेका अधिकारीहरुले रेलमार्ग नेपाललाई हस्तान्तरण गर्न भारतीय पक्ष तयार रहेको बताएका छन्।

अहिले विराटनगरको आइसीपीसम्म रेलमार्ग आइपुगिसकेको छ। यसको निरीक्षणका लागि भारतीय रेलवेका अधिकारीहरु विराटनगर आईसीपीबाट ११७ किलोमिटर दक्षिणमा रहेको भारतको कटिहार रेलवे स्टेशनबाट निरीक्षण रेलको डब्बा चढेर आइतबार आइपुगेका हुन्। उनीहरुले विराटनगर आईसीपीसम्म तत्कालैबाट रेल चलाउने भए पनि हस्तान्तरण गर्न भारत तयार रहेको बताएका हुन् ।

भारतीय रेलवे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले मोरङका उद्योगीलाई भारतीय पक्ष आजैदेखि रेल चलाउने भए नेपाललाई हस्तान्तरण गर्न तयार रहेको बताएका थिए। उनीहरुले अहिल्यैबाट नभए पनि कम्तिमा आगामी अगस्त १ अर्थात् साउन १६ देखि आईसीपीसम्म रेल सञ्चालन गर्न आग्रह गरेका छन्।

उद्योग संगठन मोरङमा आयोजित छलफलमा मेनेजर चौधरीले आइसीपीसम्म आइपुगेको रेलमार्गलाई नेपाल पक्षले कार्गो रेलमार्गका रूपमा सञ्चालन गर्दा ठुलो फाइदा हुने बताए। १८.६ किलोमिटर लम्बाइको बथनाहा-विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।

भारतीय सीमावर्ती सहर जोगबनीमा रेलवे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेलवे मन्त्रालयसमक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको पनि उनले बताए। उक्त मर्मत केन्द्रकोे निर्माणपछि अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने चौधरीले उल्लेख गरे। 

छलफलमा सहभागि नेपाल सरकारको रेल विभागका विराटनगरस्थित साइट इन्चार्ज इन्जिनियर रोशन देवका अनुसार नेपाल र भारतको संयुक्त सरकारी टोलीले अनुगमन गरेर हस्तान्तरणयोग्य भएको निष्कर्ष ननिकालेसम्म हस्तान्तरण भएर रेल सञ्चालन हुन सक्नेछैन। संयुक्त अनुगमनका लागि भारतीय पक्षले नेपाल सरकारलाई लिखित अनुरोध गरिसकेको छ। तर भारतीय पक्षले टीओआर अनुसारका केही काम पुरा गर्न बाँकी रहेको बताइएको छ।

साइट इन्चार्ज देवले बिजमाण्डूसँग भने, ‘भारतीय पक्षले जनकपुरको रेल पनि टीओआर पूरा नगरी हस्तान्तरण गरेको थियो । हस्तान्तरणका बेला भारतीय पक्षले बाँकी काम ३० दिनमा पुरा गर्ने सर्त गरेको थियो। तर जनकपुरमा स्टाफ क्वार्टर र स्टेसन बिल्डिङको निर्माण नेपाल सरकारले बनाउनु पर्‍यो। सर्तविपरीत भारत सरकारले नबनाएपछि ती कामलाई नेपाल सरकारले पुरा गर्नुपरेको थियो।’

देवका अनुसार, आइसीपीसम्मको रेलमार्गमा सिग्नलिङको काम बाँकी छ। सिग्नलिङ भनेको एक स्टेसनबाट अर्को स्टेसनसम्म वायरलेसबाट स्टेसन मास्टरलाई रेल हिँडेको, रोकिएको, आइपुगेको आदि खबर गर्ने प्राविधिक प्रबन्ध हो। यसका लागि विभिन्न पूर्वाधार बनाउनु पर्छ। आइसीपीसम्मको रेलमार्गमा गर्नुपर्ने सिग्नलिङका पूर्वाधारको काम भारतीय पक्षले बाँकी नै राखेको छ।

यसबाहेक टीओआर अनुसार भारतीय पक्षले गर्नुपर्ने विभिन्न सानातिना कामहरु समेत बाँकी छन्। स्टेसन बिल्डिङमा प्लम्बिङ अर्थात् धारा फिटिङको काम पनि भारतीय पक्षले नै गर्नुपर्ने सर्त छ, जुन गर्न बाँकी नै छ। 

स्टेसन बिल्डिङका झ्यालका सिसा पनि फुटेका छन् र बिजुली वायरिङको काम अधकल्चोमा छाडिएको छ। स्टेसन बिल्ङिडकै फ्लोरिङ फुटिसकेको छ र यसलाई मर्मत गर्नुपर्ने देखिएको छ। यस भवनको छत चुहिने भइसकेको छ। भवनमा रङरोगनका काम पनि बाँकी छ। त्यस्तै भवनमा पंखा, भेपरलाइट, ट्युबलाइट आदि हाल्ने काम पनि गरिएको छैन।

देव भन्छन्, ‘हामीसित रेल सञ्चालनका लागि दक्ष जनशक्ति पनि छैन। यसका लागि तालिमप्राप्त स्टेसन म्यानेजर चाहिन्छ। रेलमार्गको ट्रयाक हेर्ने प्वाइन्ट मेन र रेलवे ट्रयाकको नट-बोल्ट हरेक बिहान चेकजाँच गर्ने ग्याङ मेन पनि चाहिन्छ। अनि यी सबै संरचना र पूर्वाधारको सुरक्षा गर्ने सुरक्षाकर्मी पनि हालसम्म त्यहाँ उपस्थित छैनन्।’

उनका अनुसार, टीओआरबमोजिम रेलमार्ग र अन्य संरचनाको निर्माण पूरा भएकै छैन। भारतीय पक्ष भने आफ्नो जिम्मेवारीका कामहरु पुरा नगर्दै नेपाललाई हस्तान्तरणका लागि हतारिएको छ।

मीरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीसाधन री-रुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेका बेला मालवाहक रेल सञ्चालनमा आउँदा राहत मिल्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले छलफलमा बताए।

यस्तै, संगठनका पूर्वअध्यक्ष अशोक मुरारका, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, उद्योगी राकेश सुराना लगायतले पनि भारतीय रेलमा नेपालीले झेल्नुपरेका समस्याका बारेमा छलफलका क्रममा चर्चा गरेका थिए।