शंकर समूहको हिल्टनको लागत दोब्बरले बढ्यो, प्रति कोठा लागत नै १ करोड रुपैयाँले महँगियो

बिजमाण्डू
२०७९ साउन ४ गते १२:५३ | Jul 20, 2022
शंकर समूहको हिल्टनको लागत दोब्बरले बढ्यो, प्रति कोठा लागत नै १ करोड रुपैयाँले महँगियो


काठमाडौं। निर्माण अवधि चार वर्षभन्दा बढीले धकेलिएपछि शंकर समूहले नक्सालमा निर्माण गरिरहेको पाँच तारे होटल हिल्टनको लागत दोब्बरले महँगिएको छ। 

Tata
GBIME

२०७३ मा साढे तीन अर्ब रुपैयाँ लगानीमा बनाउने भनिएको उक्त होटलको लागत बढेर २०७८ वैशाखमा ६ अर्ब ६८ करोड ३० लाख पुग्ने अनुमान गरिएको छ। शंकर समूहको जगदम्बा हस्पिटालिटी ग्रुपले होटल निर्माण गरिरहेको छ।

भूकम्पका कारण शंकर समूहको होटललाई भूकम्प प्रतिरोधी एवम् सुरक्षित बनाउन स्ट्रक्चर नै परिवर्तन गरेको थियो। जसका कारण पनि निर्माण धकेलिन पुगेको थियो। यस्तै, नाकाबन्दीका साथै होटलको डिजाइनलाई सबैभन्दा बढी समय लगाएर निर्माण भइरहेकाले पनि निर्माणले बढी समय खाइरहेको शंकर समूहले जनाएको छ। नेपालमा निर्माण भएकामध्ये उत्कृष्ट होटल बनाउन खोजेको भन्दै धेरै समय लागेको समूहले बताउँदै आएको छ। 

कोरोना महामारीका कारण होटल निर्माण धकेलिँदै आएको छ। २०१८ अन्तिमबाट समूहले होटल निर्माण सुरु गरेको थियो। जसको तीन वर्षमा निर्माण सक्ने लक्ष्य थियो। तर, कोरोना महामारीका कारण होटल निर्माणको अवधि धकेलिएको छ। 

यसअघि १३५ कोठा रहने भनिएको होटलमा थप ३९ कोठा थप्दै क्षमता विस्तार गरिएकाले पनि लागत बढेको कम्पनीले जनाएको छ। होटलमा १७४ कोठा हुने छन्। १७ तल्ले होटलमा तीन तल्लाको बेसमेन्ट रहनेछ भने सबैभन्दा माथि स्विमिङ पुल हुनेछ। संरचनाको आकार एक लाख ४० हजार वर्गफिट हुनेछ। 

नक्साल भगवती मन्दिर नजिकै १० रोपनी जग्गामा होटल निर्माण भइरहेको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालका अनुसार सन् २०२३/२४ भित्र होटल संचालनमा आउने डेडलाइन तय गरिएको छ। 

यसअघि प्रति कोठा २ करोड ८० लाख रुपैयाँ खर्च रहेकोमा अहिले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ। अप्रिल २०२२ सम्म परियोजनाको वित्तीय प्रगति ६१ प्रतिशत रहेको इन्फोमेरिक्सले जनाएको छ। 

होटल संचालनका लागि शंकर समूहले होटल चेन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गर्दै हिल्टन काठमाडौं सिटी सेन्टरको ब्राण्डबाट संचालन गर्ने बताइएको छ। कम्पनीमा शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालको पूर्ण सेयर स्वामित्व छ। कम्पनीले ५ अर्ब २ करोड २० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। 

पाँच अर्ब एक करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि इन्फोमेरिक्सले आइआरएन बी प्लस रेटिङ दिएको छ। एक करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि कम्पनीले आइआरएन ए फोर रेटिङ पाएको छ।