डेढ अर्ब लगानीमा औषधि उद्योग आउँदै, स्लाइन पानी लगायत उत्पादन गर्ने, २५% आयात प्रतिस्थापन हुने

बिजमाण्डू
२०७९ साउन ३ गते १९:३९ | Jul 19, 2022
डेढ अर्ब लगानीमा औषधि उद्योग आउँदै, स्लाइन पानी लगायत उत्पादन गर्ने, २५% आयात प्रतिस्थापन हुने

काठमाडौं। डेढ अर्ब रुपैयाँ लगानीमा नयाँ औषधि उद्योग सं‌चालनमा आउने भएको छ। बिरामीलाई प्रयोग गरिने प्यारेन्टल (स्लाइन पानी) र झोल औषधि उत्पादन गर्ने गरी यो प्रस्तावित उद्योग दर्ता भएको हो। 

Tata
GBIME
Nepal Life

चिकित्सा क्षेत्रमा काम गर्ने डाक्टरहरुसहित १० जनाको संयुक्त लगानीमा उक्त उद्योग खुल्ने भएको हो। माउन्टेन ग्लासियर फर्मास्युटिकल्स प्रालि नाममा दर्ता कम्पनीले उद्योग ‍विभागबाट असार २३ गते लगानी स्वीकृत पाइसकेको छ।

यो उद्योग साउनभित्रै शिलान्यास गर्ने तयारी रहेको कम्पनीका म्यानेजर पवन सापकोटाले बताए। उनका अनुसार, वातावरणीय प्रभाव मूल्यांकन सकेपछि भवन निर्माणको काम अघि बढ्नेछ। प्रभाव मूल्यांकनको काम उद्योग विभागबाट स्वीकृत हुन बाँकी छ।  

कम्पनीले उद्योगका लागि आवश्यक जमिन खरिद गरिसकेको छ। उद्योग रौतहटको चन्द्रनिगाहपुर-२ मा राख्ने गरी साढे ४ बिघा जग्गा खरिद गरिसकेको  म्यानेजर सापकोटाले बताए। उनले भने, 'उद्योग स्थापनाका लागि हामी पेपर वर्क सकेर फिल्ड वर्कमा लागेका छौं। कुनै अवरोध नभए दुई वर्षमा सबै काम सकेर उत्पादनमा जानेछौं।' 

उनका अनुसार एउटा मेसिन सेट गर्न ६ महिना लाग्छ । स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योग विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारनै निर्माण गर्ने भएकाले समय लाग्ने सापकोटाले बताए। 

उद्योग स्थापनाका दौरान प्रक्रियागत झन्झट ब्यहोर्नुपरेको अनुभव उनले सुनाए। 'ठूला उद्योग स्थापना गर्न निकै असहज छ। किनभने ठूला उद्योग भन्नेवित्तिकै सोच्ने तरिका नै फरक छ,' उनले भने। उद्योगको कुल पुँजी एक अर्ब ५० करोड रुपैयाँ राखिएको छ, जसमा स्थिर पुँजी एक अर्ब ३४ करोड रहेको छ भने चालु पुँजी १५ करोड ८६ लाख राखेको छ। 

यो उद्योग शतप्रतिशत स्वदेशी लगानीमा संचालनमा आउन लागेको हो। यसले १०८ जनालाई रोजगारी दिने लक्ष्य राखेको छ।

उद्योगका लागि २ सय केभीएको प्रसारण लाइन आवश्यक पर्नेछ। कम्पनीले उद्योगका लागि आवश्यक पर्ने मेसिन खरिद गर्न बैंकिङ प्रक्रिया सुरु भएको छ।

मेसिन खरिदका लागि ३० प्रतिशत लगानी सञ्चालकले र ७० प्रतिशत बैंक फाइनान्सिङ गर्ने तयारी छ। कम्पनीले उत्पादनको ६ वर्षमा लगानी उठाउने योजना बनाएको छ।

नयाँ उद्योग आएपछि २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने विश्वास यसका संचालकहरुको छ। नेपालमा अहिले एभरेष्ट फर्माष्युटिकल्स, लोमस फर्मास्युटिकल्स लगायतले यस उद्योगले उत्पादन गर्न खोजेका जस्ता सामग्री उत्पादन गर्दै आएका छन्। यी उद्योगले नेपालको कुल मागको १० देखि १५ प्रतिशत मात्रै माग धान्दै आएको अनुमान छ।  

अहिले बिरामीलाई लगाइने स्लाइन पानीको प्रतिबोतल ४५ देखि ५० रुपैयाँ पर्छ। तर यसको कडा मापदण्डअनुसार निर्माण गर्नुपर्ने भएकाले लागत धेरै लाग्ने गर्छ। मेसिनको खरिद मूल्यभन्दा तीन गुणा बढी मेन्टेन खर्च आउने भएकाले नेपालमा यो उत्पादन गर्ने उद्योग धेरै छैन। 

यस्तो हुनेछ उत्पादन

यो उद्योगले सबैभन्दा धेरै स्लाइन पानी नै उत्पादन गर्नेछ। यस्तै सिरिन्जबाट दिइने धेरै प्रकारका औषधिहरु उत्पादन गर्ने बताएको छ। कम्पनीको विस्तृत योजना प्रतिवेदन (डीपीआर) अनुसार उक्त उद्योगले वार्षिक स्मल भोलुम प्यारेन्टल वर्षमा एक करोड ५० लाख बोतल उत्पादन गर्नेछ।

सो परिमाणमा नै स्मल भोलुम प्यारेन्टल (भिलास) उत्पादन गर्ने जनाइएको छ। यसैगरी, लार्ज भोलुम प्यारेन्टल २ करोड ५० लाख बोतल उत्पादन गर्नेछ।

लिक्विड ओरल एक करोड बोतल र विभिन्न ट्याब्लेट ४ करोड गोटा उत्पादन गर्नेछ। सेमिसोल्ड क्याप्सुल ट्युब ५० लाख उत्पादन गर्नेछ। यसैगरी सफ्ट जेल क्याप्सुल एक करोड वटा उत्पादन गर्ने बताइएको छ।