एयर अरेबिया र फ्लाई दुबई पनि गौतम बुद्ध विमानस्थलमा उडान थाल्दै, विज सेप्टेम्बरबाट आउँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ असार ४ गते १९:०० | Jun 18, 2022
एयर अरेबिया र फ्लाई दुबई पनि गौतम बुद्ध विमानस्थलमा उडान थाल्दै, विज सेप्टेम्बरबाट आउँदै

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने भएका छन्। यसका लागि उक्त कम्पनीहरुले प्रक्रिया अघि बढाएको विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिए।

Tata
GBIME

'एयर अरेबिया' र युएईको 'फ्लाई दुबई' ले भैरहवा विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेका हुन्। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तरराष्ट्रिय वायुसेवा प्रदायकहरु हुन्।

 'नियमित व्यवसायिक उडानका लागि थप दुई विदेशी वायुसेवा कम्पनी एयर अरेबिया र फ्लाइ दुबईले प्रक्रिया सुरु गरेका छन्,' दाहालले भने, 'एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै उडान थाल्ने इच्छाका साथ प्रक्रिया थालेको छ।' एयर अरेबिया इमरेट्सको लो कस्ट एयरलाइन्स हो।

जेठ २ बाट औपचारिक संचालनमा आएको जीआईएमा सोही दिनबाट कुबेतको जजिरा एयरवेजले नियमित उडान थालेको थियो। त्यसयता जजिराले यात्रु अकुपेन्सीका हिसाबले राम्रो बिजनेश पाइरहेको छ। 

खासगरी श्रम गन्तव्य मुलुकबाट भैरहवा विमानस्थल जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि रुचि बढाएका छन्। त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएका हुन्।

एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले छिट्टै साताको सातैवटा उडान सुरु गर्ने तयारी गरेको पनि दाहालले जानकारी दिए। हाल राती उडान अवतरण गर्दै आएको जजिराले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि बनाउने पनि योजना बनाएको यस वायुसेवाको नेपालका लागि आधिकारीक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवी चन्द्र सिंहले बताए।

विमानस्थलमा यतिखेर श्रम कार्यालय स्थापना भएसँगै यतिखेर वैदेशिक रोजगार गन्तव्य मुलुकहरु आउजाउ गर्ने यात्रुलाई यो विमानस्थल थप सहज हुँदै आएको उनले बताए। 'श्रम तथा रोजगार शाखा संचालनमा आइसकेको छ। ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ। जसले गर्दा भैरहवाबाट पायक पर्ने थुप्रै जिल्लाबाट वैदेशिक रोजगारमा जाने-आउनेलाई अब काठमाडौं पुग्नु नपर्ने भएको छ,' दाहालले भने।

यसबाहेक अब म्यानपावर कम्पनीहरुका शाखा कार्यालयहरुको रसिद काट्ने काउन्टर वा सुविधा पनि विमानस्थल आसपास हुन सके वैदेशिक रोजगारीमा जाने-आउने यात्रुका लागि यो विमानस्थल झन् सहज हुने जनाइएको छ।

'अहिले भैरहवा विमानस्थल भएर आउजाउ गर्ने यात्रु उत्साहित छन्। जजिराको उडान अवतरण समयमै भइरहेको छ। यसले भोलि अरु वायुसेवालाई पनि यहाँबाट सेवा सुरु गर्न प्रोत्साहित गर्छ भने यात्रु सेवा विस्तार हुँदा समग्र देशकै पर्यटन प्रवर्द्धनमा लाभ पुग्नेछ,' सोसाइटीका अध्यक्ष सिंहले भने। 

हाल काठमाडौं-कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ छ। भैरहवा-कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६६०० रुपैयाँ कम (२६४०० रुपैयाँ) मा सेवा दिँदै आएको जनाएको छ।

भैरहवामार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान संचालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन्।

सेप्टम्बरबाट विज एयरले पनि भैरहवा उडान थाल्ने

आउँदो सेप्टेम्बरबाट विज एयरले पनि भैरहवा विमानस्थल भएर अन्तरराष्ट्रिय उडान विस्तार गर्ने भएको छ। हंगेरी बेस रहेको अल्ट्रा लो कस्ट यस वायुसेवाले भैरहवाबाट युएईको अबुधाबी उडान गर्ने तयारी गरेको बताइएको छ। विजलाई पनि नेपालमा सोसाइटीले नै जीएसएका रुपमा भित्र्याउन लागेको हो।

विजले एयरबसको ३२१ निओ सिरीजको जहाज संचालनमा ल्याउने योजना बनाएको बुझिएको छ। विजको एक सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो। यो जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये हो।

कम खर्चिलो संचालन लागत हुने दाबी गरिएकाले यसलाई अल्ट्रा लो कस्ट जहाज समेत भनेर चिनिएको छ। त्यसैकारण यो जहाजमा विजनेश क्लास समावेश गरिएको हुँदैन। नेपालका लागि यो जहाज नयाँ किसीमको हुनेछ।

'विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा छ। हामीले एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिनेछौं। हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन नै हो। धार्मिक पर्यटन प्रवर्द्धनलक्षित सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ,' सिंहले भने।