नयाँ लाइसेन्सको फारम खुल्यो तर वर्ग थपका लागि सवारी चालकलाई फेरि झुक्यायो विभागले

बिजमाण्डू
२०७९ जेठ ३० गते १५:५८ | Jun 13, 2022
नयाँ लाइसेन्सको फारम खुल्यो तर वर्ग थपका लागि सवारी चालकलाई फेरि झुक्यायो विभागले


काठमाडौं। यातायात विभागले लामो समयदेखि बन्द रहेको लाइसेन्सको नयाँ फारम खुलाए पनि वर्ग थप गर्नेहरुका लागि भने नयाँ फारम खुलाएको छैन।

Tata
GBIME
Nepal Life

विभागले बारम्बार समस्या देखा परेपछि नेपालमै सफ्टवयर बनाएर नयाँ लाइसेन्सका लागि फारम खुलाएको थियो। साथै, वर्ग थपका लागि पनि नयाँ फारम खुलाउन विभागले धेरै समयदेखि चालकलाई आश्वसन मात्र दिइरहेको छ।

नयाँ लाइसेन्सको फारम खुलेको सात दिनमा वर्ग थपका लागि पनि नयाँ फारम खुलाइने विभागले बताएको थियो। तर विभागले भने यसका लागि आवश्यक तयारी नभइसकेको र प्राविधिक रुपमा समस्या आएका कारण ढिला भएको बताउँदै आएको छ।

सोमबार पनि विभागले फेरि उपभोक्तालाई झुक्याएको छ। जेठ ३० गते बिहानबाट वर्ग थपका लागि नयाँ फारम खुला हुने विभागले बताएको थियो। तर प्राविधिक समस्याका कारण वर्ग थपको फारम खुलाउन नसकिएको विभागका उपमहानिर्देशक इश्वरीदत्त पनेरुको जिकिर छ।

'आज बिहानबाट वर्ग थपको फारम खुला गर्ने भनिएको हो। तर, प्राविधिक समस्याका कारण खोल्न सकिएन,' उनले भने, 'यो समस्या समाधान भए आजै बेलुकाबाट वर्ग थपको नयाँ फारम खुलाइन्छ।'

पनेरुका अनुसार ओटीपी नम्बर आउने वा म्यासेज आउने एनटीसीको सर्भरमा समस्या देखिएको छ। 'ओटीपी नम्बर वा रेजिस्ट्रेसन नम्बर नआइ फारमको प्रक्रिया अगाडि बढाउन मिल्दैन,' उनले भने, 'हाम्रा प्राविधिक टोलीले यस समस्याको समाधनका लागि काम गरिरहेका छन्।'

तर आईटीका इन्जिनियरले भने यसबारे केही भन्न चाहेनन्। प्राविधिक समस्या हो मात्र भनेर उनी पन्छिए। भने, 'आजबाट खुल्न पनि सक्छ। 'हजुरलाई के समस्या भन्ने, प्राविधिक समस्या हो।'

यसअघि नयाँ सफ्टवयरमा पुराना लाइसेन्स लिएकाहरुका डाटा सार्न समस्या भएको थियो। हाल त्यो समस्या नरहेको पनि पनेरु बताउँछन्।

स्कुटर तथा बाइकको सवारी चालक अनुमतिपत्र पाएकाले कार वा भ्यान लगायतका हलुका सवारीका लागि लाइसेन्स लिन वर्ग थपको नयाँ फारम भर्नुपर्ने हुन्छ। यसैगरी कार तथा भ्यान लाइट सवारीका लाइसेन्स प्राप्त गरेकाले बाइक वा स्कुटरको लिनु परेमा पनि अनिवार्य वर्ग थपको नयाँ फारम भर्नुपर्छ।

साथै कार तथा भ्यान लगायतका हलुका सवारीको लाइसेन्स लिएका चालकहरुले पनि ठूला सवारीको लाइसेन्स प्राप्त गर्न वर्ग थपको आवेदन दिनुपर्ने व्यवस्था छ।