दुई दिन बिदाले यसरी बढेको थियो होटलको व्यापार, खारेजपछि होटेलियर निराश, रेस्टुरेन्ट भने खुसी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ जेठ २६ गते ०८:५१ | Jun 9, 2022
दुई दिन बिदाले यसरी बढेको थियो होटलको व्यापार, खारेजपछि होटेलियर निराश, रेस्टुरेन्ट भने खुसी

काठमाडौं। सरकारले जेठबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि सबैभन्दा उत्साहित बन्यो- पर्यटन तथा होटल क्षेत्र। 

Tata
GBIME
Nepal Life

शनिबार र आइतबार दुई दिन बिदाले नजिकका गन्तव्यहरुमा घुम्न जान पर्याप्त समय पुग्ने भएकाले यसले आन्तरिक पर्यटन र होटल व्यवसायको चलपहल निक्कै बढाउने विश्लेषण पर्यटन व्यवसायीहरुको थियो। उनीहरुको अपेक्षा बमोजिम नै होटलहरुको व्यापार जेठ लागेपछि बढ्न थालेको थियो। तर दुई दिने बिदाले होटलको व्यवसायमा आएको बहारको यो अवस्था लामो समय नटिक्ने भएको छ।

सरकार नै आफ्नो निर्णयमा एक महिना पनि टिक्न नसकेपछि होटल क्षेत्रको उत्साह निराशामा बदलिन समय लागेन। 

सरकारले गत सोमबार निर्णय गर्दै असारबाट साताको दुई दिन बिदा खारेज गरिदिएको छ। यससँगै यतिखेर खासगरी उपत्यकाबाहिरका होटल व्यवसायीहरु निराश भएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा असर परेको भन्दै दुई दिन बिदा पुनः खारेजको निर्णय सरकारले गरेको हो।

साताको दुई दिन बिदा हुँदा भने यसको सकारात्मक प्रभाव होटल उद्योगमा परेको थियो। आइतबार एक दिन बिदा थपिँदा घुम्ने वर्गका लागि राम्रो अवसरसँगै होटलको बसाई अवधि पनि बढ्दै गएको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए। 

'अहिले नाइट स्टे बढिरहेको छ। योसँगै नेपालीको खर्च गर्ने क्षमता र सामर्थ्य पनि बढेको हुन्थ्यो भने होटलहरुका लागि झन् राम्रो हुन्थ्यो,' उनले भने, 'दुई दिने बिदाले एक महिनाका लागि राम्रो गर्यो। पर्यटनका हिसाबले यस्तो बिदा नीतिबाट निकै सकारात्मक प्रभाव पारेको देखियो।' उनका अनुसार यतिखेर पोखराको होटलमा ५० प्रतिशत अकुपेन्सी कायम भइरहेको छ। 

विदेशी पर्यटकको चहलपहल भने कमै रहे पनि दुई दिने बिदाले आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रहेको क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए।

'शनिबार र आइतबार बिदा दिँदा पाहुना त बढेको हो। जस्तै शनिबार आउने मान्छे आइतबार फर्कन त पाइयो,' उनी भन्छन्।

अधिकांश होटलमा सरकारी, गैरसरकारी संस्थाको कार्यक्रमका लागि समेत अकुपेन्सी बढेको उनले बताए। यतिखेर धुलिखेलमा संचालित होटलमा यतिबेला करिब ७० प्रतिशत अकुपेन्सी रहेको उनले जानकारी दिए। 'यो जेठ असार खासै सिजनको समय होइन। तैपनि आन्तरिक पर्यटकको यत्तिको चहलपहल हुनु भनेको त राम्रो हो हाम्रो लागि,' श्रेष्ठ भन्छन्।

सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठको भनाइ भने थोरै फरक छ। उनको विचारमा साताको दुई दिन बिदा दिँदा पर्यटन क्षेत्रका लागि फाइदा देखिए पनि समग्र मुलुकका लागि भने उचित देखिएन। उनी भन्छन्, 'हाम्रो जस्तो सानो मुलुकमा दुई दिन छुट्टी दिँदा अप्ठ्यारो परेको थियो।

काममा प्रभाव परेको महशुस सबैले गरेकै हो। पर्यटन क्षेत्र प्रवर्द्धनका लागि आन्तरिकतर्फ त टेवा पुगेकै थियो। तर मुलुकलाई नै हेर्दा त्यति राम्रो देखिएन।'

पर्यटकीय गतिविधि बढेको भने स्विकार्दै उनले भने, 'भैरहवामा यतिखेर भारतीय र आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रहँदा अकुपेन्सी ४० प्रतिशतमाथि पुगेको छ।'

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले पनि दुई दिन बिदा लागू हुँदा आन्तरिक पर्यटकको चहलहल उल्लेख्य रुपमा वृद्धि भएको जानकारी दिए। तर सरकारले असारबाट यो बिदा खारेज गरिदिएसँगै निराशा छाएको बताउँदै उनले भने, 'दुई दिन बिदा हुँदा राम्रो माहोल सिर्जना भएको थियो। परिवारै लिएर हिँड्ने जमातको बढेको थियो। आन्तरिक पर्यटकको चहलपहल राम्रैसँग वृद्धि भएको थियो। तर यो निर्णय पुनः खारेज भएपछि निराश भएका छौँ।'

उनका अनुसार हाल सौराहामा विकेण्डको बेला अकुपेन्सी करिब ५० प्रतिशत कायम हुँदै आएको छ, जुन सामान्यता २५ प्रतिशत रहँदै आएको थियो। अकुपेन्सी बढाउन दुई दिने बिदा पनि सहयोगी भएको भनाइ भट्टराईको भनाइ छ।

रेस्टुरेन्ट संचालकको भने खुसी फिर्यो
दुई दिनको बिदा पाउनेहरु कि त उपत्यकाबाहिर वा नजिकैको लोकेशनमा आउटिङ जान थालेपछि रेष्टुरेण्ट व्यवसाय भने जेठयता प्रभावित भएको रेष्टुरेण्ट व्यवसायीहरु बताउँछन्। तर असारबाट पुनः साताको दुई दिने बिदा खारेज भएपछि उनीहरुको खुसी फिरेको छ।

सातामा दुई दिन बिँदा हुँदा कार्यालय समय लम्ब्याइएको थियो। साँझ ६ – साढे ६ बजेसम्म अफिस आवर हुँदा रेष्टुरेण्टको सामान्यदेखि विकेण्डसम्मको व्यवसाय नै सुकेको अनुभव यसबीच रेस्टुरेन्ट संचालकहरुले गरेका छन्। 

'शनिबार एक दिन छुट्टी हुँदा शुक्रबार दिउँसोदेखि नै व्यवसाय राम्रै हुन्थ्यो। सामान्य दिनहरुमा पनि फाइन डाइनिङका लागि आउने गेष्टको चहलपहल राम्रै थियो। तर जेठयता रेष्टुरेण्ट, क्लब लगायत सन्ध्याकालिन र रात्रीकालिन व्यवसाय खस्किएको अवस्था छ,' एक व्यवसायीले भने, 'अब असारबाट व्यवसाय पुनः सामान्य अवस्थामै आउने देखिएको छ।'