
काठमाडौं। तारा एयरको जहाज दुर्घटनामा दिवंगत भएका यात्रु र चालकदलको शव निकाल्ने क्रम जारी छ। स्थानीय बासिन्दा र उद्धार टोली गरी ६० जना भन्दा बढीको सहभागितामा यतिखेर १६ वटा शव फेला पारिसकिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिएका छन्।
६ जनाको शव भने खोँचमा रहेका कारण निकाल्ने क्रम जारी रहेको उनले बताए। उनका अनुसार हालसम्म अधिकांश शव पहिचान हुने अवस्थामा छन्।
'बाँकी ६ वटा शव खोँचको ४० मिटर तल रहेको पाइएको छ। डोरीको सहायताले झिक्ने प्रयास भइरहेको छ,' प्रवक्ता कर्णले भने,'मौसमी प्रतिकूलताका कारण आर्मीको एमआइ-१७, एयर डइनेष्टी, कैलाश लगायत कम्पनीको हेलिकोप्टर पुग्न नसकेको अवस्था छ। विहान फिस्टेलको हेलिकोप्टर पुगेको थियो। तर रिफ्युलिङका लागि जोमसोम आइपुगेको त्यो हेलिकोप्टर पुनः दुर्घटनास्थलमा पुग्न सकेको छैन।'
मौसम अनुकूल भए लगत्तै हेलिकोप्टरमार्फत शव ल्याइने योजना रहेको उनले जानकारी दिए।
दुर्घटनास्थल जोमसोमबाट आठ नटीकल माइल दक्षिण र १४ हजार ५ सय फीटमा उचाइमा पर्छ।
खोजीकार्य सकिएपछि मात्र छानबिन समिति
खोज तथा उद्धार कार्य सकिएपछि छानबिन समिति गठन गर्ने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। सोमबार साँझसम्म समिति गठन हुने मन्त्रालयका एक कर्मचारीले बताए।
अनुसन्धानका लागि जहाजको पछाडिको भागमा रहेको ककपिट भ्वाइस रेकर्ड (सीभीआर) ल्याउनका लागि परिचालित उद्धार टोलीलाई निर्देशन दिइसकेको जनाइएको छ।
'प्राविधिक टोली कोवाङ पुग्न सकेका छैनन्। ट्वीनअटरको टेल पार्टमा हुने सीभीआरको नमुना तस्बिर दिएर पठाएका छौं। त्यसकै आधारमा उहाँहरुले खोजेर ल्याइदिनुहुनेछ,' उनले भने।