कार्यविधि संशोधनपछि १५ जनाले लिए अनुमति, तैपनि सुरु भएन मार्जिन कारोबार, के भन्छन् ब्रोकर ? 

अन्जना सुवेदी/बिजमाण्डू
२०७९ जेठ १३ गते १४:३९ | May 27, 2022
कार्यविधि संशोधनपछि १५ जनाले लिए अनुमति, तैपनि सुरु भएन मार्जिन कारोबार, के भन्छन् ब्रोकर ? 

काठमाडौं। मार्जिन कारोबार सम्बन्धी कार्यविधि प्रथम संशोधन भएको करिब एक महिना बितिसक्दा पनि कुनै ब्रोकर कम्पनीले यो कारोबार सुरु गरेका छैनन्। 

Tata
GBIME

संशोधनले कारोबार थाल्ने प्रावधान केही सजिलो पारे पनि आर्थिक सहायताका लागि दरिलो आड (बैंक) नहुँदा रोकिनु परेको धेरैजना धितोपत्र दलालको भनाइ छ। तर, यसका बाबजुद पनि केही व्यवसायीले भने कारोबारका लागि तयार भइसकेको बताउँदै आएका छन्। 

नेपालमा ५० कम्पनीले धितोपत्र दलाल लाइसेन्स लिएका छन् । तर मार्जिन कारोबारका लागि करिब एक भाग ब्रोकर कम्पनीहरुले मात्र हात अघि सारेका छन्। अर्थात हालसम्म १५ जना ब्रोकरहरुले मात्र मार्जिन कारोबारका लागि इजाजत पाएका छन्। 

हालसम्म १५ जना ब्रोकरले इजाजत नवीकरण गरे पनि कारोबार भने कसैले पनि नगरेको नेप्सेले जनाएको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन् '१५ जनाले इजाजत रिन्यु गरेका छन् तर अहिलेसम्म कारोबार गरेको सुन्नमा आएको छैन्।'

केही धितोपत्र व्यवसायीहरुले यो सेवा चाडै नै उपलब्ध गराउने भएका छन्। कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका भरत रानाभाभाटले पनि चाडै नै मार्जिन कारोबार सुरु गर्ने जानकारी दिएका छन् । तरलता अभावका काराण बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले ऋण नपाइरहेको अवस्थामा मार्जिन कारोबार प्रभावकारी बन्न सक्ने उनको भनाइ छ। 

'लगानीकर्ता बजार घटेको बेला सेयर किन्न तयार छन्, तरलता अभावका कारण बैंक तथा बित्तीय संथाबाट ऋण पाइरहेको छैन्। त्यसैले पनि लगानीकर्ता मार्जिन कारोबार गर्न उत्साहित नै छन्,' रानाभाट भन्छन्,'यो आर्थिक वर्षभित्रैबाट हामी मार्जिन कारोबार सुरु गछौं । तयारी गरिरहेका छौं।'

यस्तै स्टक ब्रोकर एशोसियसनका अध्यक्ष सन्तोष मैनालीले पनि कारोबार गर्न अनुमति पाएका ब्रोकरहरुले तयारी गरीरहेको बताएका छन्। 'नेप्सेले सूची तयार गरेर त्यसभित्र पर्ने सेयरमा मात्र लेन्डिङ गर्ने भन्ने छ। त्यसमा पनि समय लाग्यो,' उनले भने, 'साथीहरु त्यारीमै जुटिरहेका छन्। तयारी गर्न पनि अलि समय लाग्ने भयो।'

गत वैशाखमा प्रथम पटक कार्यविधि परिमार्जन भएर आयो। परिमार्जित कार्यविधि पनि ब्रोकर कम्पनीहरुको मागलाई चित्तबुझ्दो थिएन।  
संशोधित कार्यविधिमा ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई मार्जिन लेन्डिङका लागि आवश्यक रकमको स्रोतबारे सम्बोधन नगरेको व्यवसायीहरुले बताएका छन्। 

उक्त कुरा एशोसियसनले नेपाल राष्ट्र बैंकदेखि नियामक निकाय नेपाल धितोपत्र बोर्डसम्म पुर्‍यायो। तर, बोर्डबाट 'तपाइँहरु आफ्नो रकमले सुरु गर्नुस्, यतापछि गर्दै गरौला' भन्ने फितलो जवाफ आयो।

 अध्यक्ष मैनालीका अनुसार कार्यविधि संसधन भएर आएको भोलिपल्ट नै एशोसियसनले फन्डको कुरा, कर्मचारीलाई ऋण वा सापटी दिन नपाउने कुरा र नेटवर्थको २ गुणा मात्र कारोबार गर्न पाउने व्यवस्थालाई बढाएर ५ देखि ६ गुणसम्म बढाउन माग गर्दै बोर्डमा सुझाव पठाएका थिए ।

अहिले ब्रोकर लाइसेन्स लिएका ५० कम्पनीहरुमध्ये मार्जिन लेन्डिङका लागि नेप्सेले तोकेको न्यूनतम नेट वर्थ (पाँच करोड रुपैयाँ) हो । मार्जिन लेन्डिङका लागि अनुमति पाएका ब्रोकरहरुले प्रमाणित नेटवर्थको बढीमा दुई गुणासम्म मात्र मार्जिन कर्जामा परिचालन गर्न सक्नेछन्।