भैरहवामा उडान-अवतरण सामान्य बन्यो, तर रात्रीकालीन उडान भने बुद्धको जहाज बने मात्र हुने

बिजमाण्डू
२०७९ बैशाख १७ गते १७:४६ | Apr 30, 2022
भैरहवामा उडान-अवतरण सामान्य बन्यो, तर रात्रीकालीन उडान भने बुद्धको जहाज बने मात्र हुने

काठमाडौं। बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएर बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सामान्य अवस्थामा फर्किएको छ।

Tata
GBIME

दिउँसो तीन बजे आसपास बुद्धको ९एन-एजेएस कलसाइनको एटिआर-७२ जहाज काठमाडौंका लागि टेक अफ गर्ने क्रममा प्राविधिक समस्या आएपछि विमानस्थलमा सम्पूर्ण उडान अवतरण अवरुद्ध भएको थियो।

रनवेमै बुद्धको जहाजको टायर फ्ल्याट भएपछि उडान डेढ घन्टा रोकिएको हो। सोपछि लगभग एक घन्टाको प्रयासमा रनवे क्लियर गरेर उडान संचालन हुने अवस्थामा ल्याइसकेको विमानस्थलले जानकारी दिएको छ। 

'विमानस्थल सामान्य उडान अवतरणको अवस्थामा ल्याइसकिएको छ। तर आज रात्रीकाली उडान अवतरणका लागि भने टुङ्गो छैन,' भैरहवा विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले बताए। टायर फ्ल्याट भएको बुद्धको जहाज मर्मत हुन सके मात्र आज रात्रीकालिन उडान हुने उनको भनाइ छ।

'अहिले भिएफआर उडान भैरहेको छ। २५ सय मिटर धावनमार्ग क्लियर छ। जहाज धावनमार्गको अन्तिमतिर राखिएको छ। यो जहाज मर्मत सम्भार भए मात्र आइएफआर उडान हुनेछ,' दाहालले भने।

उनका अनुसार जहाज मर्मत सम्भारको काम पनि सुरु भैसकेको छ।