
काठमाडौं। बि. सं. २०७२ सालको भूकम्पले धेरैको जीवनमा परिवर्तन ल्यायो। नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाउनुका साथै सयौँ वर्ष पुराना ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरू, घर तथा ठूला भवनहरु ध्वस्त भए।
यसैबीच उज्यालो फाउन्डेसनमा कार्यरत वत्सल राजभण्डारी र अमुदा मिश्र तथा सोही संस्था रहेको भवनमा रहेको आईटी कम्पनीमा काम गर्ने डिकेश प्रजापति उद्धार कार्यमा जुट्नेहरुमध्येका थिए।
त्यसबेला राहत र उद्धारका लागि उनीहरु दुरदराजको गाउँठाउँ पुगे।
‘त्यहाँ हामीलाई के महसुस भयो भने हामी युवा पिढी चाहिँ आफ्नो कला, परम्परागत सीप र संस्कृतिसँग टाढा भैरहेका रहेछौं। यो अन्तर मेटाउन के गर्न सकिन्छ भनेर नै दोचाको अवधारणा आएको हो।’- उनीहरुले भने।
यही अन्तर मेटाउन उनीहरुले दोचामार्फत कपडाका जुत्ता निर्माणमा लागे। धेरैले आफ्नो संस्कृतिका विभिन्न पाटाहरूलाई कपडा उत्पादन गरी जोगाउन खोजिरहेकको समयमा उनीहरुले चाहीँ कपडाका जुत्ता रोजे। त्यसबेला त्यो अवधारणामा खासै कसैले हात नहालेकोले आफूहरुले बिभिन्न समुदायको संस्कृति झल्काउने मौलिक कपडाहरुलाई फूटवेयरसँग जोडेर सन् २०१७ मा दोचाको स्थापना गरेको उनीहरु बताउँछन्।
विपत्तिले जन्माएको व्यवसाय
उद्धारका क्रममा गाउँ गाउँमा पुग्दा उनीहरूले के महसुस गरे भने गाउँमा युवाहरुको संख्या असाध्यै कम थियो। जति थिए उनीहहरु पनि परम्परागत सीपबाट टाढा थिए। हजुरबुवाले जानेको सीप र कला नाति पुस्तामा पुग्न सकेकै थिएन। ‘हजुरबुबाहरुले जानेको सीप र गरेको परम्परागत काम बुवा पुस्ताले छोडिसकेकाले नाति पुस्ता त्यो कला र सीपबाट अनभिज्ञ जस्तै हुन पुगेको हामीले महसुस गर्यौं। उनीहरु भन्छन्- ‘पहिरनमा पनि यस्तै देखियो। हजुरबुवा हजुरामाहरुले लगाउने मौलिक पोशाक दोस्रो पुस्तामा पश्चिमाकृत हुँदै गएको र नयाँ पुस्ताले त्यो मौलिक पहिरनका बारेमा चासो कम गर्दै गएको पायौं।’
यही अन्तरलाई मेटाउन उनीहरूले नेपालको विभिन्न समुदायको संस्कृतिलाई झल्काउने गरी सोही समुदायका परम्परागत पहिरनमा प्रयोग हुने फेब्रिक प्रयोग गरी त्यसमा आधुनिक डिजाइन दिएर जुत्ता बनाउने योजनामा काम गर्ने निधो गरे।
वत्सल भन्छन्, “हामीले ढाका टोपी नलगाउले कसैलाई लगाउन कर गर्ने कुरा त आउँदैन तर त्यही ढाकाको फेब्रिक फरक तरिकाले प्रयोग गर्यौँ भने ढाकाको मौलिकता त कायम रहन्छ। हामीले हाम्रो उत्पादनहरूलाई त्यसरी मोल्ड गर्न खोजेका हौं।”
यो आइडिया उनीहरूको दिमागमा सन् २०१५ देखि नै थियो। तर आइडियालाई व्यवसायमा परिणत गरेर बजारका लागि तैयार बनाउन उनीहरूलाई दुई वर्ष लाग्यो। यसबीच उनीहरू मार्केट र उत्पादनबारे रिसर्चमा लागे। त्यसको दुई वर्षपछिमात्रै उनीहरुले एकसय जुत्ताहरुका साथ दोचा लञ्च गरे। ‘दोचा’ नामले शेर्पाहरूले लगाउने जुत्तालाई जनाउने भएकोले वत्सलले आफ्नो व्यवसायको लागि सोही नाम रोजेको बताउँछन्।
चुनौतीहरुको सामना गर्दै
दोचाका संस्थापक कोही पनि जुत्ता उत्पादनको पृष्ठभूमिबाट थिएनन्। त्यसैले उनीहरुले काठमाडौँका विभिन्न कारखानाहरूमा गएर यो उद्योग कसरी चलिरहेको छ, के के कच्चा पदार्थहरु चाहिन्छ, कसरी बनाइन्छ भन्ने कुराहरु बुझ्न थाले।
दुई वर्षको रिसर्च पछि उनीहरुले अढाई लाख रुपैयाँ लगानी गरेर एकसय जुत्ता बनाएर कम्पनी सुरु गरे।
तर उनीहरुको व्यावसायिक यात्रा त्यति सहज भएन। कालिगढहरु खोज्न, गुणस्तरीय कच्चा पदार्थहरू पाउनदेखि लिएर नीतिगत विषयहरुका कारण पनि उनीहरुले अनेक किसिमका झन्झटहरु सामना गरेको बत्सल सम्झन्छन्।
स्थापनाकालमा जोडिएकी अमुदाले हाल दोचा छोडिसकेकी छिन् भने वत्सल र डिकेसले यसलाई बिस्तार गर्दै अघि बढाइरहेका छन्।
दोचाका जुत्ता उत्पादन गर्न प्रयोग हुने सोलबाहेक सबै नेपालमै बनाइन्छ। वत्सल भन्छन्,“सुरुमा हामीले नेपाली सोलहरू पनि प्रयोग गर्ने प्रयास गरेका थियौं, तर ती सोलहरू कम टिकाउ भए। त्यसैले हामीले भारत र चीनबाट सोल आयात गर्न बाध्य भयौं।”
स्टिचिङ बाहेक दोचाका जुत्ताहरुको उत्पादनमा अरु सबै प्रक्रिया दक्ष कालीगढले हातैले गर्दै आएको छ। दोचाले भर्खरै बजारमा ल्याएको वातावरणमैत्री एसपाड्रिल्स जुत्ताको भने स्टिचिङ पनि हालैले भएको छ भने यसमा जुटको सोल प्रयोग भएको छ। यो जुत्ताको मूल्य १८ सय ५० रुपैयाँ तोकिएको छ।
उनी भन्छन्, “हामीले सुरु गर्दा हाम्रो आफ्नै जुत्ता उत्पादन गर्ने कारखाना थिएन, त्यसैले हामीले आउटसोर्सिङ नै गरेको थियौँ। र विस्तारै बुटस्ट्र्यापिङ मोडलबाट व्यवसाय बढाउँदै लग्यौँ। हाम्रो उत्पादनहरु प्रयोग गरिसक्नुभएकाको रेस्पोन्स र वहाँहरुबाट मुखैले भएका विज्ञापनहरुले हामीलाई उत्साहित बनाएको छ। यस्तै सामाजिक संजालले पनि हाम्रो व्यवसाय बढाउन ठूलो भूमिका खेलेको छ।”
दोचाको आम्दानी पहिलो वर्षमा ४०%ले, दोस्रो वर्षमा ३०% वृद्धि हुँदै तेस्रो वर्षमा आइपुग्दा उनीहरूले अस्ट्रेलिया, बेलायत, अमेरिका लगायतका देशहरूमा सानो तहमा निर्यात नै सुरु गरिसकेका थिए। दोचाले वार्षिक ८५ लाख रुपैयाँको आम्दानी गर्दै आएको वत्सल बताउँछन्।
व्यवसाय बढे लगत्तै दोचाले महाराजगन्जमा आफ्नै कारखाना खोल्यो। दोचाको काठमाडौं उपत्यकामा महाराजगन्ज तथा ठिमी गरी दुई स्थानमा कारखाना थियो जसलाई हाल गाभेर एकै स्थान गौरीघाटमा सारिएको छ। यही कारखानामा दोचा ब्राण्डका जुत्ता, ब्याग, पर्स, मास्क लगायतका उत्पादन हुँदै आएको छ।
दोचाका जुत्तामा प्रयोग हुने तेह्रथुमको ढाका र पाल्पाको ढाका, नेवार समुदायको लव, तामाङको स्यामा, शेर्पाको पांग्देन कपडाहरू उनीहरुले उक्त समुदायका स्थानीय कालीगढहरूबाट नै किन्ने गरेका छन्।
“हाम्रो व्यवसायबाट उहाँहरूले प्रत्यक्ष फाइदा लिन सक्नुहोस् भनेर नै हामीले फेब्रिक उत्पादन गर्ने समुदायबाट नै कच्चा पदार्थ लिने गरेका छौँ।,” वत्सलले बताए।
लकडाउनको केही अघि मात्रै उनीहरूले झम्सिखेलमा आफ्नो स्टोर संचालनमा ल्याएका थिए। बानेश्वर र बौद्धमा स्टोर खोल्ने तरखरमा पनि थिए। तर कोरोना महामारीले यो योजना तुहियो। उनीहरुले
झोला र मास्कको प्रोटोटाइप गरे लगत्तै ठिमीमा अर्को कारखाना पनि स्थापना गरे। तर कारखाना खोलेको दुई हप्ता नपुग्दै दोस्रो लकडाउन भइहाल्यो।
ग्लोबल मार्केटमा जाने योजना
लकडाउनले दोचाको व्यवसाय पनि सुस्ताएको थियो। ती अनिश्चित समयमा स्थिर रहन, उनीहरूले क्राउडफन्डिङको बाटो रोजे। साथै जुत्ता मात्रै बनाउने दोचाले कोविड को पहिलो लकडाउनमा झोला र मास्क उत्पादनमा पनि हात हाल्यो।
हाल दोचाले विभिन्न डिजाइनका मास्क, ब्याग तथा पर्सहरु बजारमा उपलब्ध गराउँछ। यी सामाग्रीहरुको मूल्य १५० देखि २७५० सम्म पर्छन्। जुत्ताका प्रत्येक डिजाइनमा पुरुष र महिला दुवैको लागि ३५ देखि ४५ सम्मका साइजहरू छन्।
डिकेशले कारखाना साथै ब्रान्डिङको कामहरू हेर्छन् भने वत्सलले सेल्स हेर्छन्। तीन जनाबाट सुरु भएको डोचा अहिले २२ कालीगढ गरी ३० जनाको ठूलो परिवारमा परिणत भएको छ।
वत्सल आफ्ना भावी योजनाहरू सुनाउँछन्, “हामी हाम्रो सूचीमा थप डिजाइनहरू ल्याउने, ग्लोबल मार्केटमा जाने तथा अरु भर्टिकलहरू थप्दै लैजाने योजनाहरु बनाएका छौं। यसैका लागि नै काम गर्दै छौं।”