
काठमाडौं। नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्। सरकारले उनलाई बिहीबारको मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो।
पदभार ग्रहण गर्दै पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा सरकारले जिम्मेवारी दिएको बताए। कार्यालय प्रयोजनका काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली सबै सेवाहरुलाई जनताको सहज र सुलभ पहुँचमा पुर्याउनका सबै प्रतिबद्ध हुनुपर्ने बताए।
कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न र नेपाल टेलिकमलाई अझ विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे। सरकारको सूचनाप्रविधिमार्फत राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने पनि उनले बताए।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो। प्रबन्ध निर्देशक पौडेल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक थिए।
उक्त केन्द्रमा सन् २००४ देखि कार्यरत रहेर कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनी सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तर हुन्।