३०० भन्दा बढी वस्तु आयात गर्न अब खुल्ने छैन प्रतितपत्र, दैनिक प्रयोग हुने वस्तु आयातमा पनि कडाइ

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७८ चैत्र २२ गते १३:१० | Apr 5, 2022
३०० भन्दा बढी वस्तु आयात गर्न अब खुल्ने छैन प्रतितपत्र, दैनिक प्रयोग हुने वस्तु आयातमा पनि कडाइ

काठमाडौं। नेपाल राष्ट्र बैंकले करिब ३०० वटा वस्तुको आयातमा कडाइ गरेको छ। राष्ट्र बैंकले गाडी, सुन मात्र होइन दैनिक उपभोग हुने वस्तुको आयात रोक्न बैंकहरुलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा कडाइ गर्न भनेको जानकारी दिए। यसमा गाडीदेखि सुनचाँदीसम्म पर्छ।

यसबाहेक राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग केही समय करिब ३०० वस्तुको प्रतितपत्र नखोल्न भनेको छ। बैंकहरुले 'राष्ट्र बैंकले निर्देशन जारी गरोस् भन्ने आशयको भनाइ राखे पनि' त्यहाँका अधिकारीहरुले 'लिखित जारी हुँदैन। कुन कुन वस्तु रोक्ने भन्ने कुरा  मार्जिन व्यवस्था गरिएका वस्तुहरु नै हुन्' भन्ने प्रतिक्रिया दिएका थिए।

सुरुमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले गाडी, मोटरसाइकल, सुनलगायत विलासिताका वस्तुको प्रतितपत्र नखोल्न भनेका थिए। त्यसपछि उपस्थित बैंकरमध्येबाटै 'लगायतमा के के पर्छ' भनेर सोधेपछि ढकालले- तपाइँहरु आफैं विचार गर्नुस् भनेर जवाफ फर्काएका थिए। त्यही बीचमा बैंकरले नै 'मार्जिन भएका वस्तु नगर्ने हो त?' भनेर सोधेका थिए। त्यही विषयमा सबै सहमत भएर राष्ट्र बैंकबाट फर्किएका थिए।

अब बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि पनि प्रतितपत्र खोल्ने छैनन्। 

बैंकहरुले राष्ट्र बैंकबाट फर्किएपछि मंगलबार आफ्ना सबै शाखाहरुमा सर्कुलर जारी गर्दै प्रतितपत्र नखोल्न भनेका छन्। बैंकहरुले के केको नखोल्ने भनेर खुलाएका छैनन्। उनीहरुले मार्जिन लागेका वस्तुको नखोल्न भनेका छन्। केही बैंकले अहिले कुनै पनि प्रतितपत्र नखोल्न पनि भनेका छन्।  

बैंकहरुले परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन्।

यसबाहेक ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात अब नहुने भएको छ।

यसबाहेक माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको पनि बैंकले एलसी खोल्दैनन्।

बैंकले कफी, चिया, गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक सामानको पनि बैंकले एलसी खोल्दैनन्। 

डिजाइन गाडी, मोपेड, साइकल र आवश्यक पर्ने मोटर आयात पनि बैंक गर्ने छैनन्। बैंकहरुले अब गाडी तथा यसमा लाग्ने इक्विपमेन्ट, मेसिनरी तथा पार्टपुर्जा, धान, चामल, सुन, रेडिमेड कपडा, विद्युतीय उपकरण,  कपडाजन्य वस्तु, चाँदी, धागो लगायतको पनि आयातका लागि एलसी नखुल्ने भएको छ। 

'अहिले अर्थतन्त्रमा केही समस्याहरु देखिएको छ। आत्तिनु पर्ने खालको ठूलै समस्या त होइन तर सावधानी अपनाउनु पर्ने बेला भएको छ,' डेपुटी गभर्नर मिश्रले भने, 'अहिले हामीले समस्यामा सुधार नहुन्जेलका लागि आयातमा कडाइ गर्न खोजेको हो।'