वीरगंजको रजतजयन्ती–मितेरी पुलमा सडक कालोपत्रे गर्न अवरोध, टेण्डरबारे अदालतमा रिट

बिजमाण्डू
२०७८ चैत्र २० गते ०९:०१ | Apr 3, 2022

वीरगंज। वीरगंज नाकाको रजतजयन्ती–मितेरी पुल सडकखण्डको १३ सय मिटर लम्बाईको सडक यसवर्ष पनि कालोपत्रे नहुने देखिएको छ । कालोपत्रे गर्ने कार्यमा केही व्यक्तिहरुले बाधा उत्पन्न गरेपछि सो काममा अवरोध भएको हो ।

Tata
GBIME

त्रिभुवनराजपथ अन्तर्गत सडक विभागको अधिकार क्षेत्रमा पर्ने यो सडक मर्मतका लागि हालै लगाइएको ठेक्कासमेत अदालतमा रिट हालिएकोले यतिबेला अलपत्र परेको छ ।

सडक विभागले ६ वर्षपछि बल्लतल्ल सो सकडखण्ड मर्मतको ठेक्का लगाएकोमा त्यो पनि अघि बढ्न सकेको छैन । ठेकेदार कम्पनीहरूको स्वार्थको चेपुवमा परेको सडक यो वर्ष पनि मर्मत नहुने सम्भावना बढेर गएको प्राविधिकहरुको भनाई छ ।

सडक विभाग मातहतको व्यापारिक मार्ग आयोजना पथलैयाले ३ महिनामा सक्ने गरी समा कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँमा मर्मत (कालोपत्रे)को ठेक्का दिएकोमा ठेकेदारले काम शुरू गर्न सकेको छैन ।

आयोजनाले इ–बिडिङ गर्दा समा कन्सट्रक्सनलाई ठेक्का परेपछि प्रतिस्पर्धामा नआएको एक ठेकेदार कम्पनी र विशाल यादव तथा विकास झा गरी तीन जनाले टेण्डरमा मिलेमतोको आरोप लगाउँदै सर्वोच्चमा रिट हालेका छन् ।

सगमाथा इन्फ्राटेकका सञ्चालक दीपेशमान महर्जनले सर्वोच्च अदालतमा फागुन १३ मा रिट हालेका थिए । सर्वोच्चले ठेक्का यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख मनीषकुमार साहले बताए ।

सडकखण्डको १३ सयमिटर कालोपत्रे सर्वोच्चको आदेशपछि रोकिएको हो । आयोजनाले गत पुस ५ मा सडक मर्मतका लागि ३० दिनको समय राखेर ठेक्का आह्वान गरेको थियो । सो समयभित्र बिड नगरेका कम्पनीहरु समालाई ठेक्का परेको थाहा पाएपछि आयोजना कार्यालय, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी हाल्न पुगेका थिए ।

समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलम भने आफू काम अघि बढाउन तयार रहेको र निर्माण सामाग्रीसमेत कार्यस्थलमा पुर्याइसकेको बताउँछन् । काम गर्न पाए १ महिनामै पूरा गर्ने उनले बताए ।

आयोजना र समाबीच गत फागुन २५ मा सम्झौता भएको थियो । फागनु २२ मा सर्बोच्चले काम रोक्ने अल्पकालिन आदेशको जानकारी पठाए तापनि फागुन २६ मा आयोजना कार्यालय पथलैयामा उक्त जानकारी आएको थियो । त्योभन्दा एक दिन अघि आयोजना कार्यालय र ठेकेदारवीच काम शुरु गर्ने सम्झौता भइसकेको थियो ।ठेकेदारले साइटमा कालेपत्रे गर्ने निर्माण समाग्री पनि खसालिसकेका थियो ।तर अदालतको ओदशले काम ठप्प छ ।

आयोजना प्रमुख साहले इबिडिङमार्फत पारदर्शी रुपमा ठेक्का भएकाले कुनै प्रकारको मिलेमतो नभएको दावी गरे । अबको एक महिनापछि बर्खा शुरू हुने भएकाले सर्वोच्चमा विचाराधीन रहेको मुद्दा लम्बिएमा यो वर्ष काम नहुने सम्भावना बढेको आयोजनाले बताएको छ । अदालतले यही चैत २१ गतेका लागि पेशी तोकेको छ ।

प्रवेशद्वार व्यवस्थित भएन

वीरगंज नाका नेपालकै प्रमुख प्रवेशद्वार हो,भारतबाट भित्रिने जोकोहीले नाकाको सडक, सरसफाई र सुन्दरता हेरेरै नेपाल कत्तिको व्यवस्थित छ र यहाँको जीवनस्तर कस्तो होला भन्ने अनुमान लगाउँछ । तर, यो नाकाबाट भित्रिने बित्तिकै जसको पनि यसमा सकारात्मक धरणा बन्न सक्दैन ।

अरु केहीले होइन, प्रवेशद्वारको जीर्ण र धराप सडकका कारण नेपालकै छवि बिगार्ने काम भइरहेको छ । भारतको रक्सौल शहरबाट छिर्नेबित्तिकै मितेरी पुलदेखि रजतजयन्ति चोकसम्मको करीब डेढ किलोमीटर बाटोको पिच भत्किएर खाल्डैखाल्डा भएको छ।

धुलाम्मे सडक र अस्तव्यस्त सवारी आवगमनले सर्वसाधारणलाई चरम सास्ती र दुर्घटनाको जोखिम बढाएको छ।