पुराना जिन्स र प्लास्टिक बटुलेर इको फ्रेन्ड्ली सामान बनाउँदै सम्सारा, फोहोरबाटै मोहर

बिजमाण्डू
२०७८ चैत्र १६ गते १२:०४ | Mar 30, 2022
पुराना जिन्स र प्लास्टिक बटुलेर इको फ्रेन्ड्ली सामान बनाउँदै सम्सारा, फोहोरबाटै मोहर

फरक फरक कलेजबाट फरक फरक विषयमा ब्याचलर सकेका अजित भट्ट, कुशल अछामी र विजय केसी सन् २०१७ मा काठमाडौं विश्वविद्यालय पुगेर जोडिए। अजितले सोसल वर्क, कुशलले बिजनेस एड्मिनिस्ट्रेशन र इन्भाइरोन्मेन्टल इन्जिनियरिङमा स्नातक गरेका विजयले केयूको स्कूल अफ आर्ट्सको मास्टर इन डेभलपमेन्ट स्टडिज कार्यक्रम सँगै ज्वाइन गरे।

Tata
GBIME
Nepal Life

त्यहाँ, तेस्रो सेमेस्टरमा अध्ययन गर्दा, उद्यमशीलताको कक्षामा, सबै विद्यार्थीहरूलाई समूहमा विभाजन गरिएको थियो र प्रत्येक समूहले व्यवसायको रूपमा विकास गर्न सक्ने युनिक आइडियामा काम गरेर बिजनेस प्रोजेक्ट बुझाउनुपर्ने थियो। अजित, कुशल र विजय साथसाथै १० भन्दा बढी अन्य विद्यार्थीहरु एकै समूहमा परे। उनीहरुले सबै मिलेर ‘फोहोरबाट’ कला सिर्जना गर्ने आइडियामा प्रोजेक्ट गर्ने निर्णय गरे, जसलाई उनीहरूले ‘वेस्ट टु आर्ट’ नाम दिए।

महिनौंपछि, यो कलेज असाइन्मेन्टले नै सम्सारा क्रिएसन जन्मायो। सम्सारा क्रियसन यस्तो एक सामाजिक उद्यम हो, जसले अपसाइकलिङ र नेचर बेस्ड सलुसन्समार्फत इनोभेटिभ इको फ्रेन्ड्ली सामानहरु उत्पादन गर्दै आएको छ।

क्लास प्रोजेक्टदेखि सामाजिक उद्यमसम्मको यात्रा

प्रोजेक्टका लागि ठ्याक्कै के गर्ने भनेर उनीहरूले विभिन्न विषयमा छलफल गरे। अजित त्यति बेला दिगो विकास लक्ष्यहरु (एसडीजी) हबको संयोजकको रूपमा आबद्ध थिए। साथै कुशल र अजितले दोस्रो सेमेस्टरमा वेस्ट अर्थात फोहोरमा रिसर्च गरेका थिए भने विजय इन्भाइरोन्मेन्टल इन्जिनियर भएकाले यसको बारेमा राम्रो जानकारी राख्थे।

'वेस्टमा रिसर्च गर्दा खासै डाटा भेटिन्नथ्यो, भेटिए पनि धेरै पुराना डाटाहरू भेटिन्थे। त्यहि ग्यापका कारण हामीले यसबारे रिसर्च गरेका थियौं,' कुशल भन्छन्।

उक्त प्रोजेक्टमा अजित, कुशल र विजय साथै अन्य उस्तै ध्येय बोकेका साथीहरू मिलेर काम गरिरहेका थिए। अजित सम्झन्छन्, 'हामी क्यान्टिनको एउटा कुनामा बसेर कलेज असाइन्मेन्टका लागि सस्टेनेबिलिटीसँग सम्बन्धित परियोजनाहरूमा छलफल गर्थ्यौं। र, हामीले काठमाडौं उपत्यकाको अव्यवस्थित फोहोर व्यवस्थापन, प्राय: सोलिड वेस्ट र फोहोर उत्पादन गर्ने समस्या समाधानका लागि काम गर्ने निर्णय गर्‍यौं।'

फलस्वरूप, उनीहरूले पुरै सेमेस्टरमा ती विषयहरूमा अध्ययन गरे जसले उनीहरूलाई 'वेस्ट टु आर्ट' को आइडियामा काम गर्न सकिन्छ भन्ने भान भयो। वेस्ट टु आर्ट अन्तर्गत टेक्सटाइल तथा प्लास्टिक वेस्टलाई पुनर्प्रयोग गरी विभिन्न वातावरणमैत्री कलात्मक प्रडक्टहरूमा परिणत गर्न सकिन्छ।

कुशलका अनुसार, प्रोजेक्ट सकिएको पनि तीन-चार महिना भइसकेको थियो। त्यो आइडिया प्रोजेक्टको प्रेजेन्टेसन सँगसँगै सेलाइसकेको थियो। 'पछि विजयले (अहिले कम्पनीका प्रमुख रणनीति अधिकृत) यसलाई विस्तार गरौं, यसमा अझै केहि गर्न सकिन्छ भनेर भन्यो। त्यसैले हामीले यसमै आधारित भएर छलफल गर्दै गयौं, तर यसमा आबद्ध हुन चाहने साथीहरू घट्दै गए तापनि हाम्रो आइडियाले झन् झन् आकार लिँदै गयो।'- कुशलले सुनाए।

यसैबीच त्यही विश्वविद्यालयमा ह्युमन एण्ड नेचुरल रिसोर्स स्टडिजमा स्नातकोत्तर गर्दै गरेकी तनोशी राईको उस्तै रुचि भएकाले उनी पनि यसमा जोडिइन्। कुशल भन्छन‍्, 'अहिले कम्पनीमा प्रोडक्ट डिजाइनिङ सम्हालिरहेकी तनोशीलाई अपसाइकलिङमा निकै रुचि थियो। त्यस माथि पनि अपसाइकलिङको ट्रेन्ड नेपालमा निकै कम थियो। डेटाहरू पनि खासै थिएन। जति थियो त्यसबाटै रिसर्च गर्न थाल्यौं।'

अजित थप्छन्, 'यो आइडिया परिष्कृत गर्दै गयौं र टेक्सटाइल वेस्टलाई विशेष गरी जिन्सलाई अपसाइकलिङ गरेर झोला, टोपी जस्ता विभिन्न सामाग्रीहरू बनाउने आइडियामा काम गर्ने थाल्यौं।'

यसका लागि उनीहरुले सामूहिक रुपमा ५४ हजार रुपैयाँ मात्र लगानी गरे।

कठिन सुरुआतपछिको सफलता

उनीहरूले अगस्ट २०१९ मा डीएभी कलेजमा आयोजित बिजफेस्टमा आफ्नो उत्पादनहरूको बजार परीक्षण गरेका थिए। कुशल भन्छन्, 'त्यहाँ हामीले हाम्रो सामानहरू बेचेनौं, बरु हाम्रो उत्पादनहरुका बारेमा प्रतिक्रिया लियौं। त्यसपछि हामीले हाम्रो परिवार र साथी सर्कलमार्फत प्रयोग गरिएको जिन्स संकलन गर्न थाल्यौं।'

लगत्तै सम्सारा क्रिएसनले प्रयोग गरिएको जिन्सबाट झोला, टोपी जस्ता विभिन्न सामाग्रीहरू बनाउन स्थानीय कालीगढ खोज्न थाल्यो। अजित भन्छन्,'हामीलाई त्यस्ता कालीगढहरु भेट्टाउन निकै गाह्रो भयो, जसले जिन्सका कपडाहरुको काम गर्न सकुन्। जिन्समा स्टिच गर्न गाह्रो हुन्छ। जसोतसो, हामीले थानकोटमा दुईजना कालीगढ भेट्टायौं जसले हाम्रा उत्पादनहरू बनाउन थाले।'

तर धेरै नेपालीहरूमा पुराना कपडाबाट बनेका उत्पादनहरू प्रयोग गर्ने हिचकिचाहट उनीहरूको लागि प्रमुख बाधा बन्यो। 'हामीले इनभाइरोन्मेन्टल सस्टेनेबिलिटी र अपसाइकलिङ सम्बन्धी मानिसहरूमा चेतनाको निकै कमी पनि महसुस गर्‍यौं। यसैबीच, हामीले हाम्रो बिजनेस डेभलपमेन्टमा धेरै काम गर्न आवश्यक छ भनेर पनि महसुस गर्‍यौं।'

उही समयमा कोभिड-१९ को महामारीले विश्वलाई आक्रान्त पार्‍यो। नेपाल पनि यसबाट अछुतो रहेन। बिक्री पनि न्यून थियो। त्यसपछि, उनीहरूले विभिन्न इन्क्युबेसन कार्यक्रमहरूमा भाग लिन थाले। उनीहरू उत्पादन प्रोटोटाइपमा र बिजनेस डेभलपमेटमा पनि काम गर्न थाले। यसै क्रममा, उनीहरूले ब्लिङ्क भेन्चर्सद्वारा आयोजित उद्यमी युवा च्यालेन्ज २०२० मा पनि भाग लिए र २५ हजार रुपैयाँ अनुदान पनि हात पारे। जसले उनीहरूमा आत्मबल थपियो।

कम्पनीका संस्थापक एवम् प्रमुख प्रोजेक्ट अफिसर अजित भन्छन्- 'लकडाउनको बेलामा सेल्स एकदमै न्यून थियो। त्यसैले हामीले विभिन्न हामीले सेवा नेपाल लगायत विभिन्न एनजीओ/आईएनजीओसँग सहकार्य गरी वित्तीय र डिजिटल साक्षरता प्रवर्द्धनमा काम पनि गर्‍यौं।'

कम्पनीका प्रमुख कार्यकारी अधिकारी कुशलका अनुसार सन् २०२१ को सुरुआतमा बजारको आवश्यकता बुझेर उनीहरूले आफ्नो उत्पादनको लाइन विस्तार गर्दै प्रकृतिमा आधारित सामानबाट बनेका उत्पादनहरू जस्तै हेम्प ब्याग, टोपी, ढाका टाई, इम्ब्रोइडरी हुप आर्ट, स्टोरेज बास्केट आदि पनि भित्र्याए। गत वर्ष नोभेम्बरमा उनीहरूले आफ्नै अफिस र डिसेम्बरमा वेबसाइट पनि लन्च गरे।

अजितका अनुसार बिस्तारै सम्साराका उत्पादनहरुको बिक्री बढ्दै गयो र उनीहरूको लगानी पनि उठ्यो। अहिले उनीहरुसँग काठमाडौं र ललितपुरका गरी २० भन्दा बढी स्थानीय कालिगढहरु आबद्ध छन्। हाल उनीहरुले खालीसिसी र डोको रिसाइकलर्सबाट वेस्ट संकलन गर्ने गरेका छन्।

सम्सारा क्रियसनले आफ्नो अफिसमै आएर खरिद गर्दा वा खरिदकर्ताले प्रयोग गरिएको जिन्स डोनेट गर्दा प्रत्येक सामानमा १० प्रतिशत छुट पनि दिने गरेको छ।

मौसम अनुसारका कपडा ल्याउने तयारी

सम्सारा क्रियसनले जिन्स, प्लास्टिकका बोतल र प्लास्टिक संकलन गरी उपभोक्ताको रुचिअनुसार डिजाइनलाई समेटेर टोपी, झोला, पिर्का लगायतका सामाग्री बनाउने गर्छन्। उनीहरूले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरी बृहत रुपमा सचेतना कार्यक्रम समेत संचालन गर्दै आएका छन्।

अहिलेसम्म सम्सारा क्रियसन्सले पाँच सय ५० रुपैयाँदेखि १८ सय ५० रुपैयाँसम्मका २० भन्दा धेरै प्रकारका एसेसरिज र घर सजावटका सामाग्री उत्पादन गर्दै उपलब्ध गराइरहेको छ। सम्सारा क्रियसन्सको औषत मासिक बिक्री एक लाख रुपैयाँ भएको कुशल बताउँछन्।

कम्पनीले सामान्यतया यसको इन्स्टाग्राम पेज र दराज, भोटाहिटी डट कम जस्ता इ-कमर्स साइटमार्फत आफ्ना उत्पादनहरू बेच्छ। सम्सारा क्रियसनको उत्पादनहरु काठमाडौंदेखि चितवन, बुटवल, पोखरा र झापासम्म पुगिसकेको छ।

कुशल भन्छन्, 'हामीले अब मौसम अनुसारका कपडा, बीटुबी व्यापारका लागि इको-फ्रेन्डली गिफ्ट प्याकेजहरू पनि ल्याउने तयारीमा छौं। यस्तै व्यापक रुपमा जिन्स वेस्ट संकलनको योजनामा पनि काम गर्दैछौं।'