‘स्मार्टफोन’को युगमा ‘डम्बफोन’तर्फ किन फर्किरहेका छन् मानिसहरु?

बिजमाण्डू
२०७८ चैत्र १५ गते ११:०६ | Mar 29, 2022
‘स्मार्टफोन’को युगमा ‘डम्बफोन’तर्फ किन फर्किरहेका छन् मानिसहरु?

नयाँ पुस्तामा स्मार्टफोनको क्रेज व्यापक छ। अहिले किशोरकिशोरी पनि स्मार्टफोन बोक्छन्। तर, १७ वर्षीया रोबिन वेस्ट एक अपवाद हुन्। आफ्ना साथीहरुको बीचमा उनीमात्रै एक्ली हुन्, जोसँग स्मार्टफोन छैन।

Tata
GBIME
Nepal Life

टिकटक र इन्स्टाग्रामजस्ता एपहरुमा दिनभर झुलेर बस्नुको सट्टा उनी ‘डम्बफोन’ भनिने पुरानो मोडलको फोन चलाउँछिन्।

यी फोनहरु खासमा ‘ह्यान्डसेट’ वा ‘फिचर फोन’हरू हुन्, जसमा नयाँ स्मार्टफोनको तुलनामा निकै सीमित कार्यक्षमता हुन्छ। यो फोनबाट सामान्यतया कल गर्न र उठाउन तथा एसएमएस गर्न मात्रै सकिन्छ। यस्ता केही फोनहरुमा रेडियो सुन्ने, साधारण फोटोहरू लिने फिचर हुन्छ तर निश्चित रूपमा इन्टरनेट वा एपहरू भने हुँदैन।

सन् १९९० को दशक ताका किन्न पाइने पहिलो पटक आएका ह्यान्डसेटहरू जस्तै हुन् यी डिभाइसहरु।

वेस्टले दुई वर्ष पहिले आफ्नो पुरानो स्मार्टफोन छोड्ने निर्णय केही क्षणको लागि प्रेरणा मात्रै थियो। सेकेन्ड-ह्यान्ड पसलमा आफ्नो फोनको विकल्प खोज्दै गर्दा उनी पसलेबाट निकै सस्तो मूल्यको ‘ब्रिक फोन’को प्रलोभनमा परिन्।

उनको हालको फोन फ्रान्सेली कम्पनी ‘मोबीवायर’ को हो, जसको मूल्य ८ युरो (करिब १ हजार रुपैयाँ) मात्रै हो। र, यसमा स्मार्टफोनको जस्तो कुनै कार्यक्षमता नभएकोले पनि उनले महँगो मासिक डाटाको लागि चिन्ता लिनुपरेको छैन।

‘एउटा स्मार्टफोनले मेरो जीवनलाई कति क्षति गरिरहेको रहेछ भन्ने मैले एउटा ब्रिक फोन नकिन्दासम्म पत्तै पाएकी रहेनछु,’ उनी भन्छिन्, ‘त्यसमा धेरै सोसल मिडिया एपहरू थिए, र म सधैं मेरो फोनमा भुल्ने गरेकाले पनि धेरै कामहरु प्रभावित भएका थिए।’

लण्डनवासी वेस्टको अब छिट्टै अर्को स्मार्टफोन किन्ने कुनै योजना छैन। भन्छिन्, ‘म मेरो ब्रिक फोनसँग खुसी छु, यसले मलाई सीमित गरिरहेको छ जस्तो कत्ति पनि लाग्दैन। म पक्कै पनि अझ बढी सक्रिय भएकी छु।’

स्मार्टफोन आएपछि डम्बफोनहरू विस्थापित हुने सोचिएको थियो। तर, अझै पनि डम्बफोनहरूको बिक्री जारी नै छ। सफ्टवेयर कम्पनी ‘सेमरश’को एक रिपोर्टअनुसार २०१८ देखि २०२१ सम्म गुगलमा यस्ता फोनबारे खोजी गर्नेहरुको संख्या ८९ प्रतिशतले बढेको छ।

डम्बफोन बिक्रीको तथ्यांक आउन गाह्रो हुने भए पनि एक रिपोर्टका अनुसार गत वर्ष यसको विश्वव्यापी खरिद एक अर्ब युनिटको हाराहारी थियो। जुन २०१९ मा ४० करोड मात्रै थियो। गत वर्ष विश्वव्यापी रूपमा १४ अर्ब स्मार्टफोन बिक्री भएका थिए। २०२० मा यसको बिक्रीमा १२.५ प्रतिशतले ​​गिरावट आएको थियो।

यस्तोमा एकाउन्टेन्सी समूह ‘डेलोइट’ले २०२१ मा गरेको अध्ययनले बेलायतमा १० जना मोबाइल फोन प्रयोगकर्तामध्ये एक जनासँग डम्बफोन भएको देखाएको थियो।

‘यो फेसन या नोस्टाल्जियाजस्तो देखिएको छ, र टिकटकका भिडियोहरूमा यो फोन देखा पर्नुले पनि डम्बफोनको पुनरुत्थानमा भूमिका खेलेको छ,’ मूल्य तुलना गर्ने वेबसाइट यूस्वीच डट कमका मोबाइल विशेषज्ञ अर्नेस्ट डोकु भन्छन्, ‘हामीमध्ये धेरैको पहिलो मोबाइल फोनको रूपमा डम्बफोन नै थियो, त्यसैले पनि यी क्लासिक ह्यान्डसेटहरूप्रति हामीले नोस्टाल्जिक महसुस गर्नु स्वाभाविक हो।’

सन् २००० ताका रिलिज भएको नोकियाको ३३१० मोडलको ह्यान्डसेट २०१७ मा रिलन्च हुँदा धेरै बिक्री हुने फोनहरुमध्येको एक बनेको थियो। यसले पनि पुनरुत्थानमा निकै सहयोग गरेको डोकु बताउँछन्। भन्छन्, ‘नोकियाले ३३१० मोडललाई 'हाई स्पेक' मोबाइलहरूले भरिएको दुनियाँमा सस्तो विकल्पको रूपमा बजारमा ल्याएको थियो।’

यो सत्य हो कि प्रदर्शन वा कार्यक्षमताको हकमा नयाँ प्रिमियम एप्पल तथा सामसङका मोडेलहरू र डम्बफोनबीच कुनै तुलना छैन। तर, ‘ब्याट्री लाइफ’ र स्थायित्वको हकमा भने डम्बफोनले स्मार्टफोनलाई उछिन्ने उनको तर्क छ।

पाँच वर्षअघि मनोवैज्ञानिक प्रज्मेक ओलेज्निकजाकले आफ्नो स्मार्टफोनको सट्टामा नोकिया ३३१० चलाउन सुरु गरेका थिए। लामो समयसम्म टिक्ने ब्याट्रीका कारण सुरुवातमा उनले यो फोन चलाउन थालेका थिए। तर, यसका अन्य धेरै फाइदाहरू हुन्छन् भन्ने उनलाई विस्तारै थाहा हुँदै गयो।

‘पहिले म सधैं फोनमा नै टाँसिइरहेको हुन्थेँ। कहिले फेसबुक ब्राउज गर्ने या समाचारहरू अथवा अन्य तथ्यहरू जुन मलाई जान्न आवश्यक थिएन,’ उनी भन्छन्।

‘अहिले मसँग मेरो परिवार र मेरो लागि धेरै समय छ। एउटा ठूलो फाइदा भनेको लाइक, सेयर, कमेन्ट, वा मेरो निजी जीवनबारे अरू मानिसहरूलाई वर्णन गर्ने लत छैन। अहिले मसँग धेरै गोपनीयता छ,’ उनले थपे।

यद्यपि, पोल्याण्डको शहर लोड्जका बासिन्दा ओलेज्निकजाक सुरुमा फोन परिवर्तन गर्न निकै चुनौतीपूर्ण हुने स्वीकार्छन्। भन्छन्, ‘पहिले म यात्रा गर्दा स्मार्टफोनमै बस अनि रेष्टुरेन्टहरू जस्ता सबै कुराहरूबारे खोज्थेँ। अब त्यो असम्भव छ, त्यसैले पनि मैले ती सबै कुराहरू पहिले नै घरमै गर्न सिकेको छु। मलाई यसको बानी पनि परिसकेको छ।’

न्यूयोर्कको ‘लाइट फोन’ पनि एक डम्बफोन निर्माता कम्पनी हो। उसले उत्पादन गर्ने फोनहरु अलि बढी ‘स्मार्ट’ हुन्छन्। उसका ह्यान्डसेटहरूमा प्रयोगकर्ताहरूले संगीत र पोडकास्टहरू सुन्न तथा ब्लुटुथमार्फत हेडफोनमा कनेक्ट गर्न सक्छन्। यद्यपि, कम्पनीले आफ्नो फोनहरुमा ‘सामाजिक सञ्जाल, क्लिकबेट न्युज, इमेल, इन्टरनेट ब्राउजर, वा अन्य कुनै चिन्ता उत्पन्न गर्ने इन्फिनिट फिड’ कहिल्यै नराख्ने वाचा नै गरेको छ।

वित्तीय कार्यसम्पादनका लागि वर्ष २०२१ सबैभन्दा सफल रहेको कम्पनीले बताएको छ। २०२० को तुलनामा गतवर्ष बिक्रीमा १५० प्रतिशतले वृद्धि भएको ‘लाइट फोन’ले बताएको छ। उसका ह्यान्डसेटहरू तुलनात्मक रुपमा महँगो हुने भए पनि बिक्री बढिरहेको कम्पनीले बताएको छ। ‘लाइट फोन’को मूल्य ९९ डलर (करिब १२ हजार रुपैयाँ)बाट सुरु हुन्छ।

सुरुवातमा मानिसहरुले अतिरिक्त फोनको रूपमा प्रयोग गरुन् भनेर यो डिभाइसहरु बनाइएको ‘लाइट फोन’का सह-संस्थापक काइवेई ट्याङ बताउँछन्। जस्तै, सप्ताहन्तमा आफ्नो स्मार्टफोनबाट ब्रेक लिन चाहने मानिसहरूको लागि। तर, अहिले कम्पनीका आधा ग्राहकहरूले यसलाई आफ्नो मुख्य डिभाइसकै रूपमा प्रयोग गर्ने गरेको उनले बताए।

‘यदि एलियनहरू पृथ्वीमा आए भने उनीहरूले मोबाइल फोनलाई मानिसलाई नियन्त्रण गर्ने उत्कृष्ट प्रजाति रहेछ भन्ने ठान्नेछन्,’ उनी भन्छन्, ‘र, यो प्रवृत्ति रोकिनेवाला छैन, अवस्था अझ खराब हुँदै गइरहेको छ। उपभोक्ताहरूले केही गलत भइरहेको महसुस गरिरहेका छन्, र हामी एउटा विकल्पको रुपमा उभिएका छौं।’

आफ्नो कम्पनीका मुख्य ग्राहकहरू २५ देखि ३५ वर्ष उमेर समूहका हुँदा ट्याङलाई अचम्म लागेको थियो। उनले आफ्ना ग्राहकहरू अलि पाका उमेरका हुने अपेक्षा गरेका थिए।

हामीमध्ये केही सरल मोबाइल फोन बोक्न खोजिरहेको कुरालाई अक्सफोर्ड विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्सकी वरिष्ठ अनुसन्धान फेलोसमेत रहेकी प्रविधि विशेषज्ञ प्रोफेसर स्यान्ड्रा वाचरले बुझेकी छन्।

‘आजकल कल गर्ने र छोटा मेसेजहरू पठाउने स्मार्टफोनका साइड फिचर हुन् भनेर जोकोहीले पनि यथोचित तर्क गर्न सक्छ,’ उनी भन्छिन्, ‘अहिले स्मार्टफोन इन्टरटेन्मेन्ट सेन्टर बनेको छ, यो समाचार स्रोत, नेभिगेसन सिस्टम, डायरी, शब्दकोश र पैसा बोक्ने वालेट पनि बनेको छ।’

स्मार्टफोनहरूले नोटिफिकेसन, अपडेट अनि ब्रेकिङ न्युजहरूमार्फत सधैं ‘तपाईको ध्यान खिच्ने प्रयास गरिरहने’ वाचर बताउँछिन्। यसबाट नियमित काममा बाधा पुग्ने उनको भनाइ छ। भन्छिन्, ‘यसले तपाईँलाई चिन्तित बनाउन सक्छ, विचलित पनि बनाउन सक्छ। यो नियन्त्रण बाहिर जान पनि सक्छ।’

प्रोफेसर वाचर थप्छिन् ‘अहिले हामीमध्ये केही सरल प्रविधितर्फ सर्न खोजिरहेको कुरा अर्थपूर्ण नै छ र सरल समयमा फिर्ता हुने हाम्रो चाहनालाई डम्बफोनहरूले सहज पार्नेछन् भन्ने मलाई लाग्छ। यसले कुनै पनि काममा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न र उद्देश्यपूर्ण रूपमा त्यसमा लाग्न थप समय दिनेछ। यसले मानिसहरूलाई शान्त पनि पार्न सक्छ। धेरै रोजाइहरु हुँदा पनि मानिसहरुमा दुःख र आक्रोश सिर्जना हुन सक्ने अध्ययनहरूले देखाएको छ।’

यता, लण्डनमा धेरै मानिसहरू उनको मोबाइल छनोटको निर्णयले छक्क परेको रोबिन सुनाउँछिन्। ‘सबैले यो केवल एक अस्थायी कुरा हो भन्ने सोच्छन्। उनीहरू सोध्छन्: 'तिमीले अब कहिले स्मार्टफोन लिन्छौ त? यसै हप्ता लिन्छौ?'

बीबीसीमा प्रकाशित सामग्रीको भावनुवाद।