पत्रकारसँग क्षणिक क्राइसिस भनेका कुलमानले उद्योगीसँग भने- पिक आवरमा कारखाना नचलाउनु

बिजमाण्डू
२०७८ चैत्र १० गते १५:५३ | Mar 24, 2022
पत्रकारसँग क्षणिक क्राइसिस भनेका कुलमानले उद्योगीसँग भने- पिक आवरमा कारखाना नचलाउनु

काठमाडौं। पत्रकार सम्मेलनमा अहिलेको लोडसेडिङलाई 'क्षणिक क्राइसिस' भनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुलाई भने 'संकटपूर्ण अवस्था आएकाले पिक आवरमा कारखाना नचलाउन' भनेका छन्।

Tata
GBIME
Nepal Life

भारतले बिजुली नदिएको र दिए पनि महँगोमा दिएको भन्दै प्राधिकरणले औद्योगिक करिडोरहरुमा लोडसेडिङ सुरु गरेको थियो। लोडसेडिङ अन्त्य गरेर 'वाहवाही' कमाएका कुलमानले आफ्नो दोस्रो कार्यकालमा 'लोडसेडिङ' गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

लोडसेडिङबाट उद्योगी मात्र नभइ सर्वसाधारण पनि त्रसित भएपछि कुलमानले बिहीबार पत्रकार सम्मेलन गरेका थिए। पत्रकारहरुसँग उनले 'अहिले हिउँदमा नेपाललाई आवश्यक विद्युतको ३० प्रतिशत माग भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको र अबको एकदेखि डेढ महिनामा समस्या समाधान हुने' बताएका हुन्।

बिहीबार नै उनले उद्योगीसँग कुराकानी गरेका थिए। उनले ऊर्जा व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उद्योगीलाई बोलाएर केही समय लोडसेडिङ हुन सक्ने बताएका थिए।

बिहीबार बिहान ११ बजे उद्योगीलाई बोलाएर लोडसेडिङ हुन सक्ने बताएका घिसिङले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर महँङ्गोमा नै किनेर भए पनि सबै उद्योगहरुलाई विद्युत दिने दाबी गरे।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इन्जिनियर ध्रुव थापाका अनुसार, घिसिङले विद्युत महङ्गो भएकाले व्यवस्थापन गर्न समस्या भएको बताएका थिए। उनले विद्युतको मुल्य बढाउने प्रस्ताव समेत गरेका थिए।

'मुल्य बढाए थेग्नै नसक्ने हामीले बतायौं। त्यसका लागि पिक आवरमा आधाभन्दा उद्योग चलाउँछौ भन्यौं,' उनले भने,'बेलुकी ६ बजेदेखि १० बजेसम्म आधा लोडमा अत्यावश्यक उद्योगहरु मात्रै चलाउँछौं भनेका छौं।' यो हप्ता आधा लोडमा उद्योग चलाउने र अर्को हप्ता पुन: बैठक बस्ने निर्णय भएको छ। 

घिसिङले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल सिमेन्ट उत्पादक संघ र नेपाल रोलिङ मिल्स एशोसिएसनका प्रतिनिधिलाई छलफलका लागि बोलाएर ऊर्जा संकटका बारेमा उद्योगीसँग छलफल गरेका थिए। 

छलफलमा सहभागि एक उद्योगीका अनुसार, कुलमानले पिकआवरमा उद्योग नचलाउन भन्दै चलाउने भए महँगोमा ल्याएर त्यसैअनुसार बिल पनि महँगो आउने बताएका थिए।

नेपालको स्थानीय माग पुरा गर्नका लागि भारतबाट ३० देखि ४० प्रतिशतसम्म आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ। जडित क्षमता २१ सय मेगावाट पुगे पनि हिउँदमा ३२ देखि ४० प्रतिशत मात्रै उत्पादन हुने गर्छ। जसका कारण अहिले स्थानीय पिक डिमाण्ड करिब १६५० मेगावाट  धान्नका लागि करिब चार सय मेगावाटसम्म विद्युत भारतबाट आयात हुने गरेको छ। 

भारतमा कोइलाबाट चल्ने थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको हिस्सा ठूलो छ। रुस–युक्रेन युद्धका कारण कोइलाको भाउ आकासिएको छ। नेपालले कोइलाबाट उत्पादन भएको विद्युत मात्रै आयात गर्न पाउँछ। सोही कारण विद्युतको मुल्य बढेको छ।

प्राधिकरणले विद्युतको मुल्य बढेको भन्दै भारतबाट आयात रोकेपछि उद्योगहरुमा मंगलबारदेखि लोडसेडिङ सुरु भएको थियो। अहिलेसम्म पनि उक्त लोडसेडिङ अन्त्य भएको छैन। यद्यपि, आज राती १२ बजेबाट सबै उद्योगहरुले विद्युत पाउने घिसिङले पत्रकार सम्मेलनमार्फत दाबी गरेका छन्। 

प्राधिकरणले सात हजार मेगावाट आवर विद्युत खरिद गर्न ३८ रुपैयाँमा बिड हालेको छ। अधिकतममा बिड गरेका कारण विद्युत पाउने उच्च सम्भावना रहेको बताइएको छ। 

घिसिङका अनुसार यो लोडसेडिङ नभइ तत्काल भएको अल्‍पकालीन अभाव मात्रै हो। 'केही दिनदेखि विद्युतको क्राइसिस भैरहेको छ। तर यो केही समयको लागि मात्र हो। बाहिर हल्ला भएजस्तो लोडसेडिङ छैन, हुँदैन,' उनले भने,'महङ्गोमा किनेर भए पनि व्यवस्थापन गर्छौ।'

उनले एक/डेढ महिनामा ड्राइ सिजन सकिने र ५ सय मेगावाट हाराहारी सरप्लस हुने अवस्था पुग्ने बताए। साथै, आगामी असारभित्रमा थप दुई सय मेगावाट बराबरका नयाँ परियोजना थपिने पनि उनले बताएका छन्। 

घिसिङका अनुसार, अहिले प्राधिकरणलाई पछिल्लो दरमा बिजुली किन्दा दिनकै करिब २२ करोड रुपैयाँ अतिरिक्त भार थपिएको छ। महँगोमा किनेर सस्तोमा बेच्नु परेका कारण अतिरिक्त भार थपिएको हो। अबको एक महिना विद्युत खरिदको औसत दर २० भारु पुगे प्राधिकरणलाई अतिरिक्त भार ८ अर्ब रुपैयाँ थपिने प्रक्षेपण प्राधिकरणको छ। 

यदि अहिलेको भन्दा विद्युतको आयात मुल्य बढे प्राधिकरणले थेग्न नसक्ने उनले बताए। यसका लागि सरकारसँग समेत सहयोग मागिसकेको उनको भनाइ छ।