सफ्टवेयर डेभलपर अधिपको उतारचढाव, भुइँचालोले शून्यमा झार्‍यो, कोभिडले उठायो

बिजमाण्डू
२०७८ चैत्र १० गते १९:०० | Mar 24, 2022
सफ्टवेयर डेभलपर अधिपको उतारचढाव, भुइँचालोले शून्यमा झार्‍यो, कोभिडले उठायो

कोभिड-१९ महामारीको समयमा शिक्षा क्षेत्र अत्यधिक प्रभावित क्षेत्रहरू मध्ये एक बन्यो। लकडाउनका कारण करिब १० महिनाभन्दा धेरै समयसम्म विद्यालय, कलेज र विश्वविद्यालयहरूमा भौतिक कक्षा बन्द भए। त्यस संकटको घडीमा भौतिक कक्षाका विकल्पमा व्यापक रूपमा अनलाइन कक्षाहरू सञ्चालन भयो। एक हिसाबले नेपाली शिक्षा क्षेत्र प्राविधिक रूपान्तरणतर्फ मोडियो।

Tata
GBIME
Nepal Life

कोभिड-१९ महामारी भन्दा अघि, कम्तिमा पनि धेरै नेपालीहरू अनलाइन कक्षा र ई-शिक्षाको स्कोप र व्यावहारिकताको बारेमा कम जानकार थिए। तर, ई-शिक्षामा सम्भावना देखेर करिब आठ वर्षअघि नै अधिप पौडेलले साथीसँग मिलेर ई लर्निङ वेबसाइट कुल ल्याब्स लञ्च गरिसकेका थिए जसको प्रासंगिकता र उपयोगितालाई कोभिड-१९ महामारीले पुष्टि गर्‍यो।

पाठ्य सामाग्रीहरूको डिजिटाइजेसन गर्ने व्यवसाय

सन् २०१३ मा कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेपछि अधिपले केही समय एउटा संस्थामा कम्प्युटर अपरेटरको रुपमा इन्टर्नशिप गरे। त्यति नै बेला उनको काकाको छोराले उनलाई एउटा यस्तो व्यक्तिसँग भेटाए जसले कन्टेन्टहरूलाई इन्टरनेटमा राखेर विज्ञापनबाट आम्दानी गरेर कम्पनी चलाउन सकिन्छ भन्ने आइडिया पिच गरिरहेका थिए ।

अधिप भन्छन्- 'उहाँको कुराले मलाई कहाँनेर छोयो भन्दा म स्नातक पढ्दै गर्दा इन्टरनेटमा आफूले खोजेको कन्टेन्टहरू भेटाउन एकदम नै गाह्रो पर्थ्यो। त्यसैले मैले इन्जिनियरिङको नोटहरू डिजिटाइज गरेर गरेर काम गर्छु भन्ने सोचेँ। स्नातक गर्दै गर्दा मैले आउटसोर्सिङको काम गर्छु सफ्टवेयर बनाउने कम्पनी खोल्ने भनेर सोचिरहेको थिएँ।'

तर पछि उनले विद्यालय तहबाट यो काम सुरु गरे। अधिप सम्झन्छन्-'स्नातक तहको कन्टेन्ट त पाउन गाह्रो थियो भन्ने विद्यालय तहको कन्टेन्ट इन्टरनेटमा हुने त कुनै ठाउँ नै थिएन। त्यो समय जति पनि ई-कक्षाहरूमा काम गर्ने कम्पनीहरू थिए, त्यो धेरै नै महँगो थियो। म आफैं पनि सफ्टवेयर इन्जिनियर भएको कारण यतिको महँगो पर्दैन भन्ने त थाहा थियो। तर फेरि कन्टेन्ट चाहिँ महँगो कुरा हो भन्ने ज्ञात थियो।'

सोहि अनुसार उनीहरूले करिब तीन लाख रुपैयाँ लगानी गरेर सन् २०१४ को अप्रिलमा कुल ल्याब्स लञ्च गरे। सुरुमा उनीहरुले कक्षा १० को विज्ञान विषयको कन्टेन्टहरूबाट सुरु गरेका थिए।

उनी भन्छन्-'भिडियोहरु बनाउन महँगो पर्ने हुँदा हामीले युट्युबबाट भिडियोहरू क्युरेट गर्‍यो। अहिले जुन ई-शिक्षाको बज छ त्यो समयमा यसको सम्भावनामा धेरै प्रश्नहरू उठ्थ्यो। हामीले २०-२२ जना शिक्षकहरूलाई भेट्यौं। सामान्यतया सबैले यो आइडियाको प्रशंसा गरे तर कोही पनि यसको हिस्सा बन्न चाहिरहेका थिएनन्।'

त्यसपछि उनी आफू पढेको विद्यालय, काठमाडौं इन्टरनेसनल स्कूल गए र प्रिन्सिपललाई भेटे। 'उहाँले मलाई सजिलै साथ दिनु भयो र हामीलाई शिक्षकहरूसँग जोड्नुभयो जसले गर्दा हामीलाई कन्टेन्टहरू ल्याउन मद्दत पुग्यो। उहाँहरूले हामीसँग एक पैसा पनि लिनु भएन। बदलामा हामीले शिक्षक र विद्यालयको नाम उल्लेख गर्‍यो,' सुरुवाती दिनहरु अधिपले यसरी सम्झिए।

उनीहरूले अन-फुट मार्केटिङ सुरु गरे। उनीहरू दिनभर विद्यालयहरू गएर कुल ल्याब्सको बारेमा विद्यार्थी र शिक्षकहरूलाई बताउँथे र राती प्रणाली विकासमा काम गर्थे।

'अहिलेको जस्तो गुगल सर्च गर्ने चलन खासै थिएन। धेरैलाई इन्टरनेटको नाममा गुगल र फेसबुक मात्रै थाहा थियो। हामीले विद्यार्थीहरूलाई कुल ल्याब्सको वेबसाइटमा गएर आफूलाई चाहिने कन्टेन्टहरू खोज्न सिकायौं,' उनले भने।

बढ्दो लोकप्रियता

तर एउटा मात्रै विद्यालयको कन्टेन्ट प्रयोग गरेको भएर उनीहरु माथि अन्य विद्यालयहरूले अर्को विद्यालयको कन्टेन्टहरू किन पढाउने भनेर प्रश्न उठाउन थाले, जुन जायज पनि थियो।

त्यसपछि उनीहरुले आफ्नो प्लाटफर्मलाई पार्ट टाइम जब जसरी लिन सक्ने शिक्षकहरुसँग सम्झौता गरी काममा लगाए जसले तयार पारेको कन्टेन्टका लेखक र प्रकाशक दुवै कल ल्याब्स हुने सर्त राखिएको थियो।

शिक्षकहरुले कन्टेन्ट पठाउन थाले र ती कन्टेन्टहरूलाई प्लस टु पढ्नेहरूलाई टाइप गर्ने काममा लगाए। छोटो समयमा उनीहरूले पाँच हजार प्रयोगकर्ता कमाइसकेका थिए। विद्यालय भ्रमण गर्दा अरु विषयहरू पनि उतिकै महत्वपूर्ण हुन्छ भन्ने बुझेर उनीहरूले विस्तारै अन्य कक्षाहरूको थप विषयहरुमा पनि काम गर्न सुरु गरे। त्यसै अनुसार उनीहरूले कक्षा आठ, नौ र १० कक्षाका विभिन्न अन्य विषयहरू थप्ने योजना बनाए।

'हाम्रो प्रणाली विस्तारको लागि तयार थियो, अभाव थियो त लगानीको। किनभने त्यति बेलासम्म विज्ञापनबाट आम्दानी हुन सकेको थिएन,' उनले भने। ठोस आम्दानीको मोडेल खोज्दै गर्दा उनीहरूले आफ्नो वेबसाइटको कन्टेन्टहरूलाई डीभीडीहरूमा प्याकेज गरे र ४ सय ५० देखि पाँच सय रुपैयाँसम्म बेचे।

'हामीले सन् २०१५ को इन्फोटेकमा विज्ञान, स्वास्थ्य जनसंख्या र वातावरण, कम्प्युटर साइन्स र सामाजिक शिक्षा गरी चार विषयहरूको डीभीडीहरू सफ्ट लन्च गर्‍यौं। त्यहाँ पाँच दिनमा हामीले धेरै राम्रो बिक्री गर्‍यौं,' अधिप भन्छन्, “आम्दानीको मोडल पनि थियो, काम पनि गरिराखेको थियौं र चर्चा पनि भइरहेकै थियो।'

तर यो सब धेरै दिन टिकेन। उनीहरुले वैशाख २ मा आधिकारिक रुपमा डीभिडीहरू लन्च गरे । तर वैशाख ११ गतेको भुइँचालोले उनीहरूको डीभिडी बेच्ने योजनालाई तुहाइदियो। 'त्यसपछि फेरि हामी लगानी खोज्न थाल्यौं। हामीले सन् २०१५ को अन्त्यसम्ममा २ करोडभन्दा बढी लगानी जुटायौं, जसमध्ये डेढ करोड त एकैजनाले लगानी गरेका थिए। जतिले पनि लगानी गरे सबैले डीभीडी प्रोडक्ट देखेर नै गरेका थिए,' उनले भने।

ठूलो लगानीसँगै भद्रगोल र आन्तरिक कलह

यसरी उठाएको पैसा उनीहरूले ८ देखि १२ कक्षाहरूको विभिन्न विषयहरूको कन्टेन्ट थप्नमा लगाए। अधिपका अनुसार उनीहरुले पुतलीसडकमा ठूलो अफिस पनि लिए, जहाँ ७० भन्दा बढी कर्मचारी काम गर्थे।

त्यहाँ चार सयभन्दा धेरै स्नातक गरिरहेका विद्यार्थीहरू नोट संकलन गर्ने, शिक्षकहरूलाई बुझाउने,टाइप गर्ने जस्ता काम गर्थे। त्यो समयमा कुल ल्याब्सको टिमले २५० भन्दा बढी बिषयमा काम गरिरहेको थियो जसका लागि ७ महिनामै दुई करोड रुपैयाँ सकिएको उनी दाबी गर्छन्।

उनका अनुसार २०१६ तिर ठूलो पैसा भित्रिएसँगै कम्पनीमा मिस-म्यानेजमेन्ट सुरु भयो। बोर्डभित्र आन्तरिक कलह पनि हुन थाल्यो। सबै काम एकै पटक गर्न खोज्दा भद्रगोल सुरु भयो। त्यति नै बेला बजारमा डीभीडीहरूको बारेमा उनीहरूले युट्युबको भिडियोहरू राखेर बेचेको भनेर हल्लाखल्ला पनि सुरु भयो, जसले उनीहरुको कामप्रति नै अविश्वास पैदा हुन थाल्यो।

'त्यसैले कार्यकारी बोर्डले त्यो योजना ड्रप गर्‍यो। नेपालभर पठाएका सबै डीभीडी फिर्ता ल्याएपछि यसले लगानीकर्ताहरुलाई आफ्नो पैसाको दुरुपयोग भएको जस्तै लाग्यो। अनि लगानीकर्ताहरु नाखुश हुन थाले,' अधिपले सुनाए।

अन्ततः लगानीकर्ताहरू यो प्रोजेक्टबाट पछि हटेर आफ्नो पैसा फिर्ता माग्न थाले। अधिपका अनुसार त्यसपछि कम्पनीका सबै काम रोकियो। स्टाफहरु सबै घटाएर जम्मा आठजना संस्थापक सदस्यहरुमात्रै बाँकी रहे। कम्पनी बन्द हुने अवस्था आएसँगै आन्तरिक द्वन्द्व झनझन बढ्दै गयो।

त्यही कलह र तनावका बीच कम्पनीका सीइओ र इन्भेष्टर बीचको आन्तरिक सम्झौता बाहिर आयो। 'एकैजनाले डेढ करोड लगानी गरेकोमा १ करोड भन्दाबढी रकम लगानी नभए लोन रहेको हामीले थाहा पायौं। यो कुरा बाहिर आएसँगै सीइओले कम्पनी छोडे,' उनले भने।

अन्ततः कम्पनी नै ती लगानीकर्तालाई सुम्पेर अधिप पनि केही महिनाको लागि कम्पनीबाट बाहिरिए। तर सानो सानो कामका लागि पनि उनीलाई फोन आउन थालेपछि उनी फेरि कम्पनीमा फर्किए र कम्पनीको नेतृत्व लिँदै जसोतसो समस्याहरू पन्छाउँदै अघि बढे। त्यो समयमा कम्पनीमा जम्मा ५ जनामात्र बाँकी थिए।

फेरि शून्यबाटै उठ्ने कोसिस गर्दै

सन् २०१८ को अप्रिलमा उनीहरूले आफ्नो घरको एउटा कोठाबाट पुनः स्क्रयाचबाट काम सुरु गरे। कम्पनी जहाँबाट सुरु भएको थियो त्यही स्थानमा पुग्यो। तर उनीहरूले हिम्मत हारेनन्। उनीहरु ट्रेडिङको काम गर्दै त्यहाँबाट आएको पैसा कुल ल्याब्समा इन्जेक्ट गर्दै काम अघि बढाउँदै गए।

काम गर्दै जाँदा कुल ल्याब्सले आइडिया स्टुडियो सिजन-३ को हिस्सा बन्ने अवसर पायो र ‘हाइ फ्लाइङ अवार्ड’ पनि जित्यो। त्यो सँगसँगै अन्य धेरै अवार्डहरू पनि जिते। त्यतिबेला कम्पनीसँग तीन कर्मचारी, ५० हजारभन्दा बढी दर्ता भएका प्रयोगकर्ता र वेबसाइटमा करिब चार लाख प्रयोगकर्ताहरू थिए।

'त्यहाँ हामीले सस्टेनेबल व्यवसाय कसरी चलाउने कुराहरू सिक्यौं। हामीले गूगल विज्ञापनबाट आम्दानी गर्न थाल्यौं,' उनले भने।  केही समयमा नै कोभिड-१९ ले विश्व र नेपाललाई आक्रान्त बनायो। नेपालका सम्बन्धित निकायहरू अर्थात् शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय लगायतका सबैले ई-कक्षाको उपयोगिता महसुस गरेको समयमा कुल ल्याब्सलाई आधिकारिकता दिलाउने उनीहरुको प्रयास सफल भयो।

कोभिडकै समयमा कुल ल्याब्स शिक्षाका सरोकारवाला निकायहरुबीच एमओयू हस्ताक्षर भयो। सामुदायिक र सार्वजनिक विद्यालयहरूले लकडाउनको समयमा भर्चुअल कक्षाहरू सञ्चालन गर्दा कुल ल्याब्कोस कन्टेन्टहरू प्रयोग गर्न सक्ने हिसाबले भएको त्यो सम्झौताले कम्पनीको गतिलाई बढाउन मद्दत पुग्यो।

हाल कुल ल्याब्समा १३ जना आन्तरिक कर्मचारी छन् । कम्पनीले गुगल विज्ञापनबाट वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी गरिरहेको छ। अधिपका अनुसार अहिले उनीहरूको वेबसाइटको औसत मासिक प्रयोगकर्ता करिब तीन लाख ५० हजार छन्।

हाल कम्पनीलाई विस्तार गर्दै लगेका अधिप आशावादी सुनिए-'हामी लोकल विज्ञापनबाट आय आर्जन गर्ने र मोबाइल एप र प्रिमियम मोडलहरू विकास गर्ने काममा लागिरहेका छौं। पक्कै पनि हामी फेरि बिस्तारै उठ्नेछौं।'