नेपालमा पहिलोपटक आयोजना हुँदै कृषि कर्जा मेला, वास्तविक कृषक र बैंकलाई जोड्ने

बिजमाण्डू
२०७८ चैत्र २ गते १८:४८ | Mar 16, 2022
नेपालमा पहिलोपटक आयोजना हुँदै कृषि कर्जा मेला, वास्तविक कृषक र बैंकलाई जोड्ने

काठमाडौं। चितवनको भरतपुरमा आगामी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला हुने भएको छ। मेला आर एन्ड डी इन्नोभेटिभ सोलुशन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

Tata
GBIME

कृषि उद्यमी तथा किसान र बैंक तथा वित्तीय संस्ठालाई लगानीका लागि जोड्ने यस्तो मेला नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो। यस किसिमको मेला नेपालमा मात्र नभएर एसियामै पहिलो र विश्वमा समेत दोस्रोपटक आयोजना हुन लागेको आयोजकले दाबी गरेको छ।

मेलाको मुख्य प्रायोजक नबिल बैंक र कृषि विकास बैंक रहेका छन्। साथै, बैंकर्स एसोसिएसन, शिखर इन्स्योरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल लगायतका संस्था पनि मेला आयोजनाका सहयोगी रहेका छन्।  थ्री एस फाउन्डेशन मेलाको रिसर्च पार्टनर रहेको छ। 

मेलामा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ पनि आयोजना हुने बताइएको छ। नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो।

प्रदर्शनीमै कृषि कर्जा उपलब्ध गराउने मुल मर्म रहेको यस मेलाको यो नै प्रमुख आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए। कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको आयोजना गरिएको उनको भनाइ छ।

कृषक र कृषिसँग जोडिएका सरोकारवालाहरुलाई एकै थलोमा ल्याएर उनीहरुका चासो तथा समस्या समाधानको उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष कटुवालले बताए।

बैंक तथा वित्तीय संस्थाबाट पछिल्लो तीन वर्षमा ५८ हजार जनाले मात्रै कृषि कर्जा लिन सकेको तथ्याङ्क छ। धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन्।

यस्तो अवस्थामा कृषकलाई सहज वित्तीय पहुँच र बैंक तथा वित्तीय संस्थालाई लगानीका लागि योग्य कृषि उद्यमी र उपयुक्त कृषि परियोजनासँग यस मेलाले जोड्ने विश्वास आयोजकको छ। 

मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराइ कृषि कर्जाका सम्बन्धमा कृषकहरुलाई जानकारी गराएर कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने पनि मेला संयोजक सुष्मा शर्माको भनाइ छ ।

मेला आयोजनाको सहयोगी संस्था नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शर्माले कृषि कर्जा वास्तविक कृषकसम्म पुग्न आवश्यक भएकाले त्यसका लागि सन्देश र सूचना सही किसिमले प्रवाह गर्नका लागि यो मेला सान्‍दर्भिक रहेको बताए। यस मेलामार्फत कृषि कर्जा वास्तवमै आवश्यक भएका कृषकसम्म वित्तीय सूचना पुग्ने अपेक्षा गरिएको उनी बताउँछन्। 

कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएको भनिए पनि उत्पादकत्व वृद्धिका दृष्टिले भने उपलब्धि न्यून छ। यसको कारण सहुलियतमा दिइने कृषि कर्जा वास्तविक किसानसम्म पुग्न नसक्नु समेत भएको शर्माको विश्लेषण छ।

अर्कोतर्फ वास्तविक कृषकले उत्पादन त गरेका कृषिजन्य उत्पादनहरु ढुवानी र बजारीकरणको अभावका कारण उपभोक्तासम्म पुग्न पनि असहज छ। कृषि उत्पादनलाई बजारसँग जोड्ने मूल्य श्रृंखला (भ्यालु चेन) मा बैंक तथा वित्तीय सं‌स्थाहरुले ध्यान दिन आवश्यक रहेको शर्माले बताए ।

वास्तविक किसानमा सहज वित्तीय पहुँच हुन थाले वैदेशिक रोजगारीमा जान खोज्ने ठूलो संख्या नेपालमै कृषिमा लाग्ने र यसबाट जनशक्ति नभएर कृषि उत्पादन खाडीमा पठाउने अवस्था  सिर्जना हुनसक्ने विश्वास नबिल बैंकका सीईओ अनिल शाहको छ। 'अहिले कृषि प्रधान देश भनिए पनि आफ्नै बुवा आमा कृषक भन्न हामी लजाउँछौै। कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिन आउन आवश्यक छ,' उनले भने, 'नेपालको माटो नै उर्वर रहेको भन्दै उत्पादनका लागि कम मेहनतले पनि पुग्छ।'

यसअघि घरजग्गा र अटो कर्जामै रमाइरहेका बैंकहरुले पछिल्ला केही अवधियता कृषि क्षेत्रमा लगानी बढाइरहेको पनि शाहले बताए। अहिले नेपाली बैंकहरुले कृषिमा करिब ३ खर्ब लगानी गरेका छन्। कृषक र उद्यमीहरुलाई सहज बनाउने यो मेलामा नयाँ सोच, सीप, ज्ञान, जाँगर भएका व्यक्तिहरुलाई सहयोग गर्न आफूहरु आतुर भएको पनि उनले बताए। 

'कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा बैंकहरुले लगानी बढाउनु पर्ने र कृषि वस्तुको प्रवर्द्धन गर्नुपर्ने हुन्छ। हजारौं युवाहरु जहाज चढेर विदेश जाँदा जहाजको कार्गो खाली हुने गरेको छ। त्यसमा नेपालको कृषि उत्पादन भरेर खाडी मुलुक पठाउन सक्नु पर्छ,' उनी भन्छन्।

कृषि उत्पादन बढाउन बैंकले लगानी बढाउनुपर्नेमा कृषि विकास बैंकका उपकार्यकारी निर्देशक बाबुकाजी थापाले पनि जोड दिए।

नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको अनुमान छ। देशको कुल गार्हस्‍थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८  प्रतिशत छ । उब्जाउ जमिनको २१ प्रतिशत मात्रै उपयोग भइरहेको अवस्था रहेकाले उत्पादन क्षेत्र बढाउनु पर्ने थापाको भनाइ छ। कृषि कर्जाको ब्याज अनुदानमा मात्रै राज्यको १३ अर्ब खर्च भए पनि उपलब्धि कमजोर भएको उनी बताउँछन्। 

बैंकले अब कृषक र उनीहरुका परियोजना वा कामलाई पनि लगानीका लागि पत्याउनु पर्ने मेलाको मुख्य प्रायोजक सलोम एग्रिकल्चर प्रालिका निर्देशक श्रीकृष्ण अधिकारी बताउँछन्।