कुर्था-जयनगर रेल चलाउन कानुनी अड्चन मात्र होइन बाँकी नै छन् पूर्वाधारका केही काम

बिजमाण्डू
२०७८ चैत्र २ गते १३:२८ | Mar 16, 2022
कुर्था-जयनगर रेल चलाउन कानुनी अड्चन मात्र होइन बाँकी नै छन् पूर्वाधारका केही काम

काठमाडौं। रेल विभागले कुर्था-जयनगर रेलमा २ वर्ष अघि नै सक्नुपर्ने कामको लागि बल्ल ठेक्का लागेको छ। कुर्था-जयनगर रेलको निर्माण कार्य सकिएर संचालनको तयारीमा छ। तर एप्रोच र प्रोटेक्सनका लागि आवश्यक पर्ने सडकहरु निर्माणका काम भने भर्खर ठेक्का लागेको छ। 

Tata
GBIME

विभागका अनुसार यसमा प्रोटेक्सन निर्माणका लागि ३२ करोड ५५ लाख ९४ हजार रुपैयाँमा रोशन-एपेक्स जेभीले ठेक्का पाएको छ। यसैगरी एप्रोच सडक निर्माणका लागि १८ करोड ६७ लाख ९२ हजार रुपैयाँमा लुम्बिनी-डी एन्ड एन जेभीले ठेक्का पाएको छ। ठेक्का पाउने कम्पनीले १ वर्षभित्रै यसको निर्माण कार्य सक्नुपर्ने छ।

विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार यो काम धेरै पहिले नै गर्नुपर्ने थियो। तर, भारतीय ठेकेदारले छुटाएको कामका लागि यो ठेक्का लागेको हो। ‘यो काम नेपाल सरकारले नै गर्नुपर्ने थियो। त्यो समय गर्न सकेन अहिले ठेक्का लागेको छ अब हुन्छ,’ भट्टराईले भने, ‘यो काम भनेको एक्जिस्टिङ स्ट्रक्चरहरु, स्टेसन जाने बाटो र मर्मतसम्भार, क्रसिङहरु लगायतका सानातिना काम हो।’

विभाग भने कानुनी अड्चनकै कारण रेल संचालन गर्न नसकिएको भन्दै आएको छ। तर रेल संचालन गर्नका लागि आवश्यक पर्ने सर्पोटका काम नै सकिएको छैन्।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको विभागले नै बारम्बार भन्दै आएको छ। अहिले रेलको ट्रयाक निर्माण सकिएको २ वर्ष भइसकेको छ। तर विभागले अहिले फेरि रेल चलाउन आवश्यक पूर्वाधार निर्माण नै बाँकी रहेको भन्दै त्यसका लागि ठेक्का लगाएको छ।  

यस्तै रेल संचालनका लागि आवश्यक पर्ने कानुनी प्रक्रियामा भने सरकार पहिलेकै अवस्थामा आइपुगेको छ। सरकारले ल्याएको रेल्वे अध्यादेश संसद्ले स्वीकृत गरेको थियो। सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसक्दा यो अध्यादेश निष्क्रिय भइसकेको छ।