मौद्रिक नीतिबाट निराश लगानीकर्ता एमसीसी कुर्दै, सूचक सामान्य घट्यो, कारोबार सवा तीन अर्बको

बिजमाण्डू
२०७८ फागुन १५ गते १५:३० | Feb 27, 2022
मौद्रिक नीतिबाट निराश लगानीकर्ता एमसीसी कुर्दै, सूचक सामान्य घट्यो, कारोबार सवा तीन अर्बको

काठमाडौं। गत साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर बजारप्रति अपनाएको कडाइले निराश लगानीकर्ताहरु एमसीसीबारे संसदको निर्णयको पर्खाइमा देखिँदा सेयर बजार सामान्य लयमा फर्किन अझै सकेको छैन।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सेयर धितो ऋणमा गरेको कडाइ र एमसीसीको निर्णयलाई लिएर भएको ढिलाइका करण लगानीकर्ता अन्योलमा देखिएका छन्।

यससँगै साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य ७.७३ अंकले घटेरको २६५३.७० विन्दुमा ओर्लिएको छ।   

राष्ट्र बैंकले मौद्रिक समीक्षाद्वारा सेयर धितो कर्जाको जोखिम भार बढाइ दिंदा सेयर बजारमा प्रतिकूल असर पर्न जाने स्पष्ट छ। नीतिगत परिवर्तनका कारण अन्योलमा परेका लगानीकर्ता एमसीसीको निर्णयले बजारमा टेवा दिनेमा आशावादी छन्। पुँजीबजारका अधिकांश लगानीकर्ता एमसीसीको पक्षमा देखिन्छन्।

यद्यपि, 'पर्ख र हेर' को अवस्था सृजना हुँदा कारोबार रकम पनि ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। आइतबार ३ अर्ब २७ करोड २७ लाख ७३ हजार रुपैयाँको कुल ७० लाख ४० हजार २८ कित्ता सेयर खरिद बिक्री भएका छन्। 

कारोबारका आधारमा युनिभर्सल पावर कम्पनी शिर्ष स्थानमा रहेको छ। कम्पनीको २० करोड ४४ लाख रुपैयाँको कारोबार हुँदा मूल्य ३.०२ प्रतिशत बढेको छ ।

सर्वाधिक कारोबारको सूचीमा निरन्तर पर्न सफल नेपाल टेलिकमको यस दिन पनि १९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको सेयर भने प्रति कित्ता १६९९ रुपैयाँका अन्तिम कारोबार भएको छ।      

मूल्य समायोजित नेशनल हाइड्रोपावर कम्पनी पनि शिर्ष कारोबार हुने कम्पनीहरुको सूचीमा परेको छ। यस जलविद्युतको १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो। १८.५२५ प्रतिशत बोनस वितरण गरेको नेशनल हाइड्रोपावरको गत बिहीबार सोहीअनुसार नेप्सेले मूल्य समायोजन गरेको थियो ।

नेपाल लाइफको पनि यस दिन १३ करोड रुपैयाँको र अपि पावरको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

आइतबार परिसूचक एकल अंकले घट्दा कारोबार भएका अधिकतम उपसमूह पनि ओरालो लागेका छन्। सर्वाधिक १.०९ प्रतिशत गिरावट उत्पादन तथा प्रसोधन उपसमूहमा देखिएको छ। सबैभन्दा कम घटेको होटल तथा पर्यटन उपसमूह हो। उपसमूह ०.०९ प्रतिशत मात्र घटेको छ। 

परिसूचक घटे पनि जलविद्युत उपसमूहमा उत्साह कायमै देखिन्छ। उपसमूह १.०४ प्रतिशत बढेको हो। एमसीसीको संसदमा टेबल हुँदादेखि नै जलविद्युतमा आकर्षण देखिएको थियो। आइतबार अन्य उपसमूह पनि ०.६५ प्रतिशत बढेको छ।   

गत साताको अन्तिम प्रहरमा झन्डै सकारात्मक सर्किट लागेको हिमालयन जनरल इन्स्योरेन्सको मूल्य साताको पहिलो कारोबार दिन भने सर्वाधिक घटेको छ। इन्स्योरेन्सको मूल्य ४.५८ प्रतिशत घटेको हो। तेह्रथुम पावरका लगानीकर्ताले पनि ४.०५ प्रतिशतका दरले गुमाए। ३ प्रतिशत अधिक गुमाउने समलिंग पावर, नारायणी डेभलपमेन्ट बैंक र शिवम सिमेन्टका लगानीकर्ता हुन्। 

बजार घटे पनि सर्वाधिक कमाउन भने नेशनल हाइड्रोका लगानीकर्ता भएका छन्। जलविद्युतको मूल्य ४.५३ प्रतिशत बढेको छ। मूल्य समायोजन पश्चात ३५०.१४ रुपैयाँमा सुरु भएको जलविद्युतको सेयर आइतबार ३६६ रुपैयाँमा अन्तिम कारोबार हुन पुगेको छ। 

सपोर्ट माइक्रोफाइनान्सको मूल्य पनि ३.९६ प्रतिशत बढ्यो। सर्वाधिक कारोबार भएको युनिभर्सल पावर कम्पनीको मूल्य पनि ३.०२ प्रतिशत बढेको छ।