एमसीसी विवादले निरुत्साहित लगानीकर्ता, बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

बिजमाण्डू
२०७८ फागुन ४ गते १५:११ | Feb 16, 2022

काठमाडौं।एमसीसी विवादले टुंगो नपाउँदा सृजना भएको राजनीतिक अस्थिरताले बुधबारको सेयर बजारलाई प्रभावित बनाएको छ। संसदीय बैठक टेबल हुने सूचना बाहिरिएपछि मंगलबार बिक्रेताको तीब्र चाप देखिएको सेयर बजारमा बुधबार भने एमसीसी टेबल नगर्ने निर्णय हुँदा लगानीकर्ता अन्योलमा परेको देखिन्छ। 

Tata
GBIME

मंगलबार अन्तिम प्रहरमा एकाएक ५० अंक अधिकको फड्को मारेको नेप्से परिसूचक बुधबार भने १९.८४ अंकले संकुचित भएको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३४.४४ को विन्दुमा कायम छ।  

कारोबार रकम पनि निरन्तर खुम्चिँदै गएको छ। व्याजदर बृद्धिको दबाबमा एकै दिन १०० अंक गुमाउँदा 'सेलिङ्ग प्रेसर'का कारण करिब ६ अर्ब रुपैयाँ पुगेको खरिद बिक्री रकम बुधबारसम्म आइपुग्दा भने ३ अर्ब रुपैयाँमा सिमित छ। बुधबार ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ बराबरका ५६ लाख ५२ हजार १८२ कित्ता कारोबार भए। 

कारोबार रकमका आधारमा अपि पावर शिर्ष स्थानमा रह्यो। हाइड्रोपावरको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। अपिको मूल्य बुधबार २.०६ प्रतिशत घटेको छ। यस्तै, सर्वाधिक कारोबार हुने नेशनल हाइड्रो र अरुण भ्याली हाइड्रो पनि हुन्।  नेशनल हाइड्रोको १७ करोड ७८ लाख रुपैयाँ र  अरुण भ्याली हाइड्रोको १६ करोड रुपैयाँ अधिकको कारोबार हुन पुगेको छ।  

बुधबार नेप्सेले दोहोरो अंक गुमाउँदा कारोबार भएका अधिकांश उपसमूह पनि सँगै घटेका छन्। अघिल्लो दिन अन्तिम प्रहरमा बजार बढ्दा निकै उत्साह देखिएको जलविद्युत उपसमूहले बुधबार भने नकारात्मक प्रस्तुति दिएको छ। सर्वाधिक घटेको जलविद्युत उपसमूह नै हो। उपसमूह २.१८ प्रतिशत घटेको छ। 

सबैभन्दा कम गिरावट बैंकिङ उपसमूहमा देखिएको छ। उपसमूहले ०.३० प्रतिशत मात्र गुमायो।  बाँकी अन्य उपसमूहमा पनि ०.४५ प्रतिशत देखि १.८४ प्रतिशतसम्मको गिरावट आएको छ। जीवन बीमा र अन्य उपसमूह भने सामान्य अंक बढेका छन् ।

एमसीसीबारे सकारात्मक निर्णय हुने आँकलन सहित मंगलबार बढेका अधिकांश जलविद्युत कम्पनीमा बुधबार भने पहिरो गएको छ। यस दिन सर्वाधिक गुमाएका बुद्ध भूमि हाइड्रोका लगानीकर्ता हुन्। हाइड्रोको मूल्य ५.५६ प्रतिशत घट्यो। मैलुंङ्ग खोलाका लगानीकर्ताले पनि ५ प्रतिशतका दरले गुमाए। सिङ्गटी हाइड्रो र सीइडिबी हाइड्रो पनि ४ प्रतिशत अधिक घटे । 

परिसूचक घटेपनि गुराँस लघुवित्तका लगानीकर्ता भने ३.४४ प्रतिशतका दरले कमाउन सफल भएका छन्। ज्योति लाइफ इन्स्योरेन्सको मूल्य पनि ३.२३ प्रतिशत बढ्यो।