वीरगंजमा पावरहाउसदेखि मितेरी पुलसम्म सडक मर्मतको तयारी, इ-बिडिङमा दुई कम्पनी मात्रै !

बिजमाण्डू
२०७८ फागुन २ गते १२:४१ | Feb 14, 2022
वीरगंजमा पावरहाउसदेखि मितेरी पुलसम्म सडक मर्मतको तयारी, इ-बिडिङमा दुई कम्पनी मात्रै !


वीरगंज। वीरगंज पावरहाउसदेखि रजतजयन्ती चोक हुँदै सीमावर्ती मितेरी पुलसम्मको सडक मर्मत गरिने भएको छ। त्रिभुवन राजमार्गअन्तर्गत पर्ने सडकको मर्मत तथा निर्माणका लागि छिटै ठेक्का टुंगो लाग्ने वीरगंज-पथलैया व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले जनाएको छ।

Tata
GBIME

पथलैयास्थित आयोजना कार्यालयका प्रमुख मनीष साहका अनुसार ठेक्काको लागि इ-बिडिङ गरी हाल मूल्याकनको काम भइरहेको छ। 'ठेक्का स्वीकृत भएपछि निर्माण कम्पनीले चाडै काम शुरु गर्नेछन्,' उनले भने, 'हामी प्रक्रियामा छौं।' 

'पावरहाउसदेखि घण्टाघरसम्म पूर्वी सडक र घण्टाघरदेखि मितेरी पुलसम्म भएका खाल्डाखुल्डी पुर्न मर्मतको काम हुनेछ।' कालोपत्रे उप्किएका ठाउँमा सडक मर्मतको इस्टिमेट रहेको उनले बताए।

करिब ५ मिटर चौडा र ३ किलोमिटर लम्बाइको सडकका लागि करिब ४ करोड ३० लाख सम्मको खर्च लाग्ने आयोजनाको अनुमान छ। ठेक्का प्रक्रियामा पावरहाउसदेखि रजतजयन्ती चोकसम्मको कामका लागि सागर निश्रय प्रालि र रजत जयन्तीदेखि मितेरी पुलसम्मको सडक निर्माण तथा मर्मतका लागि समा कन्स्ट्रक्सन बोलपत्रको प्रक्रियामा सहभागी छन्। दुवैमा एकल बोलपत्र परेको छ। 

वीरगंजका केही निर्माण व्यवसायीले व्यापारिक मार्ग कार्यालयले केही निर्माण व्यवसायीसँग आर्थिक प्रलोभनमा परी बिना प्रतिस्पर्धा एकल बोलपत्र स्वीकृत गर्ने चलखेल भइरहेको आरोप लगाएका छन्। तर कार्यालय प्रमुख साह एक महिनाको समय दिएर सूचना प्रकाशित गरे पनि निर्धारित अवधिमा दर्खास्त नदिइ आरोप लगाउनु अनुचित रहेको बताउँछन्।

बोलपत्र दर्ता गराउने अन्तिम दिन गत माघ ६ गतेसम्म थियो। 'हामीले समय दिएर इ-बिडिङबाट सार्वजनिक खरिद ऐन बमोजिम टेण्डर प्रक्रिया अघि बढाएका हौं,' उनले भने, 'टेण्डरमा सहभागी हुन नपाएपछि झुटो आरोप लगाउनुको अर्थ छैन।'