डीडीसीले तोकेको मूल्य निजी डेरीहरुलाई अमान्य, लिटरमै १० रुपैयाँ बढाएर तोके नयाँ मूल्य

बिजमाण्डू
२०७८ माघ २८ गते १३:२७ | Feb 11, 2022

काठमाडौं। निजी डेरी व्यवसायीहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएका छन्।  

Tata
GBIME

यसअघि दुग्ध विकास संस्थानले प्रतिलिटर मूल्यमा ९ रुपैयाँ बढाएको थियो। डीडीसीले बढाएको मूल्यमा निजी क्षेत्रका डेरी व्यवसायीले लिटरमा थप एक रुपैयाँ बढाएका हुन्।

डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दूधको मूल्य परिमार्जनबारे जानकारी दिएका हुन्।

निजी डेरीहरुले दुग्ध विकास संस्थानको मूल्य निर्धारण समितिले बढाएको प्रतिलिटर ९ रुपैयाँ मूल्यलाई अवज्ञा गर्दै निजी क्षेत्रले आफ्नै नयाँ मूल्य तोकेका हुन्।

निजी डेरीहरुले किसानहरुबाट लिने कच्चा दूध प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट ६२ रुपैयाँ कायम गर्ने निर्णय गरेका हुन्। प्रशोधित दूध लिटरको ८६ कायम गरिएको छ। अब निजी डेरीहरुबाट प्रशोधनपछिको दूध आधा लिटरको प्याकेटका लागि ४३ रुपैयाँ तिर्नुपर्ने हुन्छ। 

पत्रकार सम्मेलनमा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल  र नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले निजी क्षेत्रका डेरीहरुले यसअघि नै किसानलाई कच्चा दूधको डीडीसीले तोकेको भन्दा बढी मूल्य दिँदै आएको दाबी गरे। त्यसैले डीडीसीले तोकेको नयाँ मूल्यमा बेच्न नसकिने दाबी उनीहरुले गरेका थिए।

उनीहरुले हालको बढेको मूल्यको ७० प्रतिशत किसानकै हातमा पुग्ने दाबी समेत गरे।