
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार क्रिप्टोकरेन्सी सम्बन्धी बैठकको अध्यक्षता गरेका छन्। क्रिप्टोकरेन्सी प्रति युवा पुस्ताहरुको बढ्दो आकर्षण छ। यसको नियमन हुन नसक्दा भारतमा यसले पार्न सक्ने प्रभावका विषयमा प्रधानमन्त्री मोदीले छलफल गरेको बुझिएको छ।
भारतीय संचारमाध्यमहरुका अनुसार क्रिप्टोकरेन्सी सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको स्रोत नहोस् भन्नेमा केन्द्रित रहँदै प्रधानमन्त्रीकै अध्यक्षतामा सक्रिय भएको उल्लेख गरेका छन्।
उक्त बैठकले युवा पुस्ताहरुलाई क्रिप्टोकरेन्सीको बारे विभिन्न प्रलोभनमा पार्न हुँदै आएका अपारदर्शी विज्ञापनहरु बन्द गर्नुपर्नेमा सहभागीहरुले जोड दिएको बताइएको छ। साथै, भारत सरकारले अब क्रिप्टोकरेन्सीको प्रभावलाई निर्मुल पार्न कडा कदम चाल्नुपर्नेमा सबै सहभागी सहमत भएको उल्लेख गरिएको छ।
'सरकार क्रिप्टोकरेन्सी एउटा उदाउँदो प्रविधि भएकोमा जानकार छ। सरकारले नजिकैबाट यसलाई सुक्ष्म अध्ययन गर्दै आवश्यक कदमहरु चाल्दै जानेछ। सरकारले क्रिप्टोकरेन्सी सम्बन्धी कुनै निर्णय गर्दा त्यो प्रगतिशील र भविष्य सुहाउँदो हुनुपर्छ भन्ने मान्यतालाई बिर्सेको भने छैन,' मोदीले बैठकलाई सम्बोधनका क्रममा उल्लेख गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
क्रिप्टोकरेन्सीमा सरकारको प्रत्यक्ष ध्यानकेन्द्रित गर्न विज्ञ तथा सम्बन्धित सरोकारवालाहरु निरन्तर छलफलमा जुट्ने बताइएको छ। यो विषय अन्तरदेशीय मुद्दा भएकाले देशहरुबीच संयुक्त रणनीति तथा सहकार्य आवश्यक रहेको बैठकमा औंल्याइएको छ।
मार्च ४, २०२१ मा भारतको सर्वोच्च अदालतले भारतीय रिजर्व बैंकको २०१८ अप्रिलको परिपत्रलाई आधार मन्दै बैंक तथा अन्य निकायहरुलाई भर्चुअल मुद्रासम्बन्धी सेवा प्रदान गर्न बन्देज लगाएको छ।