
काठमाडौं। राष्ट्रिय प्राथमिकताका आयोजनामध्येको नागढुंगा-नौबिसे सुरुङमार्गको काम १७ दिनदेखि ठप्प छ। ठूलो लागत र जापान सरकारको सहयोगसँगै जापानी निर्माण कम्पनीले काम गरिरहेको आयोजना ठप्प हुँदा पनि सरकारले चासो दिएको छैन।
आयोजनाकै मकिङ ट्रकले ठक्कर दिएर एक कामदारको मृत्यु भएको थियो। मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गरेका छन्। उचित समाधान पहिल्याउन आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गम्भीर नहुँदा काम पुनः सुरु हुन नसकेको हो।
आयोजनामा सिफ्ट चेन्ज हुने बेला सुरुङमार्ग भित्रबाट कामदारहरु निस्कन्छन्। कात्तिक ११ मा त्यही बेला सुरुङबाट माटो फ्याँकेर फर्कदै गरेको ट्रकले धादिङको धुनिबेंसी-९ का २८ वर्षीय ओमकृष्ण पाण्डेलाई ठक्कर दिएको थियो। माटो फालेपछि नघुमाइ ट्रक ब्याक नै गरेर फर्काइन्छ। सोही क्रममा ट्रकले ठक्कर दिएर घाइते पाण्डेलाई उपचारार्थ ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
त्यस दिनदेखि रोकिएको आयोजनाको काम पुनः सुरु भएको छैन। 'करिब १० दिनदेखि रोकिएको काम सुरु गर्ने तयारीमा छौं। भोलिसम्म सुरु हुन्छ होला,' आयोजना प्रमुख इन्जिनियर नरेशमान शाक्यले भने,'सेफ्टी अडिटको काम सकिएको छ। काम सुरु गर्ने तयारी भएको चिट्ठी पाएको छु।'
प्रहरीले असहयोग गरेका कारण पनि काम सुरु हुन नसेकको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। 'कामदारको मृत्यु भएपछि प्रहरीले सुरुङमार्गभित्र काम भइरहेका मेसिन अपरेटरहरुको पनि लाइसेन्स खोज्यो। त्यहाँभित्र भएका मेसिन नेपालमै पहिलोपटक ल्याइएका छन्। जापानीजहरुले चार जना नेपालीलाइ सिकाएर संचालनमा ल्याइएको हो,' थापाले भने,'सुरुङभित्र निर्माणका बखतमा मात्र संचालन हुन्छन्। अपरेटरसँग सर्टिफिकेट मात्रै छ, लाइसेन्स छैन। चक्का हुनेबित्तिकै बाहिर सडकमा गुडाउने गाडी जसरी लाइसेन्स मागेका छन्।'
यसअघि पनि प्रहरीले विभिन्न बहानामा दुःख दिन गरेको आयोजनाका अधिकारीहरुको आरोप छ। यस विषयमा गृहमन्त्री बालकृष्ण खाँणलाई समेत आयोजनाको टोलीले बिफ्रिङ गरिसकेको छ। प्रहरीले सुरक्षाको सवाल उठाएर लाइसेन्स मागेपछि अरु कामदारले काम छाडेका थिए।
आयोजना प्रमुख शाक्यले अनुसार सुरुङमार्ग भित्रको काम रोकिएको भए पनि बाहिरको काम चलिरहेको दाबी गरे।
'सुरुङमार्गभित्रको काम रोकिएपनि बाहिरको तिहार लगत्तै काम सुरु भएको छ,' उनले भने,' कामदारहरु तिहार मानेर फर्कने क्रम जारी छ। फुलफ्लेजमा काम हुन भने केही समय लाग्न सक्छ।' आयोजना तिहार अघि करिब ६ सय जना प्राविधिक सहितका कामदारहरु कार्यरत थिए। सुरुङमार्गभित्रको काम चार वटा सिफ्टमा हुन्छ। एउटा सिफ्टमा करिब २० जना हुन्छ। २० जनाले दरले ८० जनाले सुरुङमार्गभित्र दैनिक काम गर्ने गरेका छन्।
जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको नागढुंगा-नौबिसे सुरुङमार्ग नेपालका लागि यस्तो पहिलो ठूलो परियोजना हो। यसका लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ। २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट ब्यहोर्ने छ।
करिब २.७ किलोमिटरको यो सुरुङमार्ग चन्द्रागिरी नगरपालिका-१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कनेछ। दुई लेनको यो सुरुङमार्गसँगै समानान्तर हुने गरि इभाकुएसन टनेल समेत निर्माण भइरहेको छ। आपतकालीन रूपमा प्रयोग गर्नका लागि इभाकुएसन टनेल निर्माण गरिएको हो। जुन प्रत्येक २५० मिटर मुख्य सुरुङमार्गसंग भित्र बाहिर गर्न मिल्ने गरि जोडिनेछ।
दुवै टनेलको गरि १८ सय मिटर खन्ने काम पुरा भएको छ। काठमाडौं र धादिङ दुवैतिरबाट एक साथ काम सुरु भैरहेको छ। आयोजनाका काम सुरु भएयता हालसम्मको भौतिक प्रगति २३ प्रतिशत पुगेको छ।