नेपाल लाइफबाट किन हुन सकेन प्रसाइँको ‘ग्रेसफुल एक्जिट’? ‘सरकारी पाराले व्यापार भएन’

बिजमाण्डू
२०७८ कात्तिक २३ गते १६:०० | Nov 9, 2021
नेपाल लाइफबाट किन हुन सकेन प्रसाइँको ‘ग्रेसफुल एक्जिट’? ‘सरकारी पाराले व्यापार भएन’

काठमाडौं। नियुक्ति पाएको ८ महिनामै देशको 'नम्बर वान' जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट सन्तोष प्रसाईँ बाहिरिएका छन्। उनको बहिर्गमन भने 'ग्रेसफुल' हुन सकेन।

Tata
GBIME
Nepal Life

सञ्चालक समितिका सदस्यहरु र आफू मातहतका उच्च व्यवस्थापनसँगको समस्याले उनी चार वर्षको कार्यकाल ८ महिनामा नै टुङ्ग्याएर बाहिरिएका हुन्।

प्रसाइँले बिजमाण्डूसँगको कुराकानीमा- सञ्चालक समितिसँग 'फरक मत' भएपछि बाहिरिएको प्रतिक्रिया दिएका छन्। 

प्रसाई नेपाल लाइफमा नियामक बीमा समितिबाट आएका हुन्। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनी केही समयलगत्तै नायब प्रमुख कार्यकारी अधिकृत भए। त्यसको एक वर्षपछि बिबेक झा बाहिरिए। उनी कामु प्रमुख कार्यकारी अधिकृत बने। सञ्चालक समितिले चार वर्ष उनको काम हेरेपछि बल्ल प्रमुख कार्यकारी अधिकृत बनाएको थियो।

बजार हिस्सा ३५ प्रतिशतमाथि पुगिसकेको कम्पनीको प्रमुख कार्यकारीले किन अचानक राजीनामा दिनु पर्‍यो? सञ्चालक समितिसँग के कुरामा फरक मत भयो? 

सञ्चालकहरुको आरोप पत्याउने हो भने- प्रसाईले कम्पनीको नेतृत्व लिएपछि व्यापार विस्तार हुने होइन उल्टो घट्न थाल्यो। बजार हिस्सा ३५ प्रतिशतबाट २६ प्रतिशतमा झर्‍यो। नाफाको ग्राफ पनि ओरालो लाग्न थाल्यो।

त्योभन्दा गम्भीर आरोप- प्रसाइँको स्वभावजन्य कारणले उनी कसैसँग घुलमिल नै हुन नसक्ने, कर्मचारीलाई कामै लगाउन नसक्ने, नियामकसँग पनि 'जेन्युन' कुरा गर्न नसक्ने भन्ने छ।

'सीइओ भनेको ठूलो जिम्मेवारी हो। त्यहाँ उसले आफ्नो लिडरसिप क्यापसिटी देखाउनु पर्छ,' एक सञ्चालकले भने, 'केही कुरामा पनि उनी अग्रसर भएनन्। कोठाभित्र बस्यो, त्यहीँबाट निर्देशन जारी गर्‍यो, पुरै सरकारी पारा देखाउँदा कम्पनीको भने ओरालो यात्रा सुरु भइसकेको थियो।'

त्यही भएर सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघाइले प्रसाईलाई डाकेर 'कि व्यापार बढाउन नभए विकल्प दिन' भनेको स्रोतको दाबी छ। यो घटना ६ महिना अगाडिको हो।

प्रसाईले सीमित कर्मचारीको घेरामा बस्ने र व्यापार बढाउनका लागि अग्रसरता नै नदेखाएको सञ्चालकहरुको दाबी छ। 'उहाँ सेकेन्डम्यानसम्म ठिकै हो रहेछ, लिडरसिप क्यापसिटी भने रहेनछ,' ती सञ्चालकले भने, 'व्यापार गर्नुपर्ने पेसामा सरकारी पाराले काम गर्नु पर्ने स्वभाव रहेछ। त्यसले गर्दा समस्या भयो। कम्पनी अगाडि बढ्नै सकेन।'

यता प्रसाईतिरको तर्क भने फरक छ। बिबेक झा प्रमुख कार्यकारी अधिकृत हुँदा उनलाई सहयोग गरेर कम्पनी 'नम्बर वान' हुन सफल भएको हो। त्यतिबेलै बनाएको 'पाँच वर्षे रणनीतिक योजना' अनुसार काम भइरहेको छ। 

'त्यतिन्जेल सरकारी पारा नहुने। अनि अहिले आएर हुने भन्ने तर्क कत्तिको सही छ?' प्रसाईले बिजमाण्डूसँग भने, 'धेरै कुरा अहिले भन्न मिल्दैन। केही अन्तर-विरोध थियो। फरक मत भयो। त्यही भएर छाडेको हो।'

स्रोतका अनुसार, प्रसाईलाई सोध्दै नसोधी सञ्चालक समिति आफैं हाबी भएर उनीमुन्तिरका कर्मचारी भर्ना, बढुवालगायत हुन थाल्यो। त्यसरी ल्याइएका र बढुवा गरिएका कर्मचारीले प्रसाईले लाएअह्राएको काम गर्न छाडे। 

'सञ्चालक समितिबाट त समस्या भइरहेको थियो नै व्यवस्थापनका कर्मचारीले पनि टेर्न छाडे,' प्रसाई निकट एक कर्मचारीले भने, 'काम गर्नलाई हातखुट्टा बाँधिएको अवस्था थियो। अति भएपछि छाड्नुको विकल्प भएन।' उनका अनुसार, संघाइले प्रसाईलाई बोलाएर 'कि काम गर्न नभए विकल्प दिन' कहिले पनि भनेनन्। 

'सञ्चालक समितिबाट राजीनामा माग भएको भए उहाँले उत्तिबेलै दिइहाल्नु हुन्थ्यो नि,' स्रोतको दाबी छ, 'राजीनामा पनि नमाग्ने र काम गर्न पनि नदिने अवस्था सृजना भएपछि छाड्नु भएको हो।' प्रसाईले पनि नियुक्त भएको २ महिनाबाट तालमेल नमिलेको बिजमाण्डूसँग बताए।

जानकारहरुका अनुसार, सञ्चालक समितिले पनि निकास नमागेको र प्रसाईले पनि नदिएको अवस्था थियो। त्यही बेला प्रमुख कार्यकारीको खोजी सुरु भएपछि प्रसाईले छाडेका हुन्।

प्रसाई प्रमुख कार्यकारी हुँदै सञ्चालकहरुले केही बैंकरहरुसँग नेपाल लाइफको नेतृत्व गर्न प्रस्ताव गर्दै हिँडेका थिए। उनीहरुले विभिन्न वाणिज्य बैंकहरुका दोस्रो तहका (सेकेन्ड म्यान) बैंकरलाई प्रमुख कार्यकारी प्रस्ताव गरेका थिए। यो कुरा थाहा पाएपछि प्रसाईले तिहार बिदा सकिएकै दिन राजीनामा गरेका हुन्। त्यही दिन सञ्चालक समितिले पनि उनको राजीनामा स्वीकृत गरेको थियो।