तरलताको हाहाकार: सीआरआर कायम गर्ने पनि पैसा नभएपछि ४५ अर्ब रुपैयाँ सापटी चलाए बैंकले

बिजमाण्डू
२०७८ कात्तिक २२ गते १६:३८ | Nov 8, 2021
तरलताको हाहाकार: सीआरआर कायम गर्ने पनि पैसा नभएपछि ४५ अर्ब रुपैयाँ सापटी चलाए बैंकले


काठमाडौं। तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन (सोमबार) बैंक तथा वित्तीय संस्थाहरुले ४५ अर्ब ३० करोड रुपैयाँभन्दा बढि रकम राष्ट्र बैंकसँग सापटी लिएका छन्।

Tata
GBIME
Nepal Life

चरम तरलता अभाव भएर अनिवार्य तरलता अनुपात (सीआरआर- ३ प्रतिशत) र तरलता अनुपात (एलडी रेसियो- २० प्रतिशत) समेत कायम गर्न नसक्ने अवस्था भएपछि बैंकहरुले आधा खर्ब हाराहारी सापटी लिएका हुन्। यसमा अन्तर बैंक सापटी जोडिएको छैन।

अहिले एक दर्जन बैंक कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्। उनीहरु एलडी र कर्जा-निक्षेप अनुपात (सीडी रेसियो-९० प्रतिशत माथि) बढि भएका कारणले ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन्। 

दिनभरीमा २४ वटा बैंक तथा वित्तीय संस्थाहरुले 'तरलता चाहियो' भन्दै राष्ट्र बैंकको ढोका ढक्ढकाएका थिए। उनीहरुले पाँच प्रतिशत ब्याज दरको स्थायी तरलता सुविधा (एसएलएफ) चलाए भने साढे तीन प्रतिशत ब्याजको 'ओभर नाइट रिपो' चलाएका छन्। 

एसएलएफ २१ वटा संस्थाले चलाए भने ओभर नाइट रिपो ३ वटाले चलाएका छन्। 'सीआरआरसमेत कायम गर्न सक्ने पैसा नभएपछि राष्ट्र बैंकसँग सापटी लिइएको हो' एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'तोकिएको सीमाभन्दा बााहिर जाने बित्तिकै राष्ट्र बैंकले जरिवाना ठोकेर प्रेस रिलिज नै जारी गर्छ। त्यसो हुँदा बरु उसै (राष्ट्र बैंक) सँग ब्याज पैसा लिएर उसैकोमा सित्तैमा राखिएको हो।' 

राष्ट्र बैंकले सीआरआर बापत (कुल निक्षेपको) तीन प्रतिशत रकम आँफैसँग राख्छ तर त्यसको ब्याज भने दिँदैन। 

बैंक तथा वित्तीय संस्थाले तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन ४४ अर्ब १० करोड रुपैयाँ स्थायी तरलता सुविधा चलाएका हुन्। तिहार बिदा सुरु हुनु अघिल्लो दिन ४० अर्ब ८२ करोड रुपैयाँ चलाएका थिए। त्यसको भुक्तानी सकिन तीन दिनन बाँकी रहँदा थप ४४ अर्ब सापटी लिएका हुन्।

यसबाहेक सोमबार एक अर्ब २० करोड ५० लाख रुपैयाँ ओभरनाइट रिपो चलाएका छन्। 

बैंकहरुको कुल दायित्व (राष्ट्र बैंकसँग लिएको सापटी) ९४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यसमध्ये २० अर्ब सात दिने रिपो छ भने एक अर्ब २० करोड ५० लाख रुपैयाँ ओभरनाइट रिपो छ। बाँकी ७३ अर्ब ७१ करोड रुपैयाँ स्थायी तरलता सुविधाको दायित्व छ।

चालु बर्ष मात्र बैंक तथा वित्तीय संस्थाले १३ खर्ब ९ अर्ब ५६ करोड रुपैयाँ लगिसकेका छन्। ६३५ पटक लगेका हुन्।

गभर्नर महाप्रसाद अधिकारीले भने बैंकहरुमा बाहिर भनिएजस्तो तरलता अभाव नभएको र ऋण लगानीका लागि पैसा अभाव नहुने बताउने गरेका छन्। 

नेपाल राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीति जारी गरेपछि प्रणालीमा तरलता अभाव चर्किएको छ। राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात (सेयरधनीको पुँजीसमेत जोडेर ८५ प्रतिशत) खारेज गरे सीडी रेसियो (सेयरधनी पैसा, बिदेशी मुद्राको निक्षेप जोड्न पाइँदैन) कायम गरेको छ। सीडी ९० प्रतिशतभन्दा माथि जान हुँदैन।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मापदण्ड भन्दै नीति परिवर्तन गरेपछि तरलता अभाव चर्किन थालेको हो। राष्ट्र बैंकले शुत्र परिवर्तन गरेकै दिन औषत सीसीडी ९१ प्रतिशत पुगेको थियो। अहिलेको ब्यवस्था अनुसार निक्षेप नउठाइ ऋण दिन पाइँदैन। तर, बैंकहरुले ४५ अर्ब रुपैयाँ निक्षेप उठाएर ३ खर्ब रुपैयाँ ऋण दिइसकेका छन्। यसले पनि तरलता अभाव चर्किएको हो।

'ऋण दिइहालौं। ब्याज आम्दानी गरिहालौं। निक्षेप खोज्दै गरौंला भन्ने चिन्तनले पनि तरलता अभाव चर्किएको हो' एक बैंकरले भने, 'तर मूख्य दोश राष्ट्र बैंककै छ। ऋणको माग उच्च दरले भएपछि त्यही अनुसारको तरलता बन्दोबस्त गर्ने उपायहरु उसले गर्नु पर्छ।'