टीआइए महाप्रबन्धकमा प्रतापबाबु तिवारीको ९ महिने कार्यकाल, यस्ता छन् अगाडि बढाएका काम

बिजमाण्डू
२०७८ कात्तिक २१ गते १४:५५ | Nov 7, 2021
टीआइए महाप्रबन्धकमा प्रतापबाबु तिवारीको ९ महिने कार्यकाल, यस्ता छन् अगाडि बढाएका काम

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणमा नयाँ महानिर्देशकको नियुक्ति भएसँगै एक साता अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्।

Tata
GBIME
Nepal Life

प्राधिकरणको महाप्रवन्धकमा राजकुमार क्षेत्री आएपछि प्रतिस्पर्धीको रूपमा रहेका तिवारीलाई भक्तपुरको प्रतिष्ठानमा सरुवा गरिएको छ। तिवारी विमानस्थलमा महाप्रबन्धक पद सम्हालेका १२ औं तहका कर्मचारी हुन्। अहिले विमानस्थलको महाप्रबन्धकमा भोला गुरागाईँ नियुक्त भएका छन्।

'आफ्नो ज्ञान, बुद्धि, विवेकले जाने सम्म संस्थागत हितलाई सर्वोपरि ध्यान दिई काम गरेँ। अनावश्यक दबाबलाई अस्वीकार गरेँ,' उनले भने,'विमानस्थलको सेवा विस्तार लक्षित एक वर्षे योजना तयार गरेको थिएँ। बजेट अझै पारित भएको छैन। अचानक सरुवा भएको छ। यी योजनाले कार्यान्वयन त होलान् नि? 'उनले भने।

विमानस्थल को गुरुयोजना कार्यान्वयन नहुँदा सम्म करिब १० वर्षपछिको यात्रु मागलाई सम्बोधन गर्ने गरी खाली क्षेत्र र हालको संरचनाको अधिकतम प्रयोगमा ल्याउने गरि टर्मिनल तथा पार्किंङको क्षमता विस्तारका काम अगाडि बढाइएको उनले जानकारी दिए।

आफ्नो कार्यकाल अवधिमा विमानस्थलमा आउने यात्रु सेवा प्रभावकारिता बनाउनका लागि 'वी केयर फर यु' नारा सहितको व्यवस्थापन सुरु भएको थियो। 'कोभिड-१९को समयमा विमानस्थल संचालनसँगै यात्रु सेवा व्यवस्थापन चुनौतीकै विषय थियो। जोखिमयुक्त विषम परिस्थिति सम्हाल्दै, विमानस्थलस्थित विभिन्न निकायबीच निकट समन्वयमा उडान तथा यात्रु हरुको सक्दो सहज व्यवस्थापनको काम गरियो,' उनले भने।

कोभिड-१९ संक्रमण दर घट्दै जाँदा विशेष गरी आन्तरिक तर्फको उडानमा रहेको बढ्दो मागलाई मध्यनजर गर्दै तिवारीले संक्रमणरहित उडानका लागि टर्मिनल क्षमता व्यवस्थापन गरेका थिए। विमानस्थलका अनुसार हाल आन्तरिकतर्फ दैनिक १४ हजारभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् भने अन्तर्राष्ट्रियतर्फ पनि यात्रु संख्या पहिलाकै अवस्थामा आउन लागिसकेको छ।

तिवारीले आफ्नो कार्यकाल अवधिभर विमानस्थलमा सेवा लिँदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, आउटलेटबाट लिइने बक्यौता असुलीमा कडाइ गर्दै सुधार गरेका थिए। यो अवधिमा विमानस्थलको राजस्व गत वर्ष को तुलनामा दोब्बर वृद्धि हुने आशा लिएको उनी बताउँछन्।

उनका अनुसार विमानस्थलमा आइटी, डाटाबेस सिस्टम सुधार हुँदै गएको छ भने विमानस्थल को एयर ट्राफिक कन्जेसन न्यूनीकरण गर्ने उद्देश्यले 'युनिफर्म टाइम डिस्ट्रिब्युसन अफ ट्राफिक थ्रु आउट द डे' अवलम्बन गरिएको छ। यो प्रणाली लागू गरेसँगै क्रमिक रुपमा ट्राफिक कन्जेसनको समस्या न्यूनीकरण हुँदै गएको उनले जानकारी दिए।

आफ्नो कार्यकाल अवधिमा विमानस्थलको टर्मिनलको क्षमता विस्तार गर्दै आवागमन क्षेत्र आकर्षक बनाउनका साथै फाउन्टेनलाई परम्परागत शैलीमा आकर्षक बनाउने क्रममा रहेको उनले जानकारी दिए।

तिवारीकै कार्यकालमा विमानस्थलको आन्तरिक क्षेत्रमा सुरक्षित र वैज्ञानिक व्यवस्थापनको सुधार सँगै आन्तरिक उडानका लागि प्रयोग हुने अनावश्यक उपकरण र यात्रुबसलाई व्यवस्थित गर्ने प्रक्रिया अघि बढेको थियो। विमानस्थल भित्र विद्युतीय बसको प्रयोगका लागि प्राधिकरणले वायुसेवा कम्पनीलाई पत्रचार गरिसकेको छ।

विमानस्थलको आवगमन क्षेत्रमा थप ब्यागेज बेल्ट सञ्चालनको तयारी रहेको उनले जानकारी दिए। पर्यटन मन्त्रालयको निर्देशनमा टर्मिनलबाट गोल्डेन गेट/पार्किंङ क्षेत्र सम्म निःशुल्क बस सेवाको तयारीको छलफल गरिएको उनले जानकारी दिए।