विश्वसँगको सहज सम्पर्कबाट टाढा रहेको देश उत्तर कोरियाले कोभिड महामारीपछि उच्च खाद्यान्न संकट भोगिरहेको सार्वजनिक भएको छ। उत्तर कोरियाले सँधै खाद्यान्न संकट भोगिरहेको थियो तर कोरोना महामारीपछि भने त्यहाँको अवस्था अझ बढी बिग्रिएको बताइएको छ।
उत्तर कोरियाका शासक किम जोङ उनले देशको वर्तमान अवस्थालाई सन् १९९० को दशकको खराब अवस्था 'आर्डुओस् मार्च' सँग तुलना गरेका छन् जुन समय त्यहाँ हजारौं नागरिकले भोकमरीका कारण ज्यान गुमाएका थिए।
त्यसो त उत्तर कोरियाभित्रको सूचना बाहिरी संसारसम्म पुग्न कठिन छ। अझ सूचनाको स्रोतसम्मको पहुँच दिनदिनै अझ कठिन बन्दै गएको छ। चीनसँगको सीमाक्षेत्र कोभिड महामारीका कारण गत वर्षको जनवरीदेखि नै बन्द छ। दक्षिण कोरियामा रहेका आफन्तहरुलाई सूचना दिन पनि उत्तर कोरियाली नागरिकको लागि उच्च जोखिम मानिन्छ । त्यहाँ अनधिकृत मोबाइल फोन बोक्ने नागरिकलाई श्रम शिविरमा पठाइने गरिएको छ। तथापि केही नागरिकहरुले चिठी वा भ्वाइसमेलका माध्यमबाट आफ्ना नातेदाहरुलाई खबर पठाउने गरेका छन्।
यो वर्ष उत्तर कोरियाको खादयान्न उत्पादनको अवस्था पनि नाजुक छ। गत वर्षको खेती पटक पटक आएको आँधीले बिगारिदिएको थियो। संयुक्त राष्ट्रसंघले गरेको एक अनुमान अनुसार उत्तर कोरियालाई यतिबेला दुई देखि तीनमहिनासम्मको लागि खाद्यान्न अपुग हुन सक्छ।
यस वर्ष राम्रो उत्पादनका लागि उत्तर कोरियामा दशौं हजार नागरिकलाई धान र मकै खेतीका लागि खेतमा परिचालन गरिएको छ। यस कामका लागि त्यहाँ आर्मीलाई पनि खेतीमा पठाइएको छ।
शासक किम जोङ उनले उत्तर कोरियाका खाना खाने जति सबै नागरिकलाई खेतीमा अनिवार्य जान र सघाउन निर्देशन दिएका छन्। यस योजनाले उत्पादन प्रक्रियामा कम नोक्सानी होस् भन्नाका लागि सरकारले यो योजना अनुसार काम गरेको बताइएको छ।
उत्तर कोरिया खासमा उसको खेतीको प्रविधि र उसको बाहिरी संसारसँगको सीधा सम्पर्क नहुनाले खाद्यान्न संकटमा पर्दै गएको देखिन्छ।
प्योङयाङले नयाँ मिलिटरी प्रविधि र मिसाइलहरुमा अति नै लगानी गर्यो तर आफ्नो कृषि उत्पादनलाई सफल बनाउन आवश्यक आधुनिक मेशिनरीमा भने कुनै खर्च गरेन।
कोरियन रुरल इकोनोमिक इन्स्टिच्यूटका चोइ योङ्हो भन्छन्-'कृषि उपकरणहरुको अपर्याप्त आपूर्तिका कारण नै खाद्यान्नको उत्पादनमा कमी देखिएको हो।'
प्रविधि तथा कृषि सामाग्रीहरुको आपूर्तिमा देखिएको कमीका कारण उत्तर कोरियाले दीर्घकालीन रुपमा नै आफ्नो खाद्यान्नलाई सुरक्षित गर्न समस्या परिरहेको विश्लेषकहरुले बताएका छन्।
उत्तर कोरियालाई जलवायू परिवर्तनले अति जोखिममा परेको ११ वटा देशभित्र सूचीकृत गरिएको छ। प्राकृतिक प्रकोपहरुले पनि उत्तर कोरियाको अनाज उत्पादनलाई प्रभावित पारेको छ। सँधै बाढी, मनसुन, वर्षा र आँधीहरुका कारण उत्तर कोरियाको खेतीलाई प्रत्यक्ष प्रभावित बनाइरहेको अवस्थामा कोभिड महामारीपछि अझ बढी गम्भीर समस्या आइपरेको हो।
सन् २०१९ को ग्रीन क्लाइमेट फण्ड रिपोर्ट अनुसार उत्तर कोरियाको तापक्रम सन् २०५० सम्ममा २.८ देखि ४.७ डिग्री सेल्सियसले अझ बढ्ने अनुमान गरिएको छ।
कन्भर्जिङ क्राइसिस नामक प्रतिवेदनले उत्तर कोरियाको धान खेतीलाई भविष्यमा बाढी र खडेरीले अझ बढी प्रभावित पार्दै लैजाने उल्लेख छ।
अवस्था अझै पनि त्यति बिग्रिनसकेको र चीनसँगको नाका फेरि खोल्ने तयारी भएकाले केही आशावादी हुन सक्ने ठाउँ रहेको पनि अधिकारीहरुले बताएका छन्। तर उत्तर कोरियालाई अझै कति ब्यापार र सहयोग आवश्यक पर्छ भन्ने अहिल्यै स्पष्ट नभएकोले उत्तर कोरियाको आर्थिक अवस्थामा सुधार आउँछ यसै भन्न सकिन्न। यसपालीको हिउँदमा उत्तर कोरियामा निम्न वर्गका नागरिकहरु भोकमरीको चपेटामा पर्ने चिन्ता संयुक्त राष्ट्रसंघले व्यक्त गरेको छ।