
विराटनगर। अर्थमन्त्री जनार्दन शर्माले ल्याएको पूरक बजेटमा फलामे कच्चा पदार्थको भन्सार महसुलमा गरिएको परिवर्तनले बिलेटको आयात घट्न थालेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिका तुलनामा चालु वर्षको पहिलो त्रैमासिक अवधिमा बिलेटको पैठारी घटेको हो।
अर्थमन्त्री शर्माले गत भदौ २४ गते पूरक बजेट प्रस्तुत गर्दै मेल्टिङ युनिटले प्रयोग गर्ने स्पन्ज आइरन र फलामे स्क्रयाप आयात गर्दा लाग्ने ५ प्रतिशत भन्सार महसुल र किलोमा १ रुपैयाँ ६५ पैसा अन्तःशुल्कलाई शून्य बनाएका थिए।
साथै बिलेटमा आधारित उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुने एमएस बिलेटको पैठारी गर्दा ५ प्रतिशत भन्सार महसुललाई यथावत् राखेर किलोमा १ रुपैयाँ ६५ पैसाको अन्तःशुल्कलाई २ रुपैयाँ ५० पैसा निर्धारण गरेका थिए।
अर्थमन्त्री शर्माले यसबाट आयात प्रतिस्थापन हुने र स्वदेशी कच्चा पदार्थको खपत बढ्ने तर्क दिएका थिए। उनले भनेझैं एमएस बिलेटको पैठारी घटेको छ ।
विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासिक अवधिमा विराटनगर नाकाबाट १ अर्ब ८४ करोड ७६ लाख मूल्यको ३८ हजार ३ सय ५४ टन एमएस बिलेट पैठारी भएको थियो। चालु वर्षको यही अवधिमा १ अर्ब ४८ करोड ७० लाख मूल्यको २० हजार ८ सय ७० टन एमएस बिलेट भित्रिएको छ।
चालु आर्थिक वर्षका प्रथम ३ महिनाको तथ्यांक हेर्दा असोज महिनामा बिलेटको पैठारी घटेको पाइएको छ। यसलाई भदौ २४ को पूरक बजेटको असर मानिएको छ। विराटनगर नाकाबाट साउनमा ६ हजार ७ सय ४८ र भदौमा ९ हजार ९ सय ९४ टन एमएस बिलेट पैठारी भएको छ भने असोजमा आइपुग्दा घटेर ४ हजार १ सय २७ टन आयात भएको पाइएको छ।
जबकि, गत आवको प्रथम त्रैमासिक अवधिमा साउनभन्दा भदौमा बढी र भदौभन्दा असोजमा बढी एमएस बिलेटको आयात भएको देखिन्छ। गत आवमा साउनमा ८ हजार ७ सय ५ टन र भदौमा १० हजार ६२ टन र असोजमा १९ हजार ५ सय ८५ टन आयात भएको थियो।
बिलेटमा आधारित उद्योगीहरूले स्क्रयाप, स्पन्ज र बिलेट तीनवटै पैठारी गर्दाको महसुल संरचनालाई पूर्ववत् बनाउनु पर्ने माग राख्तै आएका छन्। अर्थमन्त्री शर्माले उद्योगीको माग सम्बोधन गर्दै राजस्व सचिव कृष्णहरि पुष्करका संयोजकत्वमा अध्ययन दलको गठन गरेका छन्।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् प्रिमियर स्टिलका सञ्चालक पवन शारडाले पहिले अर्डर भएको मालमात्र उद्योगहरूले उत्पादन गरिरहेका हुँदा कच्चा पदार्थको पैठारी कम भएको बताए। बिलेटमा आधारित उद्योगले मेल्टिङ युनिटमा आधारित उद्योगसित प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उत्पादन घटाउनु वा बन्द गर्नुको विकल्प नभएको उनको प्रतिक्रिया छ।
हुलास वायरका प्रबन्धक मुकेश कोठारी र आरती स्टिलका उपाध्यक्ष अश्विनी शर्माले डेढ महिनादेखि उद्योगको टीएमटी युनिट बन्द गरिएको बताएका छ्न। कमला स्टिलका जगदीश अग्रवालले भने, ‘हामी अहिले ६० प्रतिशतभन्दा बढी उत्पादन कटौती गरेका छौं। कमला स्टिल जीवनकै कठिन परिस्थितिबाट गुज्रिरहेको छ।’