
विराटनगर। भारतले पाम, भटमास र सूर्यमुखीको कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुलमा दुई तहभन्दा बढीले कटौती गरेपछि नेपालका तेल उद्योग संकटमा परेका छन्।
विगत तीन वर्षदेखि भन्सार फरकको फाइदा उठाउँदै भारत निकासी गर्दै आएका तेल उद्योग संकटमा पर्ने भएका हुन्। उद्योगीका अनुसार भन्सार फरकको फाइदा देखेर स्थापना गरिएको उद्योग सबैभन्दा पहिला संकटमा पर्न थाल्नेछन्।
नेपालमा रहेका उद्योगले भटमास र पाम तेलमा आफ्नो उत्पादनको ८० प्रतिशत भन्दा बढी भारतमा निकासी गर्दै आएका थिए। ‘हेर्दै जानुहोला, डिसेम्बरको अन्तिम हप्तापछि यहाँका धेरै रिफाइनरी बन्द हुनेछन्’, उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष एवम् क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले बिजमाण्डूसँग भने, ‘सबै उद्योग निर्यातमै टिकेका छन्। आन्तरिक खपतमा मात्र बढीमा एक तिहाई उद्योग चल्न सक्छन्। यस्तो अवस्थामा उद्योग बन्द गर्नुको विकल्प छैन।’
उनले आफ्नोे दैनिक १ सय ५० टन क्षमताको उद्योगलाई २ सय ५० मा विस्तार गरिरहेपनि लगानी खेर जाने अवस्था आएको बताए।
पशुपति खाद्य तेल उद्योगका निर्देशक अमित शारडाले भारत निकासी नभए २१ वटा तेल उद्योगको २० अर्बभन्दा बढीको कच्चा पदार्थ खेर जाने बताए।
उनका अनुसार आफ्नो उद्योगमा मात्र सबा अर्बको कच्चा तेल बाँकी छ। प्रत्येक उद्योगले ७५ लाखदेखि डेढ अर्बसम्मको कच्चा तेल राखेका छन्। ‘हामीले असोज २७ भन्दा पहिलेको अर्डर क्यान्सिल गर्न मिल्दैन, यसो गर्नु व्यावसायिक धर्म पनि होइन’, शारडाले भने, ‘तर भारतीय व्यवसायीबाट नयाँ अर्डर कुनै उद्योगले पनि लिएका छैनन्। त्यसैले पुरानो सौदाको तेल अझै २ महिनासम्म जानेछ।’
उनले उद्योग विस्तार र नयाँ उद्योगमा गरिएको लगानी उठ्न सक्ने कुरामा शङ्का भएको बताए। शारडाको उद्योग दैनिक २ सय ५० टनबाट ४ सय टन क्षमतामा भर्खरै विस्तार गरिएको छ। शारडाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार वृद्धि भइरहे पनि नेपालमा तयारी तेलको मूल्य दुई हप्तादेखि स्थिर भएको उल्लेख गरे।
उनले अन्तर्राष्ट्रिय बजारमा एक हप्ताअघि भटमासको कच्चा तेलको मूल्य टनको १४ सय २० भएकोमा हाल १५ सय डलर पुगेको बताए। त्यस्तै सूर्यमुखीको कच्चा तेलको मूल्य पनि टनको १३ सय डलरबाट १५ सय ३० डलर पुगेको छ। सूर्यमुखी र भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट पैठारी गरिन्छ।
इन्डोनेसिया र मलेसियाबाट आयात गरिने कच्चापाम तेलको मूल्य पनि टनको ११ सय ८० बाट १३ सय ८० पुगेको छ। सेलो ब्रान्डका तेलको उत्पादक वाग्मती आयल इन्डस्ट्रीका सञ्चालक देवकीनन्दन अग्रवालले भने, ‘यति बेला तीन थरीकै तेलमा प्रति लिटर कम्तीमा १० रुपैयाँ मूल्य वृद्धि हुनुपर्ने हो। भारत निकासी नभएकोले मूल्य बढेन।'
उद्योगी अग्रवालका अनुसार वाग्मती आयलमा यसअघि पामोलिनका लागि युनिट थिएन। भारततर्फ पामोलिनको निर्यात तीव्र हुन थालेपछि उद्योगले क्षमता विस्तार गर्दै पामोलिनका लागि पनि युनिट थपेको छ। तर अब त्यो युनिट कहिले चल्ने हो कुनै टुङ्गो छैन।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् एभरेस्ट सोलभेन्टका सञ्चालक अविनाश बोहराले नेपालका उद्योगीले आफूले निर्यात गर्ने बराबरको कच्चा सामग्री बैङ्क ग्यारेन्टी र पासबुक सुविधाको उपयोग गरेर शून्य भन्सार दरमा पैठारी गर्न पाउने भए पनि भारतीय उद्योगसित प्रतिस्पर्धा गर्न नसक्ने बताए।
भारतीय अर्थ मन्त्रालयको असोज २७ को नोटिफिकेसन अनुसार कच्चा पाम तेलको पैठारीमा लाग्ने २४ दशमलव ७५ प्रतिशत भन्सार महसुललाई १६ दशमलव ५ प्रतिशत घटाएर ८ दशमलव २५ प्रतिशत कायम गरिएको छ। त्यस्तै भटमास र सूर्यमुखीको कच्चा तेलमा लाग्ने २४ दशमलव ७५ प्रतिशत भन्सार महसुललाई १९ दशमलव २५ प्रतिशतले घटाएर ५ दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ।
‘पहिलो कुरा त, भारतीय आयातकर्ताहरू टनमा कम्तीमा १० डलर त्यसै पनि सस्तो खरिद गर्न पाउँछन्’, उद्योगी बोहराले भने, ‘हामीले १ हजार टन कच्चा तेल खरिद गर्न भारतीयहरूले १० हजार टन खरिद गरिरहेका हुन्छन्। बल्कमा खरिद गरेपछि उनीहरूको सौदा स्वतः सस्तो पर्न जान्छ। नेपालका उद्योगहरू दैनिक ५० देखि ४ सय टन क्षमताका छन् भने भारतमा कम्तीमा १ हजार टनभन्दा माथिका छन्।’
उनले थपे, ‘दोस्रो के छ भने, नेपालका उद्योगीले हल्दिया बन्दरगाहमा ट्याङ्क भाडामा लिएर कच्चा तेल राख्ता र त्यहाँबाट उद्योग परिसरसम्म ढुवानी गर्दाको खर्चले उत्पादन लागतमा ठूलो असर पारेको हुन्छ।’ अविनाशका अनुसार हल्दिया बन्दरगाहमा महिनाको प्रति टन भारु १ सय ७५ देखि २ सय रुपैयाँ तिरेर महिनौँसम्म कच्चा तेलको मौज्दात राख्नुपर्छ। त्यस्तै हल्दियाबाट नेपालस्थित उद्योग परिसरसम्म कच्चा तेल ढुवानी गर्दा प्रति लिटर नेरु ५ रुपैयाँ ५० पैसा खर्च छ।
उनले भारततर्फ प्रशोधित खानेतेलको निर्यात बन्द हुँदा वार्षिक ७० अर्बभन्दा बढीको निकासीमा असर पुग्ने र व्यापार घाटालाई अझ फराकिलो हुने बताए।
धेरैको स्थगित, केहीको सञ्चालन हुने
भारततर्फ प्रशोधित तेलको निर्यातबाट आकर्षित भएर केही उद्योगीले सुरु गरेको नयाँ उद्योग तत्कालका लागि स्थगित गरेका छन्।
विराटनगरका महेश जाजू र नवीन रिजालको संयुक्त लगानीमा आइरहेको नयाँ उद्योग, सुरेश राठी र देवेनरा मुन्दडा समूहको संंयुक्त लगानीमा सुरु हुन लागेको नयाँ उद्योग, पूर्व राज्यमन्त्री मोती दुगडले ल्याउने भनिएको रिफाइनरीको नयाँ उद्योग र एसीसी इँटाका उत्पादक सन्तोष भगतले लगाउने भनेको नयाँ उद्योग तत्कालका लागि स्थगित गरिएका छन्।
उल्लिखित सबै उद्योगीले नयाँ उद्योग लगाउने काम तत्कालका लागि रोकिएको पुष्टि गरे। तर काबरा ग्रुप र सञ्जय कोइरालाले छुट्टाछुट्टै निर्माण गरिरहेका २ उद्योग भने सञ्चालनमा आउने भएका छन्। उद्योगी श्याम काबराले भने, ‘हाम्रो उद्योगको निर्माण लगभग अन्तिम चरणमा पुगिसकेको छ। त्यसैले केही समयमै यसको सञ्चालन गरिनेछ।’
विराटनगरबाट निकासी तथ्याङ्क
विराटनगर नाकाबाट गत आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ बराबरको ९० हजार ३ सय ३३ टन भटमासको तेल भारत निकासी गरिएको छ। त्यस्तै ४५ करोड बराबरको २६ सय २० टन सूर्यमुखी तेलको निर्यात गरिएको छ।
उक्त आवमा पाम तेलको निकासी भने १ लाख रुपैयाँ बराबरको नगण्य छ। गत आवको पहिलो तीन महिनामा पाम तेलको निकासी शून्य देखिन्छ भने भटमासको तेल २ अर्ब २६ करोड ९३ लाख रुपैयाँ बराबरको १६ हजार २ सय २ टन निर्यात गरिएको छ। त्यस्तै सूर्यमुखीको तेल ९ करोड बराबरको ५ सय ९२ टन निर्यात गरिएको तथ्याङ्क छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा निकासीको तथ्याङ्क ह्वात्तै बढेको देखिएको छ। गत तीन महिनामआ ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बराबरको १६ हजार ६ सय ८६ टन पामोलिन र ७ अर्ब ३८ करोड ५५ लाख बराबरको ३१ हजार ६८३ टन भटमासको तेल निकासी गरिएको तथ्याङ्क विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको छ।
त्यस्तै ३९ करोड ७० लाख रुपैयाँको २ हजार १३ टन सूर्यमुखीको तेल निकासी गरिएको छ।