न्यायाधीश भेलाको निष्कर्ष : प्रधानन्यायाधीश जबराले नै ‘निकास’ दिनुपर्ने, भोलि भेटेर सम्झाउने

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १४:५३ | Oct 25, 2021

काठमाडौं। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेको पेसी र बोलाएको फूलकोर्ट बैठकलाई वेवास्ता गर्दै छलफलमा जुटेका न्यायाधीशहरुले भोलि प्रधान न्यायाधीशसँग निकास दिन आग्रह गर्ने निर्णय गरेका छन्। भोलि बिहान ११ बजे न्यायाधीशहरुले जबरालाई भेट्ने तय भएको छ। त्यहाँ उनलाई राजीनामा दिन आग्रह गर्ने न्यायाधीशहरुको तयारी हो।

Tata
GBIME
Nepal Life

हिजो नै १४ जना न्यायाधीशले प्रधान न्यायाधीशले डाकेको बैठक बहिस्कार गर्ने सार्वजनिक भएको थियो। आजको बैठकमा भने १३ जनामात्र न्यायाधीश सहभागी छन्। न्यायाधीश नहकुल सुवेदी भने उपचारको लागि भारत जाने भएकाले बिदामा छन्।

प्रधान न्यायाधीश जबराले आज नेपाल बार एशोसिएशन र सर्वोच्‍च अदालत बार एशोसिएशनका पदाधिकारीसहित फूलकोर्ट बोलाएका थिए। न्यायाधीशहरुको छलफल सकिएपछि फूलकोर्ट राख्ने तयारी भइरहेको अदालत स्रोतले जानकरी दिएको छ।

न्यायाधीशहरु ईश्वर खतिवडा, सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि बिदामा भएकाले छलफलमा सहभागी छैनन्। 

विभिन्न संवैधानिक नियुक्ति तथा मन्त्रिपरिषदमा समेत प्रधान न्यायाधीशले भाग खोजेपछि सर्वोच्चका प्रधान न्यायाधीश जबरा विवादको घेरामा छन्। सेफल्यान्डिङका लागि जबराले फूल कोर्ट डाकेको भए पनि अहिले छलफलमा रहेका न्यायाधीशहरुको सहभागिता के हुन्छ यकिन हुन सकेको छैन। जबराको सर्वोच्चभित्र र बाहिर पनि आलोचना भइरहेको छ। आइतवार मात्रै नेपाल बार एशोसिएशनले जबरालाई भेटेर यस विषयमा छलफल गरेको थियो। त्यही बैठकमा जबराले फूल कोर्ट डाक्ने बताएका थिए।

असहज अवस्थाका बाबजुद जबराले आफू बाहेकका सात इजलास तोकेका छन्। १३ जना न्यायाधीशका लागि इजलास तोकिएको भए पनि इजलास भने बस्न सकेको छैन। न्यायाधीशहरुले जबराविरुद्ध मोर्चाबन्दी गर्दा इजलास बस्न नसकेको हो।