
काठमाडौं। तिहार नजिकिएसँगै सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। तर व्यवसायीको अपेक्षाअनुसार मूल्यमा खासै ठूलो अन्तर आएको छैन।
कोरोनाविरुद्धको खोप सहज हुँदै जाँदा लगानीका अन्य क्षेत्र सहज भएर सुनचाँदीको कारोबार मूल्य निकै घट्न सक्ने अनुमान एकथरी व्यवसायीको थियो। त्यसरी गिरावट आएको छैन। बरु सामान्य गिरावट हुँदै फेरि क्रमिक बढ्ने क्रम देखिएको छ।
नेपाली बजारमा सोमबार सुन अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँ बढेको छ। बजार मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन आइतबार सुन ४ सय रुपैयाँले बढ्दा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँ बढ्दा प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। आइतबार १० रुपैयाँ बढ्दा प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा क्रमिक उकालो लागेको छ। सोमबार सुन प्रतिऔंस १७९९.०६ डलर र चाँदी प्रतिऔंस २४ ५१ डलरमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतिऔंस १७९२.४७ डलर र चाँदी प्रतिऔंस २४.३३ डलरमा कारोबार भएको थियो।