बेमौसमी वर्षाले एक अर्बभन्दा धेरैको क्षति अनुमान, सडक र पुलमा गरी तीन अर्ब ४० करोडको क्षति

२०७८ कात्तिक ७ गते १६:३०
बेमौसमी वर्षाले एक अर्बभन्दा धेरैको क्षति अनुमान, सडक र पुलमा गरी तीन अर्ब ४० करोडको क्षति


काठमाडौं। बेमौसमी वर्षाले सडक र पुलमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। 

Tata
GBIME

सडक विभागको तथ्याङ्क अनुसार यसवर्ष कात्तिक १ पछि आएको बेमौसमी वर्षाले १० वटा सडक/ राजमार्गका १८ स्थान अवरुद्ध बनाएको छ। जसमा तीन स्थानमा दुवैतर्फ यातायात संचालनमा ल्याइएको छ। नौ स्थानमा एकतर्फी रुपमा सवारी संचालनमा आइसकेको छ।अझै चारवटा राजमार्गको भने ६ स्थान अवरुद्ध छ।

अबको १० दिनभित्रमा सबै अवरुद्ध सडक खुलाउने योजनाका साथ काम भइरहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। 

विभागका अनुसार डुम्रे-बेसीशहर-चामे सडकको निलाघारी (३७ किमी), खोत्रो (४० किमी), दानाक्यु (४९ किमी) गरी मनाङको तीन स्थान अवरुद्ध छ। खोड्पे-चैनपुर सडकको बझाङको नारुगाडमा अवरुद्ध छ। धनगढी-सहजपुर-बुडर-स्याउले-थाकतोली-दार्चुला-तिकंर सडकको किम्तडीमा अवरुद्ध छ। जुन चीनसँगको दार्चुला बोर्डरबाट तीन किमीवर पर्छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गको खुर्कोट-घुर्मी खण्ड पनि अवरुद्ध छ।

चालु वर्ष सडक र पुलमा गरी तीन अर्ब ४० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। 'यो अनुमानित हो। साथीहरुले फिल्डमा अवरुद्ध भएका सडकहरु खुलाउने कामलाई पहिलो प्राथमिकतामा राखेर खटिइरहनुभएको छ,' थापाले भने, 'सबै ठाउँबाट विवरण आइसकेको छैन।'

जेठ २५ गतेपछि आएको वर्षाले ३० वटा राजमार्गको २४४ स्थान अवरुद्ध बनेको थियो। ९९ स्थानमा दुईतर्फी, १३९ स्थानमा एकतर्फी यातायात संचालनमा ल्याइएको छ।  देशभर गरी करिब १० किमी सडक बगाएको अनुमान विभागले गरेको छ।


Sunrise Bank