अबको प्राथमिकता भनेको ‘वन स्टप डेस्टिनेसन’ हो, पर्यटन उद्योग अब ब्याक हुँदैन

बिजमाण्डू
२०७८ असोज १८ गते ०८:४५ | Oct 4, 2021

नेपाल सरकारले विदेशी पर्यटकका लागि  नयाँ प्रोटोकल जारी गरेको छ जसअनुरुप अब नेपाल भ्रमणका लागि खुलेको छ। खोप लगाइसकेका विदेशी पर्यटक आएर क्वारेन्टिनमा बस्न पर्दैन। खोप नलगाएका विदेशी पर्यटकका लागि १० दिन क्वारेन्टिनको प्रावधान लागू गरिएको छ।

Tata
GBIME
NLIC

सबै मुलुकले सबै मुलुकमा आउजाउ गर्न दिएको छैन। जस्तो मलेसियाबाट नेपाल आउन खोजेकालाई त्यहाँको सरकारले बल्ल टुंगो लगाउँदै छ। त्यस्तै चीन खुला भएको छैन। हाम्रो प्रमुख बजार भनेको चीन नै हो। अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा उपयुक्त नीति र मार्ग पहिल्याइएन भने गाह्रो हुन्छ।

अब 'लङ हल' डेस्टिनेसनलाई अहिले अलिक टाढा राख्छौं। अहिलेका लागि हामी खुला छौं भनेर मात्र  सन्देश दिनेछौं। यता धेरै प्रचारप्रसार गर्दैनौं। विदेशमा रहेका गैरआवसीय नेपाली, कूटनीतिक नियोग विद्यार्थीमार्फत हामी लङ हल डेस्टिनेसनमा काम गर्न सक्छौं।

अबको मुख्य प्राथमिकता भनेको 'वन स्टप डेस्टिनेसन' हो। यसमा पनि भारत हो। बोर्डर टुरिजम् । भारतमा रहेको ३५ करोड जनसंख्यामध्ये नेपालको सीमा क्षेत्र नजिक रहेकालाई प्राथमिकता दिइनेछ। त्यहाँ रहेका सर्वसाधारणमा नेपालमा जस्तै ३५ प्रतिशतसम्म राम्रा आय भएका छन्।

राम्रा आय भएका तर घुम्न चाहदा चाहदै घुम्न जान नपाएकालाई हामी प्राथमिकतामा राख्नेछौं। नेपालमा उनीहरुका लागि उपयुक्त सुविधा छ। आजको दिनमा टाढाको मुलुकमा घुम्न जानुपर्‍यो भने बिरामी हुने डर उनीहरुलाई पनि छ। नजिक हुनु मात्र नभई संस्कृतिका कारण पनि भारतीयहरुका लागि उपयुक्त गन्तव्य हो नेपाल। 

श्रीलंका हाम्रो लागि दोस्रो प्रमुख बजार हुन सक्छ। श्रीलंकाको अधिकांश जनसंख्या भारत हुँदै नेपाल आएर फर्किने गरेका छन्। अहिले कोलम्बोबाट सिधा उडान सुरु भइसकेको छ। यो अवसरलाई उपयोग गर्दै अब श्रीलंकाका नागरिकलाई सिधै नेपाल भ्रमण गराएर भारतको कुनै गन्तव्यमा घुमाएर पुनः नेपालबाटै विदाइ गर्न सकिन्छ।

योसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखरा एसियाकै सुपर डेस्टिनेसन हुन सक्छ। पहिलाको कश्मीर भ्याली जस्तै। यसलाई हामीले प्लान गर्दै अगाडि लैजान आवश्यक छ। पोखराका जे जति पर्यटकीय उपजहरु बन्दै छन्, त्यसलाई हामीले सस्तोभन्दा पनि 'हाइ-इण्ड' सेवामा विस्तार हुन आवश्यक छ।

अब हामीले मध्यपूर्वलाई प्राथमिकता दिने समय आएको छ। विभिन्न मुलुकका उच्च पदस्थ व्यक्तित्वहरुले नेपालको भ्रमण गरेका छन्। हिजो लेबर मार्केट भनेर चिनिने मुलुकले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा  लिन थालिसकेको छ। त्यही हिसाबले गल्फ मुलुकमा पनि नेपालीलाई लेबरको रुपमा मात्र हेरिएको छैन। नेपालीहरु उच्च पदमा पनि पुगिसकेका छन्। राजकुमारहरुको नेपाल भ्रमणले थप बजारीकरण भएको छ। उहाँहरुलाई गरेको सम्मानले वैदेशिक रोजगारमा गएका नेपालीले पनि सम्मान पाउँछन्। नेपाललाई नजिकबाट बुझेसँगै यी मुलुकबाट आउने पर्यटकको संख्या वृद्धि हुँदै जाने देखिएको छ।

विभिन्न पर्यटकीय गन्तव्यमा कोभिडविरुद्ध खोपको व्यवस्थापन भएइसकेको छ। हिमाली गन्तव्यमा शतप्रतिशत भ्याक्सिनेटेड भइसकेको छ। खुम्बु, लाङटाङ, अन्नपूर्ण, मुस्ताङ, मनाङलगायत उपत्यकाका पर्यटनसम्बद्ध जनशक्तिहरु भ्याक्सिनेटेड भइसकेका छन्।

विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको जुनसुकै खोप लगाएका विदेशी पर्यटकलाई नेपाल आवागमन गर्न दिने सरकारको निर्णय स्वागतयोग्य  छ। कतिपय मुलुकले खोपको ब्राण्डलाई लिएर आउन दिने नदिने भनेका छन्। त्यो ग्लोबल इकोनोमिक क्राइसिस भित्र हामी छैनौं। यही सबैले गर्लान् भन्ने आशा लिएका छौं। तर हामी खुला छौं। खोप लगाइसकेका जो पनि नेपाल भ्रमणका लागि आउन सक्नेछन्।

पर्यटकीय गन्तव्यका गेट वे क्षेत्रमा खोप व्यवस्थापन भइसकेको छ। अब बोर्डर खुला भएपछि तराई क्षेत्रको पर्यटन क्षेत्रले गति लिनेछ। पछिल्लो समय सरकारले जारी गरेको प्रोटोकलले पर्यटन क्षेत्रमा गरेको लगानी एक प्रकारले सुरक्षित हुन गएको छ।

अब पर्यटकीय गतिविधि खुलेसँगै सबै निकायको सहकार्यमा यसलाई निरन्तरता दिन सकियो भने मुलुकको पर्यटन क्षेत्र ब्याक हुँदैन।

मुलुकको पर्यटन प्रचारका लागि हामीले यो बीचमा पनि भर्चुअल बीटुबी बैठक आयोजना गर्दै आएका छौं। पहिलोपटक मालदिभ्समा युएडब्लुटीओको वार्षिक कार्यक्रममा एनटीबीलाई निमन्त्रणा गरेको छ। यसैगरी श्रीलंकासँग पनि कुरा भएको छ।

मेरो कार्यकालमा जेरोबाट टुरिजम् सुरु भएको छ। अब पर्यटन ब्याक हुँदैन। मेरो कार्यकाल सकिने बेलासम्म ५/१० लाख जति पर्यटक आउँछन्, त्यो हामी सबैको मेहेनतको परिणाम पनि हो। 

पहिलोपटक हामीले हाइ माउन्टेन विस्तारसँगै तराई र मध्य-पहाडी भागलाई प्राथमिकता दिँदै अगाडि बढ्नेछौं। त्यो गरियो भने नेपाल अल सिजन डेस्टिनेसन हुनेछ। अहिलेसम्म नेपाल सिजनल डेस्टिनेसन छ।

ब्याक प्याकर पनि पर्यटक हुन्। हामीले पैसा झार्न जान्नुपर्छ। त्यही ब्याक प्याकर भारतमा मजैले खर्च गरेर घुमघाम गर्छ। उसले उता एक सातामा आठ हजार डलर खर्च गर्छ। अनि पैसा सकिन लागेपछि नेपाल जान्छु भन्छ। दुई हजार डलर ल्याएर नेपालमा चार महिना बस्ने गरी आउने विदेशी पर्यटक पनि छन्। यो सब हामी आफैंले आफ्नो सेवालाई सस्तोमा बिक्री गरेका छौं। हामी के प्रतिस्पर्धा गर्छौं भने खाना खायो भने सुत्न फ्री दिन्छौं भन्ने मानसिकता छ। यसको सट्टा उच्चस्तरीय सेवा दिएर महंगो शुल्क लिन्छु भन्ने मनसाय रहेको देखिएन। हाम्रो प्रतिस्पर्धा नै उल्टो भयो। प्राइस वार नेगेटिभ तिर गएको छ। कहिलेसम्म यसरी बिजनेस गर्न सकिन्छ? करोडौंको लागतको बिजनेसमा गुणस्तरीय सेवालाई  प्राथमिकता दिन आवश्यक छ। यसो हुँदा जतिसुकै महंगो भए पनि आज आएको पर्यटक फेरि अर्कोपटक फर्केर आउँछन्। रिकमेन्ड गर्छन्।

भारतबाट आउने सबै वर्गका पर्यटकलक्षित प्रोडक्ट र सेवाको विकास भइसकेको छ। उच्च, मध्यम र विद्यार्थी वर्गका लागि उपयोगी प्याकेज रन गर्न सकिन्छ। हामी यसका लागि तयार छौं।

भ्रमणका लागि नेपाल खुला भएसँगै नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुसारको दुईतर्फी उडान संख्या पर्याप्त छैन। अब पहिलाकै उडान संख्यालाई रिज्युम गर्न आवश्यक छ। बरु भारतकै नयाँ गन्तव्य उडानका लागि सम्भाव्यता अध्ययन गर्ने उचित समय हो। हामी कुन कुन नयाँ शहरमा जान सक्छौं? जस्तै हामी देहरादुन, हैदराबाद, गुजरातलगायत गन्तव्य उडानका लागि सम्भावित अध्ययन गर्न सक्छौं। यो नयाँ अवसर पनि हो। 

सातै प्रदेशका लागि बी टु बी मिटिङ गरिने

मुलुकको पर्यटन प्रवर्द्धनका लागि बोर्डले सातैवटा प्रदेशका लागि बी टु बी मिटीङका लागि बजेट छुट्याउन लागेको छ। प्रत्येक प्रदेशको सम्भाव्यताका आधारमा न्यूनतम ३० देखि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

यो पैसा लगानी गरेपछि नेपाल र भारतका व्यवसायीले दुईपक्षीय पर्यटन प्रवर्द्धन गर्न सक्नेछन्। बी टु बी मिटिङ अब अरुले बोलाएको ठाउँमा नभए पनि हामी नेपालमै यो बैठक गर्नेछौं।

अन्तर्राष्ट्रियस्तरमा गरिएको निर्णयमा हामीले धेरै बोल्न आवश्यक छैन किनभने उनीहरु खोप लगाएरै आउँछन्। हामीले त आन्तरिक तयारी राम्रो बनाइराख्ने हो। हामीले के सन्देश पनि प्रवाह गर्न जरुरी छ भने हाम्रा मुलुकमा हवाई मार्ग हुँदै आएका पर्यटकहरु सुरक्षित हुन्छन्। (रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्।)