डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान गर्दै तारा एयर, दैनिक पाँचवटा उडान गर्ने

बिजमाण्डू
२०७८ असोज १२ गते १५:५० | Sep 28, 2021
डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान गर्दै तारा एयर, दैनिक पाँचवटा  उडान गर्ने

काठमाडौं। यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान सुरु गर्ने भएको छ। कम्पनीले आउँदो असोज २३ गतेदेखि यो गन्तब्यमा नियमित उडान पुनः सुरु गर्न लागेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

Tata
GBIME
Nepal Life

यात्रुको माग अनुसार कम्पनीले दैनिक पाँचवटासम्म उडान गर्ने योजना रहेको उनले जानकारी दिए।  

कोभिड-१९ पहिलो लहरदेखि बन्द रहेको मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला गरिएसँगै यो गन्तब्यमा उडान सुरु गर्न लागेको उनले जानकारी दिए।

'चाडबाड नजिकिएसँगै मुक्तिनाथ दर्शन गर्ने धर्मावलम्बीलाई मध्यनजर गर्दै यो गन्तब्यतर्फको उडान सुरु गर्न लागेका हौँ। विगतका वर्षमा झैं कम्पनीले १९ सिट क्षमताको ट्विनअटर जहाज पोखरा बेस राखी यो गन्तब्यतर्फ उडान गर्नेछ।' प्रवक्ता वर्तौलाले भने।

जोमसोममा मध्यान्न १२:०० बजेपछि हावाको बेग बढ्ने हुँदा  कम्पनीले पाँचैवटा उडान १२:०० बजे अगाडि नै गर्ने योजना रहेको उनले जानकारी दिए।

यो कम्पनीले हाल चारवटा ट्विनअटर जहाजमार्फत पोखरा, काठमाडौं र नेपालगञ्ज बेस रही मुलुकको विभीन्न गन्त्बयमा नियमित उडान सेवा दिँदै आएको छ। कम्पनीले लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायतका विकट गन्तब्यमा नियमित तथा चार्टर उडान सेवा दिँदै आएको समेत जनाएको छ।