नेपाल-भारत उद्योग वाणिज्य संघ प्रदेश-१ को अध्यक्षमा अविनाश बोहोरा, प्रथम उपाध्यक्षमा मुकेश

बिजमाण्डू
२०७८ भदौ १३ गते ०८:४० | Aug 29, 2021
नेपाल-भारत उद्योग वाणिज्य संघ प्रदेश-१ को अध्यक्षमा अविनाश बोहोरा, प्रथम उपाध्यक्षमा मुकेश

विराटनगर। नेपाल–भारत उद्योग वाणिज्य संघ प्रदेश–१ को अध्यक्षमा अविनाश बोहरा निर्वाचित भएका छन्। बोहरा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य पनि हुन्।

Tata
GBIME

शनिबार विराटनगरमा सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले बोहरालाई अध्यक्षमा निर्वाचित गरेको हो। साधारण सभाले सर्वसम्मतिले ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ।

जसअनुसार संघको प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय भट्टराई, द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेश राठी र कोषाध्यक्षमा विकास चौधरी निर्वाचित भए।

त्यस्तै सदस्यमा बेनीगोपाल मुन्दडा, यादव पोखरेल, विजयकुमार डालमिया, गायत्री भण्डारी, सन्तोषकुमार चौधरी र श्रवणकुमार अग्रवाल छानिएका छन्। निर्वाचित अध्यक्ष बोहराले विधानअनुसार कार्यसमितिमा ४ सदस्य मनोनीत गरेका छन्। मनोनीत सदस्यमा सोमनाथ अधिकारी, विनोद बस्नेत, महेश पौडेल र रबिन दाहाल छन्।

साधारण सभाको उद्घाटन संघका केन्द्रीय अध्यक्ष सिर्जना राणाले भर्चुअल माध्यमबाट गरिन्। अध्यक्ष राणाले नेपाल-भारत अर्थ-सामाजिक व्यवस्थालाई अझ प्रगाढ बनाउन र औद्योगिक विकास तथा दुई देशीय आर्थिक क्रियाकलाप अभिवृद्धि गर्न संघले भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन्। 

नवनिर्वाचित अध्यक्ष बोहराले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि नेपाली उद्योगका मालवस्तु निर्यातमा आइपर्ने समस्याको पहिचान र समाधान गर्दै लगिने धारणा प्रकट गरे।बोहराले नेपाली उत्पादनको निर्यात बिस्तारै बढ्न थाले पनि त्यसलाई प्रतिस्पर्धी रूपमा अघि बढाउने काम बाँकी नै रहेको बताए।

विराटनगर भन्सारका निमित्त प्रमुख अमित तिवारीले भन्सारले राजस्व सङ्कलनलाई मात्र नभई व्यापार सहजीकरणलाई पनि प्राथमिकतामा राखेको दाबी गरे। सीमावर्ती भारतीय जोगबनी भन्सारका सहायक कमिस्नार अशोक दासले जोगबनी नाकाबाट हुने व्यापार प्रवर्द्धन अवरोधका रूपमा रहेको मीरगञ्ज पुलको निर्माण चाँडै सम्पन्न गरिने जानकारी दिए।