स्वास्थ्य मापदण्ड पालना गरेर लाइसेन्स ट्रायल खोलिदै, यस्तो छ विभागले तयार पारेको मापदण्ड

बिजमाण्डू
२०७८ भदौ १० गते १७:३७ | Aug 26, 2021
स्वास्थ्य मापदण्ड पालना गरेर लाइसेन्स ट्रायल खोलिदै, यस्तो छ विभागले तयार पारेको मापदण्ड


काठमाडौं। यातायात व्यवस्था विभागले देशभरिका सबै यातायात कार्यालयहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा संचालन गर्न पत्राचार गरेको छ। बिहीबार सात दिने सूचना निकालेर यथाशीघ्र  ट्रायल परीक्षा संचालनमा ल्याउन पत्राचार गरिएको यातायात व्यवस्था विभागका निर्देशक डा.लोकनाथ भुसालले बताए।

Tata
GBIME

उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर ट्रायल परीक्षा संचालन गर्न भनिएको छ। ट्रायल परीक्षा सम्बन्धी जानकारी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाइ गराइएको भुसालले बताए। उनका अनुसार लोकसेवाको परीक्षा, कक्षा १२ परीक्षा समेत भौतिक रूपमा हुने भएपछि लाइसेन्सको ट्रायल पनि खोल्न लागिएको हो।

सम्भवतः अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनलाइन आवेदन दिएकाहरुलाई जानकारीका लागि एक साता अघि नै सूचना निकाल्न लागिएको हो। करिब ५ लाखले अनलाइन आवेदन दिएर ट्रायलको प्रतीक्षा गरिरहेका छन्। ट्रायलसँगै अनलाइन आवेदन पनि खुलाउने तयारी छ।

केही जिल्लामा वैशाख १३ र काठमाडौंमा वैशाख १६ देखि निषेधाज्ञा लागु भएको थियो। सरकारले निषेधाज्ञा जारी गरेकै कारण ट्रायल परीक्षा पनि बन्द छ।

विभागले ट्रायल परीक्षा संचालनका लागि कोभिड-१९  संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (संचालन तथा  व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८  ल्याएर ट्रायल परीक्षा संचालन गर्न लागेको हो। जस अनुसार लिखित, प्रयोगात्मक परीक्षा संचालन, कार्यालय प्रमुख र परीक्षार्थीका लागि मापदण्ड तोकिएको छ। स्वास्थ्य मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नु पर्नेछ ।

लिखित परीक्षा संचालनको मापदण्ड 
कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा १०० जना परीक्षार्थीको परीक्षा गराउन सकिने छ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी सहभागी हुन पाउने छन्। तर परीक्षा हल ठूलो भएमा स्वास्थ्य मापदण्ड पालन गर्ने गरी २५ जनाभन्दा बढी परिक्षार्थीलाई सामेल गराउन सकिनेछ। परीक्षा सुरु हुनु भन्दा १५ मिनेट अघिमात्र परीक्षार्थीहरुलाई भिडभाड नहुने गरी हलमा क्रम संख्या अनुसार प्रवेश गराउनु पर्नेछ।  

कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्नेछ।

प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालनको मापदण्ड 


परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ। यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने छ।

निजलाई सोही दिनको अन्य सिफ्टमा संचालन हुने परीक्षामा समेत सहभागी गराइने छैन। परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा संचालन हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि उपलब्ध गराउनु पर्नेछ। यसरी परीक्षा संचालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थीलाई मात्र सहभागी गराउन सकिने उल्लेख छ। 

परीक्षार्थीहरुले पालन गर्नुपर्ने मापदण्ड  
परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थीले अनिवार्य रुपमा मास्क, सेनिटाइजर र पिउने पानीको व्यवस्था गर्नु पर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ। ‍

परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कँदा शौचालय प्रयोग गर्दा भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नु पर्नेछ। परीक्षार्थीहरु परीक्षा केन्द्रमा समूह बनाई भेला हुन पाउने छैनन्।

सुधारिएको ट्रायल लागु गर्ने तयारी 
विभागले सवारी लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक दुवै परीक्षा सुधारेर सहज बनाएको छ। ट्रायल खुलेपछि सुधारिएको व्यवस्था लागु हुनेछ।

विद्यमान लाइसेन्स परीक्षा प्रणालीअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्छ। उक्त प्रणालीलाई सरलीकृत गरेर अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू गर्न लागिएको  हो। 

सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। जस्तै, ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग अलग अंक छुट्याइने छ।

जसबाट ७० अंक ल्याउने पास हुनेछ। सुधारिएको प्रणालीबाट ६० प्रतिशत बढीले सवारी चालक अनुमतिपत्रको ट्रायल तथा लिखित परीक्षा पास गर्ने अनुमान छ।

लिखितका लागि प्रश्नहरुको संग्रह (क्वेसन बैंक) विभागको वेबसाइटमा राखिएको छ। सोही क्वेसन बैंकभित्रबाट प्रश्न आउनेछ। अन्य स्रोत खोज्न नपरोस् भनेर सेवाग्राहीको सुविधाका लागि विभागले प्रश्नहरुको संग्रह राखेको जनाएको छ।