वीरगंज-रक्सौल मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो, आधा नेपालले आधा भारतले मर्मत गरिदिने

बिजमाण्डू
२०७८ साउन २२ गते १०:३९ | Aug 6, 2021


वीरगंज। मुलुकको प्रमुख भन्सार नाका वीरगंज–रक्सौलको मितेरी पुलको मर्मत हुने भएको छ । भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाईको आधा भाग अर्थात ५३ मिटर कालोपत्रे गरी मर्मत गरिदिने भएको हो ।

Tata
GBIME

वीरगंज–रक्सौल नाकाको सौन्दर्य बढाउने अभियानका सहभागीहरुले चासो देखाएपछि उक्त पुलको मर्मत हुने कार्य अघि बढेको हो । बिहीबार वीरगंजस्थित भारतीय महावणिज्य दूतावासको सक्रियतामा भारतीय पक्षसंग रक्सौल कस्टमभन्दा उत्तरमा रहेको भारतीय दूतावासमा सरोकारवालाहरु बीच छलफल भई उक्त सडक कालोपत्र गर्ने सहमति भएको हो ।

छलफलमा नेपाली पक्षले पुल लामो समयदेखि खाल्डाखुल्डीमा परिणत भएपछि सयौं यात्रुलाई आवगामनमा समस्या हुने गरेकोले मर्मत गरी नाकाको पुललाई चिटिक्क पार्ने आग्रह गरेका थिए ।

सन १९९४ मा भारत सरकारको नेशनल हाईवेले उक्त पुल निर्माण गरेको थियो । तर पुलको आधा  भाग दशगजा क्षेत्रमा पर्ने भएकोले दुबै देशको सरकार तथा स्थानीय सरकारहरु मर्मत सम्भार गर्न हच्किदै आएका छन् ।

पोहोर वीरगंज महानगरका मेयर विजयकुमार सरावगी र पर्सा १ का सांसद प्रदिप यादवको टोलीले भ्रमण गरी पुलमा भएको खाल्डाखुल्डीलाई पुर्न ग्राभेल खसालेर आवागमन सहज पारिएको थियो । तर वर्षातको बेला उक्त पुल भएर सयौं यात्रु तथा गाडीहरु गुडने भएकोले उक्त पुल पुनः जीर्ण भएको छ ।

सो बाटो भएर अहिले पनि नेपाली उद्योगको लागि कोइला, जिप्सन, फलायस, क्लिंकर, फलामलगायत औद्योगिक कच्चा पदार्थत रक्सौल रेल्वे यार्डबाट नेपाल भित्रिन्छ भने सयौं हजारौ पैदल यात्री,मोटरसाइकल तथा हलुका सवारी साधन, रिक्सा, टागालगायत आउजाउ गर्छन् ।


पुलको मध्य भागको केही ठाउँमा करिब ४ फिट गहिरो खाल्डाखुल्डी भएकोले पुल भएर यात्रा गर्ने सर्वसधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।

नेपाली र भारतीय पक्षले आज पुलको भ्रमण अवलोकन गरी भारतीय आयल कर्पोरेशनदेखि भारतीय कस्टम सम्म सडक मर्मत गर्ने योजनामै समावेश गरी पुल मर्मत गरिदिने सहमति भएको हो । रक्सौल कस्टम सम्म गर्न लागिएको कालोपत्रेमा करिब ५३ मिटर थप लागत इष्टिमेट गरी पथ निर्माण विभागले एक हप्ता भित्र उक्त पुलको कालोपत्रेको काम सम्पन्न गराउने पथ निर्माण विभागका इन्जिनियर मृत्युञ्जय कुमारले प्रतिबद्धता गरे ।

उनका अनुसार पुलको ५३ मिटरमा भारतीय पक्षले बनाइदिने र बाँकी भागमा नेपाली पक्षले कालोपत्रे गरेर पुललाई सफा र चिल्लो पार्न सकिने समझदारी भएको छ ।

नेपाल तिर मितेरी पुलदेखि रजतजयन्ती चोक सम्म छ लेन सडक विस्तार आयोजना अन्तर्गत पनि करिब १३ सय मिटर लम्बाईको लागि ठेक्का भइसकेको र यसै आवमा काम शुरु हुने बताइएको छ । त्यसबेला पुलको आधा भागको कालोपत्रे नेपाली पक्षले गरिदिने समझदारी भएको छ ।

वीरगंजको समाजिक संस्था व्यवस्थित वीरगंज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका सक्रियतामा वीरगंज–रक्सौल नाकालाई सुन्दर र व्यवस्थित बनाउने अभियान एक साता अघिदेखि सरोकारवालासंग छलफल गरी अघि बढेको हो । सोही क्रममा शनिवार वृहत सरसफाई र जनचेतनामुलक कार्यक्रम पनि भोलन्टियर समुह वीरगंजले राखेको छ ।

मुख्य नाका भएर पनि दैनिक धुवाधुलो तथा फोहोर, प्रदुषण र अव्यस्थित सडकको कारण भारतबाट नेपाल भित्रिने बितिकै नेपालको आकर्षण घटेको सबैले महसुस गरेपछि चिटिक्क र आकर्षक प्रवेश द्वारको रुपमा वीरगंज नाकालाई सफा,सुन्दर र व्यवस्थित बनाउन प्रयास भइरहेको छ ।

भ्रमणमा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहयाक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भारतीय महावाणिज्य दूतावास वीरगंजका कन्सुलर शैलेन्द्र कुमार, सशस्त्र प्रहरी बल भन्सार गुल्मका सप्रनि सुवर्णबहादुर बम, व्यवस्थित वीरगंजका संयोजक दिलिपराज कार्की, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आगदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, रक्सौलका अगुवा महेश अग्रवाल, रक्सौल नगर परिसदका प्रमुख कार्यकारी अधिकारी विजयकुमार, पथ निर्माण विभागका कार्यकारी निर्देशक अशोक कुमार,रक्सौल कस्टमका उपायुक्त आशुतोष कुमार सिंहलगायतको सहभागिता थियो ।